+

राजनीतिमा प्रवेश गरेपछि ज्ञानेन्द्र : मैदान फेरिएपनि लक्ष्य उही छ

२०८२ माघ  ११ गते १३:०५ २०८२ माघ ११ गते १३:०५
राजनीतिमा प्रवेश गरेपछि ज्ञानेन्द्र : मैदान फेरिएपनि लक्ष्य उही छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रतिनिधि मनोनीत भएपछि नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षक पदबाट नैतिकताको आधारमा बिदा लिएका छन्।
  • मल्लले खेल क्षेत्रबाट राजनीतिमा प्रवेश गरेपनि लक्ष्य नेपालको गौरव र नेपालीको भविष्य नै रहेको उल्लेख गरेका छन्।
  • उनी युवाहरूको सपना र समृद्ध नेपालको निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गर्दै यो यात्रा व्यक्तिगत पदका लागि नभई साझा संकल्प भएको बताएका छन्।

११ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा रहेका पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले खेल क्षेत्रबाट राजनीतिमा प्रवेश गरेपनि लक्ष्य समान भएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस राखेका उनले रास्वपाप्रति आभार व्यक्त गर्दै खेल क्षेत्रमा लागेको व्यक्तिलाई विश्वास गरेर समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत गर्नु सम्पूर्ण खेल जगतका लागि सम्मानको विषय भएको बताए।

यससँगै उनले नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीबाट नैतिकताको आधारमा बिदा लिएको स्पष्ट पारेका छन्। खेल आफ्नो जीवनको अभिन्न हिस्सा भए पनि अहिले देशलाई अर्को रूपमा सेवा गर्ने समय आएको भन्दै उनले राजनीतिमा सक्रिय हुने निर्णय भविष्यप्रतिको उत्तरदायित्वबाट सुरु भएको बताएका छन्।

मल्लले विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई शुभकामना दिँदै टोलीले फेरि देशलाई गर्वान्वित बनाउने विश्वास व्यक्त गरेका छन्। उनले युवाहरूको सपना, सम्भावना र भविष्यलाई सही दिशा दिन सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै यो यात्रा व्यक्तिगत पदका लागि नभई आगामी पुस्ता र समृद्ध नेपालको निर्माणका लागि भएको बताएका छन्।

उनले सबैलाई एकजुट हुन आह्वान गर्दै नेपालको गौरव, सम्मानित, सक्षम र आत्मनिर्भर भविष्य निर्माणमा साझा संकल्पका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन्।

यस्तो छ उनको स्टाटस

मैदान फेरिएको छ, तर लक्ष्य उही छ — नेपालको गौरव र नेपालीको भविष्य।

सबैभन्दा पहिले, म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हार्दिक आभार प्रकट गर्दछु। म जस्तै खेल क्षेत्रमा लागेको व्यक्तिलाई विश्वास गरेर आगामी निर्वाचनका लागि समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत गर्नु, खेलाडीलाई विश्वास गरी अवसर दिने यो साहस बिरलै देखिन्छ। यो विश्वास मेरो लागि मात्र नभई सम्पूर्ण खेल जगतकै लागि एउटा ठुलो सम्मान हो। यस नयाँ जिम्मेवारीसँगै, मैले नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी सबैमा स्पष्ट भइसकेको छ। खेल मेरो जीवनको अभिन्न हिस्सा हो, तर अहिले देशलाई अर्को रूपमा सेवा गर्ने समय आएको छ।

विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई हार्दिक शुभकामना—फेरि एकपटक तपाईंहरूले हामी सबैलाई गर्वान्वित बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास छ। यो परिवर्तन पदको चाहनाबाट होइन, भविष्यप्रतिको उत्तरदायित्वबाट सुरु भएको हो। हाम्रा युवाहरूको सपना, परिश्रम र सम्भावनालाई सही दिशा दिन हामी सबैको साथ अनिवार्य छ। यो यात्रा मेरो व्यक्तिगत पदका लागि होइन; हाम्रा आगामी पुस्ताका लागि हो, ती युवाहरूका लागि हो जसले एउटा सुन्दर र समृद्ध नेपालको सपना देखेका छन्। परिवर्तनका लागि हाम्रा युवाहरूले गरेका त्याग र बलिदानलाई सार्थक बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। आउनुहोस्, हामी एकजुट बनौं। हिजो जस्तै आज पनि मलाई विश्वास र साथ दिनुहोस्।

यो देश हाम्रो हो। यसको भविष्य पनि हाम्रो जिम्मेवारी हो। हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौं, तर सपना एउटै हो— सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल। यो मेरो एक्लो यात्रा होइन, यो हामी सबैको साझा संकल्प हो। मलाई विश्वास छ, हिजो जस्तै आज पनि मलाई तपाईंहरूको साथ र सुझाव मिल्नेछ।

ज्ञानेन्द्र मल्ल रास्वपा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय