+
+
Shares

हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

विदेशमा उच्च अध्ययन र आकर्षक अवसर हुँदाहुँदै पनि उनले स्वदेशमै फर्केर सेवा गर्ने निर्णय गरिन् । दक्षिण कोरियामा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएर पनि उनले त्यागेको अनुभव सुनाउँदै भनिन्, ‘मलाई केवल उपलब्धि होइन, जीवनको सन्तुलन, समाजलाई योगदान र आफ्नै ठाउँमा केही गर्ने इच्छा ठूलो लाग्यो ।’

पूर्ण सार्की पूर्ण सार्की
२०८२ चैत २९ गते ७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले विकट भूगोल र सीमित स्रोतबीच निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकी छन्।
  • उनले अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति पाएर सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरी स्वदेशमै सेवा गर्ने निर्णय गरिन्।
  • जुम्लाकी छोरी हमालले परिवारको साथ र आत्मविश्वासले कर्णालीका युवालाई आफ्नै ठाउँमा अवसर खोज्न आग्रह गरिन्।

२९ चैत, डोल्पा । हिमालपारिको विकट भूगोल, कठिन प्रशासनिक चुनौती र सीमित अवसरबीच अहिले डोल्पाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी छन् जुनु हमाल ढकाल । तर, उनको यो यात्राको कथा केवल सरकारी पदसम्म पुग्नुको कथा मात्र होइन, कर्णालीकी एक छोरीले संघर्ष, आत्मविश्वास र पारिवारिक साथको बलमा बनाएको प्रेरणादायी जीवनयात्रा हो ।

उनै हमालले आफ्नो जीवनका संघर्ष, अवसर र सिकाइका अनुभव सुनाइन् । जुम्लामा जन्मिएकी उनले आफ्नो बाल्यकालको सम्झना गर्दै भनिन्, ‘म जुम्लाकी छोरी हुँ । मेरो कागजपत्रमा अझै स्थायी ठेगाना जुम्ला नै छ । अहिले डोल्पामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै छु, तर मेरो पहिचान कर्णालीकै छोरीको हो ।’

उनको बाल्यकाल जुम्लामै बित्यो । त्यतिबेला गाउँघरमा छोरालाई राम्रो विद्यालय र छोरीलाई सरकारी विद्यालय पठाउने चलन सामान्य थियो । तर, उनका अभिभावकले चार छोरी र एक छोरालाई समान अवसर दिए । आर्थिक कठिनाइ हुँदाहुँदै पनि जुम्लाकै राम्रो अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा पढाए । यही पारिवारिक सोचले उनको भविष्यको जग बसायो ।

विद्यालय तहमा राम्रो पढाइका कारण परिवारको चाहना उनलाई डाक्टर बनाउने थियो । तर, हमालको सोच फरक थियो । उनी सानैदेखि आफ्नो जीवनमा सरल तर अर्थपूर्ण उपलब्धि हासिल गर्ने सपना देख्थिन् । विज्ञान पढेर प्लस टु र बायोकेमेस्ट्रीमा स्नातक गरे पनि उनको मन भने सार्वजनिक सेवातिर तानिइरह्यो ।

कर्णालीमा लोकसेवा तयारीका स्रोतसाधन नहुँदा पनि उनले हार मानिनन् । जुम्लामै बसेर स्वअध्ययन गरिन् । परीक्षा दिन मात्रै काठमाडौँ पुगिन् । ‘मैले फाराम भरेका धेरैजसो सेवामा लिखितमा नाम निकालें’, उनले भनिन् । अन्ततः २०६९ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरिन्।

सरकारी सेवासँगै उनले परिवारको जिम्मेवारी पनि सँगै सम्हालिन् । विवाह, सन्तान र जागिरबीच सन्तुलन कायम गर्दै उनले विभिन्न जिल्लादेखि मन्त्रालयसम्म काम गर्ने अवसर पाइन् । यही यात्रामा उनले आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा पनि प्रमाणित गरिन् ।

अष्ट्रेलिया सरकारको प्रतिष्ठित छात्रवृत्ति ‘अष्ट्रेलिया अवार्ड्स’ जितेर उनी क्यानबेरा पुगेकी थिइन् । त्यहाँ उनले सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरिन् । जुम्लाको दुर्गम गाउँदेखि विश्वकै विकसित शैक्षिक वातावरणसम्मको यात्राले उनलाई जीवन बुझ्ने फराकिलो दृष्टिकोण दियो ।

उनका अनुसार, कठिनाइलाई ठूलो बनाएर हेर्नुभन्दा जीवनलाई फराकिलो दृष्टिले बुझ्नुपर्छ। ‘ठूला दुःख पनि विशाल संसारमा हेर्दा साना लाग्छन् । आफूलाई बलियो राख्न सिक्नुपर्छ’, उनले भनिन्।

विदेशमा उच्च अध्ययन र आकर्षक अवसर हुँदाहुँदै पनि उनले स्वदेशमै फर्केर सेवा गर्ने निर्णय गरिन् । दक्षिण कोरियामा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएर पनि उनले त्यागेको अनुभव सुनाउँदै भनिन्, ‘मलाई केवल उपलब्धि होइन, जीवनको सन्तुलन, समाजलाई योगदान र आफ्नै ठाउँमा केही गर्ने इच्छा ठूलो लाग्यो ।’

अहिले डोल्पामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिरहेको तीन महिने अनुभवलाई उनले आफ्नो जीवनकै सबैभन्दा सन्तोषजनक समय भनेकी छन् । विकट भूगोल, सीमित स्रोत र हिउँदको कठिन मौसमका बीच निर्वाचन सम्पन्न गराउनु उनको लागि ठूलो परीक्षा थियो। विशेषगरी माथिल्लो डोल्पाजस्ता दुर्गम क्षेत्रमा व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि उनले सफलतापूर्वक जिम्मेवारी पूरा गरिन् ।

‘डोल्पा पुगेपछि मैले यहाँको सुन्दरता र अपनत्वलाई अझ नजिकबाट बुझें । अहिलेको मेरो करिअरकै सबैभन्दा खुसीको समय यही हो,’ उनले सुनाइन् ।

उनले आफ्नो सफलताको आधारमा परिवारको साथलाई मुख्य कारक मानेकी छन्। बाबुआमा, श्रीमान् र ससुरालीको साथले आफूलाई अघि बढ्न सहज भएको उनले बताइन्। ‘एउटी छोरी, बुहारी वा श्रीमतीलाई परिवारको साथ भयो भने उसले धेरै टाढासम्म पुग्न सक्छ’, उनको भनाइ थियो।

कर्णालीका युवायुवती, विशेषगरी छोरीहरूलाई उनले आफ्नै ठाउँमा सम्भावना खोज्न आग्रह गरिन्। ‘विदेश नै अन्तिम विकल्प होइन। अवसर यहीँ पनि छन्। आफूलाई विश्वास गर्नुपर्छ, मेहनत गर्नुपर्छ, अनि आफ्नो माटोलाई माया गर्नुपर्छ,’ उनले भनिन्।

जुम्लाकी एक साधारण छोरीबाट डोल्पाको प्रमुख जिल्ला अधिकारीसम्मको जुनु हमाल ढकालको यात्रा आज कर्णालीका हजारौँ युवाका लागि एउटा सशक्त सन्देश बनेको छ- सपना ठूलो देखे पुगिन्छ, यदि आत्मविश्वास र निरन्तरता छ भने ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?