२५ चैत, तेह्रथुम । रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने जोखिम र माटोको उर्वराशक्ति घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छ । नगरका नौवटै वडामा स्थानीय कृषकको सक्रिय सहभागितासहित अर्गानिक खेती विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ ।
रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नगरपालिकाले अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजना बनाएको हो । यसका लागि सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ, जसले किसानलाई गुणस्तरीय अर्गानिक उत्पादनतर्फ प्रोत्साहित गरेको छ ।
नगरप्रमुख अर्जुन माबोहाङका अनुसार अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न प्राविधिक सहयोग उपलब्ध गराइनेछ भने मापदण्डअनुसार उत्पादन गर्ने कृषकबाट कृषि एम्बुलेन्समार्फत समर्थन मूल्यमा उत्पादन खरिद गर्ने तयारीसमेत गरिएको छ । नगरपालिकाले कृषकलाई न्यूनतम एक रोपनीदेखि ४ रोपनीसम्म क्षेत्रफलमा अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।
हाल नगरका सबै वडामा तरकारी, अन्नबाली तथा फलफूलमा अर्गानिक विधि अपनाउने कृषकको संख्या तीव्र रूपमा बढिरहेको छ । अर्गानिक खेतीका लागि वडामा सूचीकृत भई नगरपालिकामा दर्ता भएका कृषकलाई बीउबिजन, हेलटेकलगायत विभिन्न सेवाहरू नि:शुल्क प्रदान गरिएको नगर उपप्रमुख जमुना मगर कार्कीले जानकारी दिइन् ।
अर्गानिक उत्पादनको ढुवानी सहज बनाउन नगरपालिकाले दुई वटा कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ, जसमध्ये एउटा एम्बुलेन्स खरिद भइसकेको छ । यस सेवाले कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल स्थानीय बजारसम्म छिटो र सहज रूपमा पुर्याउन मद्दत गर्ने लक्ष्य राखिएको छ ।
कृषि शाखा प्रमुख आर्यल लिम्बूका अनुसार हालसम्म १ हजार २ सय ७५ जना कृषक अर्गानिक कृषिमा सूचीकृत भइसकेका छन् र यो संख्या निरन्तर बढ्दो क्रममा छ । रासायनिक मल तथा विषादीमा लाग्ने खर्च घट्नु, स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुनु र उत्पादनमा दीर्घकालीन सुधार देखिनुले किसान अर्गानिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
स्थानीय कृषक ज्ञानेन्द्र बस्नेतका अनुसार रासायनिक खेतीमा प्रारम्भिक उत्पादन छिटो देखिए पनि लगानी धेरै लाग्ने हुँदा दीर्घकालीन रूपमा अर्गानिक खेती बढी लाभदायक सावित भइरहेको छ ।
नगरवासीले गाईभैंसीको गोबर-मुत्र, तितेपाती, असुरो, खरानीजस्ता प्राकृतिक स्रोतको प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गरिरहेका छन् । यस्ता जैविक सामग्रीले माटोको उर्वराशक्ति जोगाउनुका साथै उत्पादनलाई स्वस्थ बनाउने काम गर्छ। नगरभित्र आलु, बन्दा, मटर, सागसब्जी लगायतका बालीमा अर्गानिक विधि सुरु गरिएको छ ।
प्रतिक्रिया 4