२८ चैत, काठमाडौं । इजरायल र लेबनानबीच जारी युद्ध रोक्न अमेरिकाको मध्यस्थतामा वार्ता हुने भएको छ । युद्धरत इजरायल र लेबनानबीच आगामी मंगलबार अमेरिकामा वार्ता हुने भएको हो ।
लेबनानको राष्ट्रपति कार्यालयले इजरायलसँग आगामी मंगलवार वासिङगटनमा जार्ता हुने बताएको छ । वार्ताका क्रममा इजरायल र हिज्बुल्लाहबीच युद्धविरामबारे छलफल हुने छ ।
राष्ट्रपति जोसेफ औनको कार्यालयले दुवै देशको अमेरिकामा छलफल हुने बताएको छ । छलफलमा युद्धविरामको घोषणा र इजरायल र लेबनानबीच) वार्ताको तिथि तयको प्रयास गरिने राष्ट्रपति कार्यालयको भनाइ छ ।
शुक्रबार अमेरिकामा लेबनान र इजरायलका राजदूतबीच फोनमा कुराकानी भएको बीबीसीले जनाएको छ । कुराकानीको उद्देश्य युद्धविरामका लागि बैठक आयोजना गर्नु रहेको समाचारमा उल्लेख छ ।
यसैबीच लेबनानका गृहमन्त्री अहमद हज्जारले आफ्नो देशको लक्ष्य युद्धविरामसम्म पुग्नु रहेको बताएका छन् । ‘लक्ष्य युद्धविराम हो । त्यसका लागि जे सुकै गर्नु परे पनि, विश्वको जुन सुकै कुनामा जानु परे पनि हामी तयार छौं,’ गृहमन्त्री हज्जारले भनेका छन्, ‘देशका लागि सुरक्षा, शान्ति र स्थिरता हासिल गर्न सकियोस् ।’
उनले कूटनीतिका माध्यमबाट लेबनानले अत्यन्तै गम्भीरताका साथ काम गरिरहेको पनि जिकिर गरेका छन् । बुधबार इजरायलले बेरूतमा आक्रमण गरेको स्थानमा पुगेर गृहमन्त्री हज्जारले यस्तो प्रतिक्रिया दिएको बीबीसीमा उल्लेख छ ।
प्रतिक्रिया 4