२७ चैत, गुल्मी । निर्माण व्यवसायी संघ गुल्मीले जिल्लाभित्र खोलानालाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएको छ । गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा पर्ने तर्क गर्दै संघले तत्काल समस्या समाधानको माग गरेको छ ।
संघका अनुसार स्थानीय तहहरूले वैधानिक रूपमा रोयल्टी असुल गरी गिटी–बालुवा उत्खननका लागि ठेक्का प्रक्रिया सम्पन्न गरिसकेका छन् । सोही प्रक्रियाअन्तर्गत व्यवसायीहरूले जिम्मेवारी लिइसकेका भए पनि स्थानीय प्रशासनले डोजर लगायत उपकरण प्रयोगमा रोक लगाउनु विरोधाभासपूर्ण र अव्यवहारिक निर्णय भएको संघको भनाइ छ ।
निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले खोलानालाबाट गिटी–बालुवा उत्खनन गरी क्रसर उद्योगमार्फत प्रशोधन नगरी निर्माण कार्य सम्भव नहुने हुँदा उपकरणमै रोक लगाइनु सम्पूर्ण निर्माण क्षेत्रमाथि प्रहार भएको बताए ।
संघले तत्काल उत्खनन कार्य सञ्चालन गर्न अनुमति दिन, डोजर लगायत उपकरण प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन, स्थानीय तह र प्रशासनबीच समन्वय गरी स्पष्ट तथा व्यवहारिक नीति ल्याउन र व्यवसायीहरूले भोगिरहेको आर्थिक क्षति न्यूनीकरणका लागि राहत व्यवस्था गर्न माग गरेको छ ।
समस्या समाधानमा ढिलाइ भएमा विकास निर्माणका कार्यहरू पूर्ण रूपमा अवरुद्ध हुने, निर्माण क्षेत्र ठप्प हुने र व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी संघले दिएको छ ।
प्रतिक्रिया 4