News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत सरकारले यहुदीविरोधी अभिव्यक्तिका कारण र्यापर ‘ये’ लाई जुलाईमा लन्डनको कन्सर्टका लागि प्रवेश अनुमति अस्वीकृत गरेको छ।
- सरकारको निर्णयपछि ‘वायरलेस फेस्टिभल’ रद्द गरिएको र सबै टिकटधारकलाई रकम फिर्ता गरिने ‘फेस्टिभल रिपब्लिक’ले जनाएको छ।
- प्रधानमन्त्री केयर स्टार्मरले ‘कान्ये वेस्टलाई यस्तो कार्यक्रममा निमन्त्रणा दिनु नै गलत भएको’ सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो।
बेलायत सरकारले चर्चित र्यापर ‘ये’ (पूर्व नाम कान्ये वेस्ट) लाई देश प्रवेशमा रोक लगाएको छ । उनले विगतमा दिएको यहुदीविरोधी अभिव्यक्तिका कारण जुलाईमा लन्डनमा आयोजना हुने कन्सर्ट शृंखलाका लागि प्रवेश अनुमति अस्वीकृत गरिएको सरकारले जनाएको छ ।
बेलायती गृह मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै र्यापरको यात्रा अनुमति अस्वीकार गरिएको पुष्टि गरे । बीबीसीका अनुसार यो निर्णय “सार्वजनिक हितका लागि उपयुक्त नहुने” आधारमा गरिएको हो ।
यो निर्णय त्यसबेला आएको हो, जब ‘ये’ ले लन्डनको तीन दिने ‘वायरलेस फेस्टिभल’ मा मुख्य प्रस्तोता बन्ने घोषणा गरेका थिए । उनी मात्र मुख्य कलाकारका रूपमा घोषणा भएका थिए र टिकट बिक्री पनि यही साता सुरु हुने तयारीमा थियो । तर सरकारको निर्णयपछि कार्यक्रम आयोजक ‘फेस्टिभल रिपब्लिक’ ले फेस्टिभल नै रद्द गरिएको र सबै टिकटधारकलाई रकम फिर्ता गरिने जनाएको छ ।
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै ‘कान्ये वेस्टलाई यस्तो कार्यक्रममा निमन्त्रणा दिनु नै गलत भएको’ बताएका छन् । उनले सरकार यहुदी समुदायसँग दृढ रूपमा उभिएको र यहुदीविरोधी प्रवृत्तिविरुद्ध लडाइँ जारी राख्ने पनि उल्लेख गरेका छन् ।
यसअघि र्यापर ‘ये’ ले सम्भावित प्रतिबन्ध रोक्न अन्तिम प्रयासस्वरूप विज्ञप्ति जारी गर्दै आफू संगीतमार्फत “एकता, शान्ति र प्रेम” फैलाउन लन्डन जान चाहेको बताएका थिए । उनले बेलायतको यहुदी समुदायसँग भेटेर उनीहरूको चिन्ता सुन्न तयार रहेको पनि जनाएका थिए । “शब्द मात्र पर्याप्त हुँदैनन्, परिवर्तन व्यवहारबाट देखाउनुपर्छ,” उनले भनेका छन् ।
तर, उनको यो अपिलले विवाद शान्त पार्न सकेन । बेलायती यहुदी समुदायको प्रतिनिधि संस्था ‘बोर्ड अफ डेप्युटिज अफ ब्रिटिश ज्यूज’ ले भने, उनीहरू संवादका लागि तयार भए पनि यो वर्षको वायरलेस फेस्टिभलमा प्रस्तुति नगर्ने सहमति भएपछि मात्र भेट सम्भव हुने बताए । संस्थाले ‘हेइल हिटलर’ शीर्षकको गीत सार्वजनिक गरेको घटनासहित पछिल्ला वर्षहरूमा देखिएको उनको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको पनि जनाएको छ ।
अस्ट्रेलियाले पनि गत वर्ष सोही गीतका कारण उनलाई प्रवेशमा रोक लगाएको थियो । अर्को संस्था ‘ज्यूइश लिडरसिप काउन्सिल’ ले भने उनको प्रस्तावलाई फेस्टिभल जोगाउने प्रयास मात्र भएको भन्दै भेटघाट अस्वीकार गरेको छ ।
वायरलेस फेस्टिभल बेलायतमा ब्ल्याक संगीतको प्रमुख उत्सव मानिन्छ । गत वर्ष यस कार्यक्रममा अमेरिकी गायक ड्रेकले तीनै दिन मुख्य प्रस्तुति दिएका थिए ।
प्रधानमन्त्री स्टार्मरले आइतबार ‘द सन’ पत्रिकासँगको अन्तर्वार्तामा पनि र्यापरलाई कार्यक्रममा बोलाइएको विषयप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको बताएका थिए । त्यसपछि यो विषय राजनीतिक र सञ्चारमाध्यममा व्यापक बहसको विषय बनेको थियो ।
यता ‘फेस्टिभल रिपब्लिक’ का प्रबन्ध निर्देशक मेल्भिन बेनले सोमबार लामो विज्ञप्ति जारी गर्दै र्यापरका विगतका अभिव्यक्तिको आलोचना गरेका थिए। तर उनले उनको संगीत बेलायतमा पहिले नै व्यापक रूपमा बज्ने र स्ट्रिमिङमा उपलब्ध भएकाले उनीसँग दर्शकसम्म पुग्ने माध्यम रहेको तर्क पनि गरेका थिए ।
केही नेताहरूले भने अभिव्यक्ति स्वतन्त्रताको आधारमा उनको प्रवेशको पक्षमा पनि बोलेका थिए । ‘रिफर्म’ पार्टीका नेता निगेल फाराजले उनका भनाइलाई “घृणित” भने पनि यस्तो आधारमा व्यक्तिलाई देश प्रवेशमा रोक लगाउने अभ्यासले भविष्यमा समस्या निम्त्याउन सक्ने बताएका थिए ।
यसैबीच, ‘ये’ ले गत जनवरीमा ‘द वाल स्ट्रिट जर्नल’ मा विज्ञापन दिँदै आफ्ना यहुदीविरोधी अभिव्यक्तिप्रति पश्चात्ताप व्यक्त गरेका थिए र यसलाई उपचार नभएको बाइपोलर समस्यासँग जोडेका थिए । उनले हालै लस एन्जलस नजिकै पाँच वर्षपछि आफ्नो पहिलो ठूलो कन्सर्ट पनि गरेका छन् । आगामी दिनमा फ्रान्स, भारत, स्पेन र टर्कीमा प्रस्तुति दिने तयारी रहेको जनाइएको छ ।
बेलायतमा पछिल्लो समय यहुदीविरोधी गतिविधिप्रति बढ्दो चिन्ताका बीच यो निर्णय आएको हो । यद्यपि, आपत्तिजनक अभिव्यक्तिका आधारमा कलाकारलाई भिसा अस्वीकृत गर्नु त्यहाँ दुर्लभ मानिन्छ । सन् २०१५ मा अमेरिकी र्यापर टायलर, द क्रिएटरलाई पनि होमोफोबिक गीतका कारण केही वर्षका लागि प्रवेशमा रोक लगाइएको थियो । पछि उनको भिसा स्वीकृत भइसकेको छ र उनी यस वर्ष अगस्टमा लन्डनको ‘अल पोइन्ट्स ईस्ट’ फेस्टिभलमा प्रस्तुति दिने तय छ ।
द न्यूयोर्क टाइम्सबाट ।
प्रतिक्रिया 4