+
+
Shares

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तारतम्य मिलाइँदै

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

रासस रासस
२०८२ चैत २० गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा विश्वप्रसिद्ध बिस्केट जात्रा चैत २७ गतेदेखि नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने भएको छ।
  • गुठी संस्थान भक्तपुरले भैरव र भद्रकालीको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।
  • जात्राको अन्तिम दिन वैशाख ५ गते रथलाई पाँचतले मन्दिरमा राखेर तान्त्रिक विधिअनुसार पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा छ।

२० चैत, भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

नयाँ वर्षको चार दिन अगाडि भैरबको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइने गरिन्छ । गुठी संस्थान भक्तपुर कार्यालयले जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी दिएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गनमा प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेकोे गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए । उनले भैरवको रथ निर्माण सम्पन्न भए लगत्तै भद्र्रकालीको रथ निर्माण सुरु गरिने जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणको क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्राहरु जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुराहरु मर्मत गर्ने, चुकुलहरु फेर्ने, नयाँ आसी जडान गर्ने, छानो मर्मत गर्ने र रथ निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको बताए ।

चैत २६ गतेसम्म रथमा रङ्ग रोगन एवं सिङ्गारपटार गर्ने कार्य गरिने र २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा तीन बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने गरी तयारी गरिएको प्रमुख कर्माचार्यलले जानकारी दिए ।

उनले भने, ‘रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समिति समेतको टोलीले डोरीको परीक्षण गर्नेछ, ५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई लिङ्गो तयार गरिएको छ, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर जात्रा सुरु गर्ने तयारी गरेका छौँ ।’

हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतिक बनाएर बाँजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्रयाएपछि जात्रा सुरु हुने परम्परा छ ।

लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथ यात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण रथजात्रा र लिङ्गोजात्रा भएको प्रमुख कर्माचार्यले बताए ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्‍याइ रथ फर्काउने चलन छ । नयाँवर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक बिधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट अर्थात स्थानीय भाषामा बिस्काः जात्रा हुन गएको बताइन्छ । रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्‍याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।

दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्‍याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाएर गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन छ ।

रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा ६ भैरव नाइके, पाँच चौगुठी र दुई तलेजुका पुजारी रहने चलन रहेको तलेजुका निवर्तमान् मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् ।

त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?