कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको अजिगरा ताल क्षेत्रमा तिन्नाको चामल उत्पादन हुने गर्छ । यसलाई रातो जंगली चामल पनि भनिन्छ ।
यो विशेषगरी सिमसार क्षेत्रको दलदल भू-भागमा पाइन्छ। अंग्रेजीमा यस चामललाई ‘रेड वाइल्ड राइस’ भनिन्छ । यसको वनस्पतीय नाम ‘ओरिजा रुफिपोगन’ हो । यो चामल उच्च फाइबर, प्रोटिनयुक्त, खनिज र कार्बोहाइड्रेट्सले भरिपूर्ण भएको भनिन्छ ।
साथै यो ग्लुटेन रहित र फलामयुक्त पोलिस नगरिएको अन्न हो । जुन प्राकृतिक रूपमा दलदली सिमसारमा उब्जाइएको हुन्छ । जसलाई प्रायः सात्विक फाइबर खाना पनि मानिन्छ । प्राकृतिक पोखरीको पारिस्थिततिक प्रणालीमा उब्जिने यो सामान्यतया कीटनाशक, रसायन वा कृत्रिम मलबाट अदुषित हुन्छ ।

यो डिटोक्स र कल्याणका लागि उपवास आहाराहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । तिन्ना चामल एक दुर्लभ, पौष्टिक जंगली रातो चामल हो । यो चामल विशेषगरी हिन्दुहरूको छठ पर्व, हरितालिका तिज, ऋषि पञ्चमी, एकादशी लगायत विभिन्न पर्वहरूका ब्रतालुहरूले चोखो चामलको रूपमा यसको भात पकाएर खाने गर्दछन् ।
यो कम ग्लाइसेमिक इन्डेक्स खाना हो, जसले गर्दा रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न यो आदर्श हुने गर्दछ । यो चामल गहिरो रातो खैरोदेखि तीव्र, गाढा रातो रङ हुन्छ, जसमा प्रायः नटी वा माटोको सुगन्ध आउने गर्दछ । रङ चोकर तहमा रहेको प्राकृतिक एन्थोसायनिन पिग्मेन्टबाट उत्पन्न हुन्छ। पकाउंदा, यो रातो खैरो टोनहरु प्रायः तीव्र हुन्छन् ।
स्थानीय किसान राम विलास यादवका अनुसार यस तिन्ना चामललाई तिन्नी, तिनिया र तुम्बा लगायत विभिन्न नामले पनि चिनिन्छ । यो चामल धार्मिक र सांस्कृतिक उद्देश्यका लागि अत्यधिक मूल्यवान मानिन्छ । यो अक्टोबरदेखि डिसेम्बरसम्म सिमसार क्षेत्र वरपरका स्थानीय समुदायहरूले जंगलबाट संकलन गर्छन् जसलाई प्रायः ‘ब्रतको चामल’ समेत भन्ने गर्दछन् ।

तिन्ना चामल एक महत्वपूर्ण अनुवांशिक स्रोत हो र नेपालको ग्रामीण क्षेत्रहरूमा जैविक विविधता र सांस्कृतिक सम्पदाको एक महत्वपूर्ण भाग पनि हो। हाल बजारमा यस चामलको माग अत्यधिक बढेकोले कपिलवस्तुका किसानहरूले तालको वरिपरि यसको खेती समेत गर्न थालेका छन् । हाल यो चामल कपिलवस्तुको बजारमा प्रति के.जी. २३० रूपैयाँमा किनबेच हुने गर्छ ।
त्रिभुवन विश्वविधालयका वनस्पतिशास्त्री प्रा. डा. मोहन प्रसाद देवाकोटासँग गरिएको कुराकानी अनुसार तिन्ना चामल घाँसे मैदान, सिमसार (भित्री), कृत्रिम स्थलीय, कृत्रिम जलीय र समुद्री क्षेत्रमा उम्रिन्छ । तिन्ना वा रातो चामल २०१७ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको खतरापूर्ण प्रजातिको रातो सूचीमा हालै मूल्यांकन गरिएको छ । तिन्ना चामल सबैभन्दा कम चिन्ताको रूपमा सूचिबध्द गरिएको छ यसको अर्थ हामीले कुनै पनि प्रकारको खतरा विरूद्ध बोटको बारेमा चिन्ता लिनु पर्दैन।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका अनुसार तिन्ना चामल नेपाल लगायत अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन (जियाड.सी, हुनान, गुआड.सी, ग्वाड.डोड., युनान), कोलम्बिया, इक्वेडर, गुयाना, हङकङ, भारतका विभिन्न राज्यहरू, इण्डोनेशिया, लाओ जनवादी गणराज्य, मलेसिया, म्यानमार, पपुवा न्यू गिनी, फिलिपिन्स, श्रीलंका, ताइवान, थाइल्याण्ड र भियतनाममा समेत पाइन्छ ।

प्रतिक्रिया 4