सुन्तला र खैरो रङको कम्बो सेट लुगा लगाएका, क्याप लगाएका ८ जना संगीतमा झुमिरहेको देखिन्छ । उनीहरू गाउँले परिवेशमा छन् । सडकमा छन् । चौतारीमा छन् । बजा बजाउँदै गाएका छन् । नाचेका छन् । र, उनीहरूलाई हेर्ने/सुन्ने पनि उल्लेख्य संख्यामै छन् ।
यो कथा घेराको ‘बाटै बाटो’ नामक सडक नाट मञ्चनको दृश्य हो । कथा घेरा काठमाडौंमा अवस्थित नाटकघर हो । यही नाटकघरको टोली गत ११ चैतदेखि पश्चिम नेपालमा छ । अहिले उनीहरूको यस नाटकका क्लिपहरू सामाजिक सञ्जालहरूमा राम्रै शेयर पनि भइरहेका छन् ।
कथा घेराकी निर्देशक तथा नाटक टोलीकी नेतृत्वकर्ता आकांक्षा कार्कीका अनुसार यस नाटकमा महिला उद्यमशीलतालाई मुख्य विषयवस्तु बनाइएको छ । महिलाको हातमा सीप बसाइयो भने सबैलाई कल्याण हुन्छ, महिलाले गर्न नसक्ने केही छैन, समान अवसर नभएर मात्र महिलाहरू पछाडि परेका हुन् भन्ने जस्ता विषयहरू नाटक समावेश भएको उनले बताइन् ।

अहिले यो टोली सल्यानको सल्ली बजारमा आफ्नो अन्तिम शो मञ्चन गर्र्न तयारी छ । यो नाटकमा घरभित्र र बाहिरको काम गर्दै आइरहेका अथवा आफैँ केही गर्नुपर्छ भन्ने सोच राखेका तर समाज, परिवारबाट साथ सहयोग नपाइरहेका पात्रको कथा भएको निर्देशक कार्कीले सुनाइन् ।
नाटककले लैङ्गिक समानता र अवसरको कुरा गर्ने पनि उनको भनाइ छ ।
अहिलेसम्म कथा घेराको यो टोलीले सुदूरपश्चिम प्रदेशमा ६ ठाउँ र कर्णाली प्रदेशमा ५ ठाउँ गरी कुल ११ ठाउँ नाटक देखाइसकेको छ । अब आजको शो पछि भने टोली काठमाडौं फर्कने तयारीमा छ । कथाघेराको यो नाटकलाई धेरैले सञ्जालमा प्रशंसा गरिरहेका छन् भने केहीले कुरा बङ्ग्याएर टिप्पणी पनि गरिरहेका छन् ।

विशेषत नाटकमा संलग्न एक गीतमा प्रयोग भएको ‘नपूज, नढोग’ भन्ने शब्दलाई ‘धर्म र परम्परा माथिको आक्रमण’ भन्दै नकारात्मक टिप्पणी भइरहेको हो । यस विषयमा कार्कीले यी शब्दहरूलाई तोडमोड गरी गलत अर्थ लगाउन खोजिएको बताइन् । यी शब्दहरू प्रतीकात्मक/बिम्बात्मक मात्र रहेको उनको भनाइ छ ।
सडकमा मञ्चन गरिएको यो नाटक २ वैशाखमा युट्युबमा पनि देखाइने निर्देशक कार्कीले जानकारी दिइन् ।
प्रतिक्रिया 4