News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीबारे रास्वपाका सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।
- एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सभामुखसमक्ष यादवको अभिव्यक्ति हटाउन आग्रह गरेकी छन्।
- पुरुषोत्तम यादवले ओलीको कुविचार भन्दै चैत १९ गतेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विषयलाई लिएर संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेकपा एमालेका सांसदहरूबीच घोचपेच चलिरहेको छ ।
एमालेका सांसहरू ओलीको पक्राउको विरोधमा छन् । उनीहरूले प्रत्येक दिन सदनमार्फत सरकारलाई ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै आएका छन् ।
रास्वपाका सांसदहरू भने जेनजी आन्दोलनमा दमन गर्नेलाई दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग न्याय, समानता र अधिकार रहेको कसैले कहिले पनि बिर्सन नहुने बताए ।
वर्तमान सरकार त्यही रक्तरञ्जित आन्दोलनको बलिदानबाट भनेको उल्लेख गर्दै उनले भने, ‘कहिले जेनजी आन्दोलनका घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ ? कहिले मृतक परिवारले न्याय पाउँछन् ?’
सरकारलाई यस्तो प्रश्न गर्दै उनले कतिपयले जेनजी आन्दोलनलाई अपमान गर्ने प्रयास गरिरहेको भनेर पनि सरकारको ध्यानाकर्षण गरे ।
‘सभामुख महोदय जुन भुतले कमरेड केपी ओलीलाई छलेको थियो । त्यही भुतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ’ सांसद यादवले भने ।
बादल भनेर उनले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापालाई भनेका हुन् ।
यस्तो भुत झार्ने काम सरकारले गर्नुपर्ने उनको आग्रह छ ।
उनले भनेका छन्, ‘किनकी आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।’
त्यसपछि नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले आफ्नो बोल्ने पालोमा प्रतिवाद गरिन् ।
‘एक माननीयले मेरो पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री सम्माननीय नेता केपी शर्मा ओलीलाई गरेको तुच्छ व्यवहार घोर आपत्ति व्यक्त गर्दछु । यो अभिव्यक्ति अभिलेखबाट हटाइयोस्’ उनले भनिन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई रिहा गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया 4