३० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा दिएको टिप्पणी हटाएका छन् ।
मन्त्रीहरूको सम्पत्ति कल्पना गरिएभन्दा धेरै देखिएको भन्दै टिप्पणी हुन थालेपछि त्यसको जवाफ दिँदै उनले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका थिए ।
उनको त्यो अभिव्यक्तिको पनि चर्को आलोचना भइरहेको छ । त्यसको आलोचना बढेपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाएका छन् ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनीहरूको सम्पत्ति विवरणमा खासगरी सुन, चाँदी लगायतका गरगहनाबारे सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
आलोचना बढ्दै गएपछि गुरुङले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत यस्तो टिप्पणी गरेका थिए ।
गुरुङले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहिँ गल्ती हुने बताएका थिए ।
‘तिमी जन्मिँदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ गुरुङले इन्स्टाग्रामको स्टोरीमा लेखेका थिए, ‘सरकारमा आउनुअघि विना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’
उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका थिए ।
प्रतिक्रिया 4