+
+
Shares

इरानलाई टोल तिरे अमेरिकाले होर्मुज हुँदै जाने जहाजहरूमा नाकाबन्दी गर्ने, के भन्छ इरान ? 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते ८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन् ।
  • इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई कडा चेतावनी दिँदै पेट्रोलको मूल्य बढ्ने बताएका छन्।
  • अमेरिकाको नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य अमेरिकी क्रुडमा ८ प्रतिशत र ब्रेन्ट क्रुडमा ७ प्रतिशतले वृद्धि भएको छ।

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो बाटो हुँदै जान खोज्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने बताएका छन् । ट्रम्पका अनुसार, विशेषगरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूमाथि कडा निगरानी राखिनेछ।

ट्रम्पले इरानलाई गैरकानुनी रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित बाटो नदिइने बताए। यसबाट इरानको आर्थिक शक्ति कम गरिने उनको तर्क छ ।

ट्रम्पले अमेरिका जुनसुकै परिस्थितिका लागि तयार रहेको र आवश्यकता परे युद्ध समाप्त गर्न कदम चालिने जिकिर गरे ।

यसअघि इरानका उप-सभामुख हाजी बाबाईले यो जलसन्धि इरानको नियन्त्रणमा रहेको बताएका थिए। उनले यसलाई तेहरानको ‘रेड लाइन’ बताउँदै यहाँबाट यात्रा गर्ने जहाजहरूले इरानी मुद्रा रियालमा टोल तिर्नुपर्ने बताएका थिए।

हिजो पाकिस्तानमा इरान र अमेरिकाबीच २१ घण्टा चलेको शान्ति वार्ता निष्कर्षविहीन बनेको पछि दुवै पक्ष एकअर्काविरुद्ध खनिएका छन् । रिपोर्टहरूका अनुसार होर्मुज जलसन्धि खुला गर्ने र आणविक कार्यक्रमको विषयमा दुई देशबीच कुरा अड्किएको छ।

यसैबीच, इरानी संसद्का सभामुख तथा इस्लामाबाद वार्तामा प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मोहम्मद बागेर गालिबाफले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले होर्मुज स्ट्रेटको नाकाबन्दी गर्ने धम्कीमाथि प्रतिक्रिया दिँदै भनेका छन्, ‘अहिले पेट्रोलको जुन मूल्य छ, त्यसको मज्जा लिनुहोस्।’

उनले एक्समा लेखेका छन्, ‘हालको पेट्रोलको मूल्य हेरिराख्नुहोस्, किनकि यस तथाकथित नाकाबन्दीपछि छिट्टै तपाईंहरूलाई प्रति ग्यालन ४-५ डलरको पेट्रोल पनि सस्तो लाग्न थाल्नेछ।’

तेलको मूल्य बढ्यो

अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूको नाकाबन्दी गर्ने घोषणा गरेको छ। यसपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। सुरुवाती कारोबारमा अमेरिकी क्रुड आयल (कच्चा तेल) ८ प्रतिशतले बढेर १०४.२४ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड ७ प्रतिशतले बढेर १०२.२९ डलर प्रति ब्यारेल पुगेको छ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?