२२ चैत, काठमाडौं । ज्ञानेन्द्र मल्लले करिब दुई दशकको खेल जीवनबाट सन्न्यास लिँदा जति सरप्राइज थियो, त्योभन्दा धेरै सरप्राइज राजनीतिमा प्रवेश गर्दा भयो ।
३३ वर्षकै उमेरमा अचानक अन्तर्राष्ट्रिय खेल जीवनबाट अवकाश लिएका ज्ञानेन्द्रले प्रशिक्षणमा लागेको २ वर्षमै राजनीतिमा पाइला चालेका थिए । त्यो नेपाली क्रिकेट समर्थकका लागि अनपेक्षित थियो ।
राजनीतिमा प्रवेश गर्दा ज्ञानेन्द्र नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक थिए । सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा महत्वपूर्ण सदस्य रहेका ज्ञानेन्द्रलाई प्रशिक्षकको भूमिकामा विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर थियो । उनी पनि त्यसैको तयारीमा थिए ।
सोही क्रममा एक जनाको फोन आयो, जसले उनलाई राजनीतितर्फ डोहोर्यायो । अर्थात् ज्ञानेन्द्रको तेस्रो इनिङ्स सुरु भयो । उनलाई राजनीतिमा डोहोर्याउने फोन थियो, अहिलेका प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार वेनको ।
सुरुवातमा त ज्ञानेन्द्रले राजनीतिमा आउन अस्वीकार गरेका थिए । बरु स्थानीय तहको निर्वाचनका बेला आउने बताए । त्यसपछि वेनले भनेका थिए, ‘म तिमीलाई आईपीएल खेल्न भन्दैछु, तिमी एनपीएल खेल्छु भन्छौं ।’ अनि ज्ञानेन्द्रको मन राजनीतितर्फ मोडियो ।
राजनीतिमा प्रवेश योजनाबद्ध नभई स्थिर सरकार बनाउन र भावी पुस्ताका लागि केही गर्ने इच्छाले प्रेरित भएको ज्ञानेन्द्र बताउँछन् । उनी भन्छन्, ‘स्पोर्ट्स ब्याकग्राउन्डबाट आएको मान्छेलाई उहाँले जसरी आग्रह गर्नुभयो, मैले अस्वीकार गरिनँ । अब गरौं भन्ने जस्तो लाग्यो ।’
त्यसपछि ज्ञानेन्द्रले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकबाट राजीनामा दिए र राजनीतिमा होमिए । उनको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक बन्द सूचीमा पर्यो । चुनावी अभियानका क्रममा ज्ञानेन्द्रले देशभर भ्रमण गरे ।
राजनीतिमा होमिए पनि उनको भित्री मनबाट भने क्रिकेट गएको छैन । त्यसकारण निर्वाचनको प्रचार–प्रसारका क्रममा उनले कतै मैत्रीपूर्ण क्रिकेट खेले, त कतै क्रिकेटका समस्या बुझे ।
‘मैले धेरै जनालाई चिन्ने मौका पाएँ । उहाँहरूले स्थानीय स्तरमा गरिरहेका कामहरू बुझ्ने अवसर पाएँ,’ उनले भने ।
निर्वाचनका क्रममा ज्ञानेन्द्रले कतै राज्यबाट खेलकुदमा हुनुपर्ने सहयोग नपाएको गुनासो सुने त कतै विना स्वार्थ भावनाले खेलकुदमा लागेको पनि देखे । कति ठाउँमा सामान्य व्यवस्थापन नभएको हेरे त कतै राजनीतिका कारण खेलकुद अप्ठ्यारोमा परेको महसुस गरे ।
प्रचार–प्रसार सकेर फर्किंदा ज्ञानेन्द्र खेल जीवनको डेब्यु खेलभन्दा अघि हुने जस्तो एक्साइटेड र नर्भस दुवै थिए । सँगसँगै उनले पोजेटिभ भ्वाइब्स पनि बोकेर आएका थिए । ‘घुमेर आउँदा साँच्चिकै राम्रो आउँछ भन्नेमा पोजेटिभ नै थिए । त्यो डेब्यु गेमभन्दा अगाडिको जस्तो एक्साइटेड र नर्भस भइराखेको थियो,’ उनी भन्छन् ।
उनले सोचेअनुसार नतिजा रास्वपाको पक्षमा त आयो । तर उनी स्वयं भने सांसद बन्न सकेनन् । अर्थात्, रास्वपाले खेल जिते पनि ज्ञानेन्द्र नेट रन रेटका कारण पछि परे ।
रास्वपाले पाएको ५७ समानुपातिक सांसदको नाम पठाउँदा आदिवासी जनजातिको पाँचौं नम्बरमा रहेका ज्ञानेन्द्र छुट्न पुगे । त्यसबारे उनी भन्छन्, ‘मेरो पोजिसन भनेको नेट रन रेट जस्तै हो । जहाँ हामी नेपालको लागि खेल्दा नेट रन रेटका कारण धेरै पटक अड्केका पनि छौं ।’
