News Summary
Generated by OK AI. Editorially reviewed.- नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको टिप्पणीप्रति आफूलाई फरक नपर्ने बताएका छन्।
- केसीले २०१७ पुस १ गते राजा महेन्द्रको कूविरुद्ध पर्चा बाँड्दा जेल जीवन सुरु गरेको र पार्टीमा छुट्टै पहिचान भएको दाबी गरे।
- उनले कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा सीमित गर्ने प्रयासलाई बनिबनाउ षड्यन्त्र भनेका छन् ।
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर हुने गरेको टिप्पणीले आफू फरक नपर्ने बताएका छन् ।
पछिल्लो समय सभापति थापाको सुसुरा भएका कारण समानुपातिकतर्फ सांसद भएको टिप्पणीप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् ।
२०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको केसीको दाबी छ ।
‘न्युज एजेन्सी नेपाल’सँग कुरा गर्दै उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागतका लागि दिएको योगदान थाहा नभएकाहरूले सभापति थापाको ससुराको रुपमा मात्र चिन्नेहरूलाई जवाफ दिइरहनु नपर्ने बताए ।
‘राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेको अर्जुननरसिंहको बारेमा थाहा नभएका, खाली गगनको ससुरामात्रै चिनेका पत्रकारहरूलाई अथवा सामाजिक सञ्जालको मान्छेलाई मैले के जवाफ दिइरहने ?’ उनले भने, ‘उहाँहरूलाई धन्यवाद, कम्तिमा एउटा जबर्जस्त देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोड्नुभयो, म त्यसमा धन्यवाद दिन चाहन्छु ।’
नेता केसीले ‘पशुपति दर्शन, सिद्राको व्यापार’ भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनिबनाउ षड्यन्त्र भएको पनि जिकिर गरे । उनले कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए ।
‘यो बनिबनाउ षड्यन्त्र हो । पशुपतिको दर्शन, सिद्राको व्यापार भन्छन् नि कहिलेकाहीँ । एउटा मट्याङ्ग्राबाट गगनजीलाई पनि तेजोवध गर्ने, मलाई पनि तेजोवध गर्नको निम्ति गरिएको प्रयत्न हो,’ केसीले भने, ‘यस्ता प्रयत्न विभिन्न कोणबाट भएका छन् । जानीजानी गरिएका छन् । कांग्रेसभित्रबाट पनि भयानक भएको छ, अरु पार्टीको नाम लिन्नँ ।’
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोइरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौं नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए ।
पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने केसीको भनाइ छ ।
उनले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबीसमेत गरे । केसीले कांग्रेस बदलिएको हेर्न नचाहानेहरूले आफूमार्फत् सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए ।
प्रतिक्रिया 4