News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरगढी गाउँपालिका–८ का कृषक सोमलाल पाख्रिन र वीरबहादुर रुम्बाले सिताके च्याउ खेतीमा लगानी र परिश्रम गरेका छन्।
- गाउँपालिकाले बुढीचौरका कृषकलाई सिताके च्याउ खेतीको तालिम दिँदै विगतका असफलता दोहोरिन नदिन पहल गरेको छ।
- सिताके च्याउ उत्पादनले कृषकलाई प्रतिकेजी ६०० देखि १ हजार रुपैयाँसम्म आम्दानी हुने र सुकाएर बेच्दा मूल्य अझ बढ्ने बताइएको छ।
२८ चैत, हेटौंडा । उत्तिस, कटुस, ओखर र लाकुरी जस्ता काठमा स्वास्थ्यबर्धक र महँगो सिताके च्याउ उत्पादन गर्न सकिन्छ भन्ने जानकारी भिडियोमार्फत पाएपछि मकवानपुरगढी गाउँपालिका–८ का सोमलाल पाख्रिन र वीरबहादुर रुम्बा उत्साहित भए ।
बजारमा आकर्षक मूल्य पाइरहेको यो च्याउ खेतीमा उनीहरूले प्रचुर सम्भावना देखे । प्रकृतिको उपहार र आफ्नो मिहिनेतलाई पूँजी बनाउने सपनाका साथ सोमलाल र वीरबहादुरले युट्युबमा भिडियो हेरेर प्रविधिको प्रयोग गर्दै लगानी र परिश्रम गरे ।
समुद्र सतहदेखि १ हजारदेखि २ हजार २१० मिटरसम्मको उचाइमा अवस्थित बुढीचौरको भूगोल सिताके खेतीका लागि उपयुक्त छ । सिताके खेतीका लागि ११०० मिटरभन्दा माथिको उचाइ, ७०–८० प्रतिशत आर्द्रता र १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । तर कहिलेकाहीँ जोस र अनुकूल भूगोल मात्र पर्याप्त हुँदैन ।
प्रविधिको सानो ज्ञान अभाव हुँदा ठूलो लगानी कसरी बालुवामा पानी हुन्छ भन्ने उदाहरण उनीहरू आफैँ बने । ‘एउटा प्राविधिक कुरा हामीबाट छुट्यो । टनेल भित्र खेती गर्दा तापक्रम व्यवस्थापन गर्न ‘एसी’ वा अन्य प्रणाली अनिवार्य थियो । सानो जानकारीको अभावले हाम्रो प्रयास विफल भयो र लगानी खेर गयो,’ कृषक सोमलालले विगतको अनुभव सुनाए ।
तथापि, तिनै विफल बनेको प्रयासलाई सफलतामा बदल्न अहिले मकवानपुरगढी गाउँपालिका आफैँ कृषकको घरदैलोमा पुगेको छ । प्राय: ‘कन्या’ (परालबाट उत्पादन गरिने) च्याउमा मात्रै केन्द्रित किसानहरूलाई पालिकाले यस पटक सिताके च्याउको उच्च आर्थिक सम्भावना बुझाउँदै विशेष प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको कृषि शाखाले हालै बुढीचौरका कृषकहरूका लागि विशेष तालिम सञ्चालन गरेको छ । वडा नम्बर ८ बुढीचौरका कृषकलाई च्याउ खेतीको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए ।
शाखा प्रमुख लम्साल भन्छन्, ‘हाम्रो पालिकामा अहिलेसम्म कन्या च्याउको मात्र बाहुल्यता छ । तर सिताकेबाट कृषकले निकै राम्रो आम्दानी लिन सक्छन् । विगतका असफलता दोहोरिन नदिन हामीले यो तालिम सुरु गरेका हौँ ।’
कृषकहरूलाई सिताकेको ऐतिहासिक महत्व, उपयुक्त हावापानी र प्राविधिक पक्षबारे जानकारी दिइएको छ । मुढामा प्वाल पार्ने, बिउ (स्पोन) राख्ने र बाहिरी संक्रमण रोक्न मैन (वाक्स) लगाउने जस्ता व्यावहारिक सिप बुढीचौरका कृषकलाई सिकाइएको थियो ।
यस खेतीका लागि ४ देखि २० वर्ष उमेरका निरोगी रुखका मुडाहरू उपयुक्त हुन्छन् । कात्तिकदेखि माघ महिना भित्र काटिएका मुडालाई करिब २० देखि ३० दिन सुकाएपछि ड्रिल मेसिनले प्वाल पारी बिउ भरिन्छ । उचित हेरचाह गरेमा मुढाको तौलको १५ देखि १७ प्रतिशतसम्म च्याउ उत्पादन हुन्छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरमा गरिएको परीक्षण उत्पादन सफल भएमा इच्छुक कृषकलाई लागत सहभागिताका आधारमा सहयोग गरिने बताए ।
मकवानपुरगढी गाउँपालिकाको यो सक्रियताले सोमलाल र वीरबहादुर जस्ता कृषकको ओइलाएको सपना फेरि ब्युँताएको छ । बुढीचौरको चिसो हावापानीमा सिताकेको व्यवसायिक सुगन्ध कति फैलिन्छ, त्यो भने आगामी सिजनको उत्पादनले देखाउने छ ।
के हो सिताके च्याउ ?
नेपालमा २०३० सालको दशकमा जापानी नागरिकले भित्र्याएको सिताके च्याउ खेतीप्रति अहिले व्यावसायिक आकर्षण बढ्दो छ ।
पूर्वी एसिया (विशेषगरी चीन, जापान र कोरिया) बाट सुरु भएको सिताकेलाई च्याउको राजा मानिन्छ । जापानी भाषामा ‘सी’ को अर्थ एक प्रकारको ओक (इबप) रुख र ‘ताके’ को अर्थ च्याउ हुन्छ ।
यो प्राकृतिक रूपमा ओकको सुकेका मुडाहरूमा उम्रिने भएकाले यसलाई सिताके भनिएको हो । स्वादका लागि मात्र नभई औषधीय गुणका कारण पनि यो प्रसिद्ध छ ।

प्राचीन चिनियाँ चिकित्सामा यसलाई जीवनको अमृत मानिन्थ्यो । जसले शरीरको ऊर्जा बढाउने र बुढ्यौली रोक्ने विश्वास गरिन्छ । सिताकेमा प्रोटिन, भिटामिन बी, कपर, सेलेनियम जस्ता सूक्ष्म पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छन् ।
क्यान्सर, मधुमेह, कोलेस्ट्रोल तथा उच्च रक्तचाप जस्ता रोगका लागि यो च्याउ फाइदाजनक मानिन्छ ।
कृषि प्राविधिक सुदीप सुवेदीका अनुसार सिताकेको बिउ राखेको ८ महिनापछि उत्पादन सुरु हुन्छ । उत्तिसको काठ प्रयोग गरेमा साढे ३ वर्ष र कटुसको काठमा ६ वर्षसम्म लगातार उत्पादन लिन सकिन्छ ।
बजारको हिसाबले सिताके च्याउ कृषकका लागि वरदान साबित हुन सक्छ । हाल नेपाली बजारमा ताजा सिताके प्रतिकेजी ६०० देखि १ हजार रुपैयाँसम्म बिक्री हुने कृषकहरू बताउँछन् । सुकाएर बेच्न सके यसको मूल्य प्रतिकेजी ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पुग्ने उनीहरूको विश्वास छ ।
प्रतिक्रिया 4