२८ चैत, बुटवल । राष्ट्रिय अपांग महासंघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन विवादित बनेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र महासचिव सुगम भट्टराई सहितको पक्षले विधान विपरीत र अदालतको निर्देशन अवज्ञा गर्दै जबरजस्ती चुनाव गराइएको भन्दै निर्वाचन बहिष्कार गरेका छन् ।
असन्तुष्ट पक्षले महासंघको विधान विपरीत वितरण गरिएका सदस्य संस्थाहरूको छानबिन माग गरेकामा सोको सुनुवाइ नगरी गरिएको सदस्यता वितरण र सोको आधारमा आएका प्रतिनिधिहरूको संलग्नतामा गरिएको महाधिवेशन विधान विपरीत भएको दाबी गरेको छ ।
उच्च अदालत पाटनले महाधिवेशनको विवाद सम्बन्धमा परेको निवेदनमा चैत २६ गते गरेको आदेश अनुसार २०८३ वैशाख ३ गते दुवै पक्षलाई छलफलमा बोलाइएको सन्दर्भमा सो भन्दा अगाडि अदालतको मानहानी हुनेगरी महाधिवेशन र निर्वाचन गराइएकाले गैरकानूनी भएको वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीको भनाइ छ ।
महाधिवेशन प्रतिनिधिमाथि प्रहरी दमन गरेर गैरकानूनी रुपमा गरिएको निर्वाचनविरुद्ध कानूनी उपचार खोज्ने वरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।
महाधिवेशन प्रतिनिधि किर्ते र जालसाजी गरेको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुई पक्षबीच केहीबेर कुटाकुट भएको र केही प्रतिनिधिलाई प्रहरीले पक्राउ समेत गरेको केन्द्रीय सदस्य सावित्रा घिमिरेले बताइन् ।
महासंघमा आर्थिक अनियमितता, असमावेशिता र नेतृत्वको निरंकुशताविरुद्ध दुई वर्षदेखि नै छानबिनको आवाज उठ्दै आएको भएपनि नेतृतव्ले सुनुवाइ नगरेको घिमिरेले बताइन् ।
निर्वाचन गराउन गठित वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे संयोजकत्वको निर्वाचन समितिले महासंघमा देखिएको विवाद र पाटन उच्च अदालतको निर्देशनलाई मध्यनजर गरी निर्वाचन गराउन उचित नहुने ठहर गर्दै राजीनामा दिएको थियो ।
तर महासंघका अध्यक्ष देविदत्त आचार्य पक्षले विवादका बीच रातारात अधिवक्ता जोखबहादुर खत्रीको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाई वहुमत प्रतिनिधिको वहिष्कारबीच निर्वाचन गराउनु गैरकानूनी भएको महासचिव सुगम भट्टराई बताए ।
महासंघका अध्यक्ष आचार्यले भने बहुमतले पारित गरेर महाधिवेशन र निर्वाचन गरेको दाबी गरे ।
प्रतिक्रिया 4