+
+
Shares

हिरक जयन्तीका अवसरमा चेम्बरले गर्‍यो ९ विधामा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले ७५औं वार्षिक साधारणसभामा ९ विद्यामा योगदान दिने व्यक्तित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सम्मान प्रदान गरेको छ।
  • राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको आर्थिक इन्जिनका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
  • चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताले निजी क्षेत्र प्रभावित भएको बताए र नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो।

२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५औं वार्षिक साधारणसभाका अवसरमा विभिन्न ९ विद्यामा सम्मान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सो सम्मान प्रदान गरिएको हो ।

चेम्बरका पूर्व अध्यक्षहरूको नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा, ट्रेड लजिस्टिक्स लगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई राष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ ।

ईश्वरलाल श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डतर्फ सुजल फुड्स प्रा.लि.का सहसंस्थापक गणेशबहादुर श्रेष्ठ सम्मानित भए । पर्यटनतर्फ बनवारी लाल मित्तल मेमोरियल अवार्ड होटल शंकरका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद शंकर श्रेष्ठलाई प्रदान गरियो । व्यापारतर्फ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड नेपाल उल हाउसलाई प्रदान गरिएको छ । कृषितर्फको राज बहादुर चिपालु मेमोरियल अवार्ड गणेश हेम्सका गणेश ऐडीलाई प्रदान गरिएको छ । ट्रेड लजिस्टिक्सतर्फको बिहारीलाल खेतान मेमोरियल अवार्डबाट एभरेस्ट डी कार्गो प्रा.लि.का अध्यक्ष रबिन्द्रमान सिंह प्रधान तथा उद्योगतर्फ इन्द्रभक्त मेमोरियल अवार्डबाट विशाल ग्रुपका उपाध्यक्ष त्रिलोक चन्द्र अग्रवाल र सामाजिक सेवा तर्फ बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट नेपाल क्यान्सर अस्पताल सम्मानित भएका छन् ।

त्यस्तै, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड एजु केसलाई प्रदान गरिएको छ भने प्रदेश, जिल्ला तथा नगर चेम्बरमध्ये उल्लेखनीय कार्य गरेबापत मोरङ चेम्बर अफ कमर्सलाई कदरपत्र प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई कर तिर्ने निकायका रूपमा मात्रै नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको बताए । परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए ।

‘हामीले भुल्न नहुने एउटा महत्त्वपूर्ण विषय के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘निजी क्षेत्र यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु।’

जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र जनताको जीवनस्तर उकास्ने गहन दायित्व रहेको बताउँदै उनले यस अभियानमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनको जोड छ ।

हाल आपूर्ति शृंखलामा आएको अवरोध तथा उत्पादनमा आएको गिरावटले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा समन्वय र सहकार्य अपरिहार्य भएको बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्वागत मन्तव्य व्यक्त गर्दै वि.सं. २००७ सालदेखि सुरु भएको चेम्बर आन्दोलन आज देशव्यापी रूपमा विस्तार भइसकेको बताए । उनले ७ प्रदेश, ६७ जिल्ला र ४६ नगर चेम्बर गठन भइसकेको जानकारी दिँदै ८० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य भइरहेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले पछिल्लो समय राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता तथा मौद्रिक र आर्थिक नीतिबीच समन्वय अभावका कारण निजी क्षेत्र प्रभावित भएको बताए । ‘बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदा पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन,’ उनले भने । अध्यक्ष अग्रवालले जारी राजनीतिक संक्रमणबाट मुलुक अब स्थायित्वतर्फ उन्मुख भएको उल्लेख गर्दै जनादेशसहित गठन हुने सरकारबाट आर्थिक सुधार, सुशासन र लगानीमैत्री वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

अग्रवालले निजी क्षेत्र नयाँ नेतृत्वप्रति सकारात्मक रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर आर्थिक गतिविधि विस्तार गर्न तयार रहेको बताए । उनले आगामी दिनमा उद्योग, व्यापार, पर्यटन तथा सेवा क्षेत्रलाई चलायमान बनाउन नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, उनले हाल देखिएको आर्थिक चुनौती, बढ्दो आयात निर्भरता, वैदेशिक रोजगारी र रेमिट्यान्समा आधारित संरचनालाई सुधार गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले धन्यवाद मन्तव्य दिँदै वर्तमान विश्व प्रतिस्पर्धात्मक भएको उल्लेख गरे । उनले परम्परागत सोचबाट माथि उठ्दै नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्ने बताए ।

‘नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न, स्टार्टअप संस्कृति विकास गर्न र प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सबै पक्षको सहकार्य आवश्यक छ,’ उनले भने, ‘स्पष्ट कानुनी व्यवस्था, आधुनिक पूर्वाधार, सुलभ वित्तीय पहुँच र दक्ष जनशक्ति बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष राजेशकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, विदेशी राजदूतहरु, चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?