News Summary
Generated by OK AI. Editorially reviewed.- २६ चैतमा प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गरेका थिए।
- बैठकमा प्लास्टिकका पानीका बोतलहरू टेबुलमा राखिएको देखिएपछि कूटनीतिक असंवेदनशीलता देखिएको छ।
- सरकारले ४० माइक्रोनभन्दा कम प्लास्टिक प्रयोग नगर्ने निर्णय गरे पनि प्लास्टिक बोतल प्रयोग जारी छ।
२६ चैतमा प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक मिसनका प्रमुखहरूसँग सामूहिक भेटघाट गरे। यस खालको पारदर्शी र सामूहिक भेटघाटले कूटनीतिमा सकारात्मक प्रभाव पार्छ नै। साथै, यसरी भेट्दा समय त बच्छ नै, आफ्नो सन्देश पनि सबै मित्रराष्ट्रहरूलाई एकैसाथ दिन सकिन्छ। यो प्रशंसनीय कार्य हो।
उक्त बैठकको सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूमा हेर्दा टेबुलभरि लहरै पानीका बोतलहरू सजाइएको देखिन्छन् ! अझ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेका फोटोहरूमा त प्रत्येक राजदूतको अगाडि एक–एक वटा बोतल राखेको देख्दा त, कुनै पानी कम्पनीको विज्ञापन जस्तो लाग्छ।
झट्ट हेर्दा यो सानो कुरा जस्तो लाग्छ, तर कूटनीतिमा ‘पहिलो छाप’ र प्रस्तुतिले ठूलो अर्थ राख्छ। यसरी राजदूतहरूको अगाडि प्लास्टिकका बोतलहरू टेबलमा लाइन लगाएर राख्दा अलिकति ‘सस्तो, लापरबाही र अनौपचारिक’ देखिन्छ। यसले हाम्रो कूटनीतिक असंवेदनशीलता देखाउँछ।
प्लास्टिक प्रदूषण अहिले संसारभरिकै लागि ठूलो चुनौती बनिरहेको छ। शहरी प्रदूषण होस् वा डम्पिङ साइट व्यवस्थापन वा सामुद्रिक वातावरण, प्लास्टिक प्रमुख कारक बनिरहेको छ। वार्षिक करीब ११ हजार मेट्रिक टन प्लास्टिक समुद्रमा थुप्रिनाले समुद्रमा आश्रित जीव मर्न थालेका छन्, माछाको उत्पादन घट्नुका साथै जैविक विविधतामा गम्भीर चुनौती थपिएको छ। जसका कारण तटीय र टापु राष्ट्रहरू जलवायु परिवर्तनसँगै प्लास्टिक प्रदूषणको दोहोरो संकटमा छन्।
यसरी प्लास्टिकको प्रयोग गर्दा, हाम्रो फोहोर व्यवस्थापनमा चुनौती हुन्छ नै, यस्तो कार्यले हामी विश्व पर्यावरण, सामुद्रिक वातावरण र तटीय राज्यका समस्याप्रति असंवेदनशील देखिन्छौं।

गत वैशाख २४ मा यसरी नै परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको तयारी सम्बन्धी ब्रिफिङ गर्न विदेशी दातृ निकाय, नियोग प्रमुख र नेपालमा कार्यरत राजदूतहरूलाई सिंहदरबारमा बोलाएको थियो। त्यहाँ पनि टेबुलभरि लहरै तिनै प्लास्टिकको बोतलहरू सजाइएको थियो !
यो अशोभनीय तस्वीर बारे टिप्पणी गर्दै जेठ १ गते मैले टिप्पणी लेखेको थिएँ। त्यो लेख सार्वजनिक भएपछि, कार्यक्रममा सहभागी एक मित्रका अनुसार, सगरमाथा संवादको कार्यक्रमभरि नै यस्ता प्लास्टिक बोतलहरू राखिएन साथै कार्यक्रम भएको होटल सहभागी बस्ने कोठामा पनि प्लास्टिक बोतलहरू सट्टा पानीको जार र गिलास उपलब्ध गराइयो।
यसपछि, अब त सरकारी आतिथ्यमा हुने यस्ता कार्यक्रमहरूमा यो समस्या नदोहोरिएला भन्ने अपेक्षा गरेको हिजोको तस्वीर देखेपछि लाग्यो, ‘हामीले सिक्दैनौं।’ अझ नयाँ सरकारले भर्खरै ४० माइक्रोन भन्दा कमको प्लास्टिक प्रयोग नगर्ने निर्णय सार्वजनिक गरेकै बेला यो तस्वीर बाहिरिनु सुखद् देखिएन।
अरू देशमा यस्तो भेटघाटमा के हुन्छ?
विश्वका धेरै उच्चस्तरीय कूटनीतिक बैठक, कार्यक्रमहरूमा सामान्यतया कहिल्यै यसरी प्लास्टिक बोतलहरू टेबलमा देखिने गरी राखिंदैन। सिसाको जग वा बोत्तलबाट सफा पानी दिइन्छ।
हिजोको बैठकको सार्वजनिक भएको तस्वीरमा एउटा रोचक कुरा देखिन्छ। प्रम शाहको टेबलमा भने सिसाको जग र गिलास छ। अरू सहभागीको टेबलमा प्लास्टिक बोतलहरू छन्। प्रमकै टेबुलमा जस्तो अरूलाई व्यवस्था गरेको भए भइहाल्थ्यो।
अझ रोचक त मन्त्रिपरिषद्को नियमित हुने बैठकमा समेत सबै सहभागी टेबलमा पानीको जग र गिलास देखिन्छ। यस्तो राम्रो अभ्यास किन हिजोको राजदूतहरूसँगको बैठकमा अपनाउन सकिएन होला ?

