News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षा अनुसार सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ।
- कार्कीले बिचौलियाहरूलाई कानुनी दायरामा ल्याउन र छिटो छरितो सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ।
- प्रहरीले सीमा नाकामा आपराधिक गतिविधि नियन्त्रण र प्राकृतिक स्रोत दोहनमा संलग्नलाई कानुनी कारबाही गर्न निर्देशन पाएको छ।
२५ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकको अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
‘नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुहोस्’ आईजीपी कार्कीले भने ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन पनि निर्देशन दिए ।
बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो ।
प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उनले निर्देशन दिए ।
शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिए ।
बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिँदै कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रतिक्रिया 4