क्रिकेटमा लाग्दालाग्दै राजनीतिमा हानिएका ज्ञानेन्द्र निर्वाचनपछि पनि क्रिकेटमै फर्किएका छन् । उनी अहिले आफैंले सुरु गरेको क्रिकेट एकेडेमी चलाउन व्यस्त छन् । आफू सांसद नभए पनि आफ्नो उद्देश्य पूरा भएको ज्ञानेन्द्र बताउँछन् ।
‘म यो चुनावमा लाग्नुको उद्देश्य देशमा बलियो सरकार बनोस् भन्ने थियो । बहुमतको चाहना थियो,’ उनी भन्छन्, ‘अहिले झन्डै दुई तिहाइ आएको अवस्था छ । खुसी नै छु ।’

राजनीतिलाई पेसा बनाउने पक्षमा ज्ञानेन्द्र छैनन् । त्यसकारण पुरानै क्षेत्रमा फर्किसकेका छन् । राजनीतिलाई पेसा बनाउनेभन्दा पनि आवश्यकताका रूपमा लिएको उनको भनाइ छ ।
ज्ञानेन्द्र भन्छन्, ‘राजनीतिलाई पेसा बनाउने मेरो सोच नै होइन । आवश्यकता र आफूले दिन सक्ने योगदानका हिसाबले लिएको थिएँ । अब पनि देशलाई आवश्यकता परेको बेला हरबखत तयार रहन्छु ।’
देशभर घुम्दा खेलकुदका धेरै समस्या पहिल्याएका ज्ञानेन्द्र ती समस्या समाधान गर्न रास्वपा र सरकारसँग सहकार्य गर्न तयार छन् । खेलकुदका विकासका लागि नीतिगत कुरा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् ।
खेलकुदलाई लगानीसँगै जोड्नुपर्नेमा ज्ञानेन्द्रले जोड दिए । उनले भने, ‘खेलकुदमा लगानी गर्ने मान्छे धेरै छन् । तर उहाँहरूको लागि सही बाटो खोलिदिनुपर्छ ।’
खेललाई शिक्षासँग जोड्नुपर्ने तर्क ज्ञानेन्द्रको छ । ‘खेलकुदलाई पाठ्यक्रममा समेट्नुपर्छ । त्यसमा पनि स्पोर्ट्स साइन्स, म्यानेजमेन्ट पढ्ने जस्ता विषय अगाडि बढाउनुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।
ज्ञानेन्द्रले भविष्यमा राजनीतिलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गरिसकेका छैनन् । छलफल र सरसल्लाह गरेर अगाडि बढ्ने पक्षमा उनी छन् । ‘सबैसँग छलफल गरेर निर्णय लिन्छु । क्रिकेटबाट टाढा हुने कुरा हुँदैन,’ उनी भन्छन् ।
सांसद नभए पनि खेलकुदमा परिवर्तन ल्याउन आफूले सहयोग गर्ने उनी बताउँछन् ।
दुई इनिङ्समा सफल ज्ञानेन्द्र तेस्रोमा ‘बोल्ड’
सफल क्रिकेटरमध्येका एक हुन् ज्ञानेन्द्र मल्ल । सन् २००५ देखि उमेर समूहबाट क्रिकेट यात्रा सुरु गरेका उनले १८ वर्ष खेलाडी भएर नेपाललाई योगदान दिए । एसीसी यू–१५ कपबाट करिअर सुरु गरेर यू–१७, यू–१९ हुँदै सिनियर टोलीमा पाइला चाले ।
उनले १० वर्ष राष्ट्रिय टोलीको उपकप्तान र करिब २ वर्ष कप्तानको जिम्मेवारी निर्वाह गरे । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा ज्ञानेन्द्र उपकप्तान थिए ।
पारस खड्काको सन्न्यासपछि कप्तान बनेका थिए ज्ञानेन्द्र । तर खेलाडीको सुविधाको बारेमा आवाज उठाउँदा उनले पद गुमाउन पुगे । त्यसको केही समयमै ब्याट बल थन्क्याएका उनी क्रिकेटबाट टाढा भने रहेनन् ।

२०८० को साउनमा खेलाडीबाट सन्न्यास लिएका ज्ञानेन्द्रले पुसमा नै सशस्त्र प्रहरी बल (एपीएफ)को प्रशिक्षक बन्दै प्रशिक्षण यात्रा प्रारम्भ गरेका थिए ।
त्यसपछि उनले प्रशिक्षणमा पनि फड्को मारे । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको प्रशिक्षक हुँदा नेपाल ‘ए’ र सिनियर टोलीको सहायक प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाए ।
ज्ञानेन्द्र प्रशिक्षण यात्रा सुरु गरेको २ वर्षमै राजनीतिमा हान्निए । गत फागुन २१ मा निर्वाचनको केही दिनअघि उनी औपचारिक रूपमा राजनीतिमा अघि सरे । सुरुवाती दुवै इनिङ्समा सफल भएका ज्ञानेन्द्र तेस्रो पटक भने ‘बोल्ड’ हुन पुगे ।
प्रतिनिधिसभा सदस्यका लागि रास्वपाबाट समानुपातिक बन्द सूचीमा रहेका ज्ञानेन्द्र सांसद बन्न पाएनन् । जसले उनको राजनीतिक यात्रालाई तत्कालका लागि रोक्न पुग्यो ।
प्रतिक्रिया 4