News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार मधेश बाहेकका प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका साना टुक्रे जग्गाको कारोबार बढी हुने गरेको छ।
- मधेश प्रदेशमा २० आना भन्दा माथिका ठूला जग्गाको कारोबार बढी हुने र जग्गाको कारोबार क्षेत्रफलमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ।
- घरजग्गा कर्जा २०७७/७८ देखि २०८१/८२ सम्म ७२.४१ प्रतिशतले वृद्धि भएको र केन्द्रीय बैंकले घरजग्गा मूल्य सूचकाङ्क प्रकाशनको तयारी गरिरहेको छ।
चैत ३०, काठमाडौं । मधेश बाहेकका प्रदेशमा साना टुक्रे जग्गाको कारोबार धेरै हुने गरेको पाइएको छ । अन्य प्रदेशको तुलनामा मधेशको जग्गा खेतिपातीका लागि पनि उपयुक्त मानिने भएकाले ठूला आकारका जग्गाको कारोबार धेरै हुने गरेको हो ।
नेपाल राष्ट्र बैंकको घरजग्गाको पछिल्लो अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट बढी कारोबार हुने गरेको पाइएको छ । मधेश प्रदेशमा २० आना भन्दा माथिका प्लटमा बढी कारोबार हुने गरेको अध्ययनले देखाएको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।
घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उपमहानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको अध्ययनले देखाएको छ ।
केन्द्रीय बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभागले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियलस्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गर्ने गरेको छ । बैंकले केही वर्षअघि नै घरजग्गाको कारोबार सम्बन्धी प्रतिवेदन त्रैमासिक रुपमा प्रकाशन गर्ने र मूल्यलाई ट्रयाक गर्ने भने पनि सफल हुन सकेको थिए । बैंकले यसलाई पुन: त्रैमासिक कारोबार प्रतिवेदन भनेर सुरु गर्ने जनाएको छ ।
रियल इस्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारित अन्तर्गत राजीनामा कारोबारको आधारमा गरिएको केन्द्रीय बैंकले जनाएको छ । रियल इस्टेट कारोबारको सङ्ख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन र रियल इस्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल इस्टेट कारोबारको प्रवृत्ति विश्लेषण गर्ने गरिने बैंकले जनाएको छ ।
अध्ययनमा रियल इस्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उपमहानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ । साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरिएको छ ।
त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा न्यून र तेस्रो तथा चौथो त्रैमासमा रियल इस्टेट कारोबार उच्च हुने अध्ययनले देखाएको छ । कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेको अध्ययले देखाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको अध्ययनको निष्कर्ष छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।
यी तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारी केन्द्रीय बैंकले गरेको जनाएको छ ।
प्रतिक्रिया 4