+
+
Shares

माइकल ज्याक्सनको बायोपिक फिल्मको अन्तिम ट्रेलर सार्वजनिक, विवादित दृश्य हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १३:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड फिल्म 'माइकल'को अन्तिम ट्रेलर सार्वजनिक भएको छ, जसले बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत दिएको छ।
  • फिल्मको अन्तिम भाग पुनः छायांकनमा २२ दिन र १५ मिलियन डलर खर्च भएको छ, प्रदर्शन मिति २४ अप्रिल २०२६ मा सारिएको छ।
  • बाल यौन शोषण आरोपसम्बन्धी दृश्यहरू कानुनी सर्तका कारण हटाइएको र फिल्ममा जैक्सन इस्टेटको हिस्सेदारी जोडिएको छ।

‘किङ अफ पप’ माइकल ज्याक्सनको जीवनमा आधारित बायोपिक फिल्म ‘माइकल’को अन्तिम ट्रेलर सार्वजनिक भएको छ । केही वर्षदेखि चर्चामा रहेको यो हलिउड फिल्मलाई विश्वभरका प्रशंसकले प्रतिक्षा गरिरहेका छन् ।

टिजर र ट्रेलरले पाएको प्रतिक्रियाले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत दिएको छ । फिल्ममा माइकलका भतिजा जाफर ज्याक्सन मुख्य भूमिकामा छन् र उनी पर्दामा आफ्ना काकाजस्तै देखिन्छन् । नयाँ ट्रेलरमा उनी माइकलका चर्चित गीतहरूमा प्रस्तुति दिँदै देखिएका छन् ।

यो फिल्मको चासो प्रशंसकमा मात्र होइन, आलोचकमा पनि देखिएको छ । पछिल्ला दिनमा फिल्मको अन्तिम भाग पुनः छायांकन गरिएको खबर सार्वजनिक भएपछि चर्चा अझ बढेको हो । फिल्म विवादमा पनि परेको देखिन्छ । ज्याक्सनमाथि करियरको अन्तिम दशकमा लागेका बाल यौन शोषणसम्बन्धी आरोपलाई फिल्ममा समावेश नगरिएको बताइएको छ । निर्माण पक्षले भने यसलाई ‘ज्याक्सन इस्टेट’का वकिलको त्रुटि भएको दाबी गरेको छ ।

एक रिपोर्टअनुसार फिल्मको अन्तिम भाग पुनः छायांकन गर्न ठूलो खर्च लागेको छ । करिब २२ दिनसम्म गरिएको अतिरिक्त छायांकनका कारण झन्डै १५ मिलियन डलर खर्च भएको बताइएको छ । यही कारण फिल्मको प्रदर्शन मिति दुईपटक सारिएको थियो । एन्टोनी फुक्वाको निर्देशनमा बनेको यो फिल्म अब २४ अप्रिल २०२६ मा प्रदर्शन हुँदैछ ।

‘भेराइटी’का अनुसार सुरुमा फिल्ममा एउटा दृश्य समावेश थियो, जहाँ माइकल आफ्नो छायातिर हेरिरहेका हुन्छन् र पछाडि प्रहरीका गाडीको बत्ती बलिरहेको देखिन्छ । यो दृश्य सन् १९९३ को घटनासँग सम्बन्धित थियो, जब उनीमाथि पहिलो पटक बाल यौन शोषणको आरोप लागेको थियो । त्यतिबेला अनुसन्धान टोली ‘नेभरल्यान्ड र्‍यान्च’ पुगेर प्रमाण खोज्ने प्रसंगसमेत फिल्ममा थियो । तर अहिले यी सबै दृश्य हटाइएको छ ।

यसको मुख्य कारण एक कानुनी सर्त रहेको बताइएको छ । जैक्सन इस्टेटका वकिलहरूले माइकलमाथि आरोप लगाउने जोर्डन च्यान्डलरसँग गरेको सम्झौताअनुसार भविष्यमा बन्ने कुनै फिल्ममा उनको नाम वा प्रसंग समावेश गर्न नपाइने उल्लेख थियो । यो सर्त ढिलो थाहा भएपछि फिल्मबाट ती सबै अंश हटाइएको हो ।

सन् १९९३ को घटनामा जोर्डनका पिता इभान च्यान्डलरले आफ्ना १३ वर्षका छोरामाथि दुव्र्यवहार भएको आरोप लगाएका थिए । प्रारम्भिक अनुसन्धानमा स्पष्ट प्रमाण नपाइएपछि सन् १९९४ मा आर्थिक समझदारीमा मुद्दा टुंगिएको थियो । माइकलको कानुनी टोलीले यो सम्झौता अपराध स्वीकारोक्ति नभएको बताउँदै आएको थियो ।

यी सबै परिवर्तनका कारण सन् २०२५ जुनमा कलाकारलाई फेरि भेला गराएर २२ दिनसम्म पुनः छायांकन गरिएको थियो । यसको सम्पूर्ण खर्च ज्याक्सन इस्टेटले व्यहोरेको बताइन्छ । त्यसपछि फिल्ममा इस्टेटको पनि हिस्सेदारी जोडिएको छ । यही कारण कतिपयले यो फिल्मलाई दिवंगत गायकको छवि सुधार्ने प्रयासका रूपमा पनि हेर्न थालेका छन् ।

लायन्सगेटको ब्यानरमा बनेको यो फिल्मको प्रारम्भिक बजेट १५५ मिलियन डलर थियो, जुन पुनः छायांकनपछि बढेर १७० मिलियन डलर पुगेको छ । कमाइको हिसाबले पनि फिल्मप्रति ठूलो अपेक्षा गरिएको छ । सन् २०२५ नोभेम्बरमा सार्वजनिक भएको टिजरले २४ घण्टामै ११६.२ मिलियन भ्युज पाएको थियो, जसले अघिल्लो रेकर्ड तोडेको थियो ।

प्रारम्भिक अनुमानअनुसार फिल्मले पहिलो सप्ताहन्तमै अमेरिकामा ५५ मिलियन डलरभन्दा बढी कमाउन सक्ने देखिएको छ, जुन सन् २०१८ मा रिलिज भएको ‘बोहेमियन र्‍याप्सोडी’को सुरुआती कमाइभन्दा बढी हुनेछ । उक्त फिल्मले विश्वभर ९१० मिलियन डलर कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?