सगरमाथा संवाददेखि हिजोसम्मका यी तथ्यहरू केलाउँदा के देखिन्छ भने, यो राजनीतिक भन्दा पनि हाम्रो सिंहदरबारको व्यवस्थापकीय समस्या हो। ‘चलिहाल्छ नि’ भन्ने मानसिकता हो।
तत्कालै प्लास्टिक बोत्तल हटाएर सिसाको जारमा प्रशोधित वा फिल्टर गरिएको पानी राख्ने, पिउनका लागि सिसाका ग्लास राख्ने, नेपालीपन दिनको लागि मौसम अनुसार कागती पुदिनाको पानी वा ग्रीन चियाको व्यवस्था गर्ने र सकिन्छ भने यस्ता बैठकमा सर्भ गर्ने व्यवस्था गर्न सकिन्छ।
दीर्घकालीन रूपमा गर्ने सकिने केही कामहरू छन्। जस्तो कूटनीतिक बैठक खालि भेटघाट र बैठक मात्रै हैन। यस्ता बैठकलाई कसरी हाम्रो राष्ट्रिय नीति, संस्कृति, पर्यटन र बजारसँग पनि जोड्न सकिन्छ भनेर सोचिनुपर्छ। यसका लागि प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालयमा व्यवस्था गर्न सानो युनिटको व्यवस्था गर्न सकिन्छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची रामारोशन, बडिमालिका, अपि र दोर्दी हिमाल आसपासका क्षेत्रहरूमा पर्यटन विकासका लागि विशेष कार्ययोजना तयार गर्ने घोषणा गरिएको छ। यी रमणीय तथा सम्भावनायुक्त गन्तव्यहरूको प्रभावकारी प्रवर्धन गर्न कूटनीतिक तथा अन्तर्राष्ट्रिय बैठकहरूमा सृजनात्मक तरिकाले प्रस्तुत गर्न सकिन्छ।
उदाहरणका लागि, ओलाङचुङगोला, एभरेष्ट बेसक्याम्प, बडिमालिका, दोर्दी, रामारोशन र अपि हिमालका मुहान वा आसपासबाट संकलित पानीलाई छुट्टाछुट्टै सिसाका बोतलमा आकर्षक ढंगले ‘सर्भ’ गरिएमा यसले पाहुनाहरूमा गहिरो छाप छोड्न सक्छ। यस्तो पहलका लागि ठूलो बजेट आवश्यक पर्दैन। नेपाल पर्यटन बोर्डले गर्ने नियमित प्रचारप्रसारकै सानो अंशबाट पनि यसको व्यवस्थापन सहज रूपमा गर्न सकिन्छ।
यस्ता कार्यक्रमहरूमा इलामको चिया, सिन्धुलीको जुस, नुवाकोट र स्याङ्जाको कफी, लहानको सातुको सर्वत तथा हिमाली क्षेत्रका चौंरी गाईको घ्यू–चिया जस्ता मौलिक पेय पनि समावेश गर्न सकिन्छ। यसले अतिथिहरूलाई नेपालको स्वाद र पहिचानसँग नजिकबाट परिचित गराउँछ।
त्यसैगरी, नेपालमै निर्मित तामाका जग र गिलास प्रयोग गरी तामाका भाँडाकुँडाको स्वास्थ्य सम्बन्धी फाइदाबारे जानकारी दिंदै ‘सर्भ’ गर्न सकेमा सरकारले अघि सारेको ‘आरोग्य पर्यटन २०२७’ अभियानको समेत प्रभावकारी प्रचार हुन सक्छ।
अझ वातावरणमैत्री सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमहरूमा ‘रिसाइकल’ गरिएका कप तथा सामग्रीहरूको प्रयोगलाई प्राथमिकता दिन सकिन्छ।
यस्ता साना तर अर्थपूर्ण प्रयासहरूले नेपाललाई केवल ‘विकासोन्मुख देश’का रूपमा होइन, वातावरण, प्रकृति, संस्कृति र स्वास्थ्यप्रति सचेत तथा संवेदनशील राष्ट्रका रूपमा चिनाउने छ। साथै, यसले हाम्रो सांस्कृतिक पहिचान, पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय छविलाई अझ सुदृढ बनाउँछ।
आशा गरौं, अर्को पटक सिंहदरबारको मिटिङबाट फर्केपछि विदेशी राजदूतहरूले आफ्नो देशमा पठाउने रिपोर्टमा लेख्ने छन्— “So much has changed since our last meeting. Nepal’s PM office looked elegant, reflecting a renewed sense of dignity and respect. No more plastic bottle in table.”
(ढकाल, वातावरण नीति र जलवायु परिवर्तन क्षेत्रमा कार्यरत छन्।)
प्रतिक्रिया 4