+
+
Shares
राष्ट्रिय प्रतिबद्धतापत्र  :

‘आफ्नै भू-उपग्रह बनाउने, डिजीटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गर्ने’

सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा सार्वजिनिक गर्दै आफ्नै भू-उपग्रह हुन र नागरिक एपलाई सुपर एपमा रुपान्तरण गर्ने अवधारणा ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा सार्वजिनिक गर्दै सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रुपमा घोषणा गरेको छ।
  • सरकारले नेपालमै आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसंचार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने योजना प्रस्तुत गरेको छ।
  • सरकारले नागरिक एपलाई सुपर एपमा रुपान्तरण गर्ने, कृत्रिम बौद्धिकता र डिजिटल सिपमा लगानी वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ।

१ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा सार्वजिनिक गर्दै आफ्नै भू-उपग्रह हुन र नागरिक एपलाई सुपर एपमा रुपान्तरण गर्ने अवधारणा ल्याएको छ ।

प्रतिबद्धताको मस्यौदामा उल्लेख भए अनुसार, सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रुपमा घोषणा गरिनुका साथै ‘आईटी प्रवर्द्धन वोर्ड’ गठन गर्ने बताएको छ ।

डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने योजना सरकारको देखिन्छ ।

‘समग्र डिजिटल इकोनोमी निर्माणका लागि सञ्चार तथा सार्वजनिक पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा, साइवर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्चगतिको कनेक्टिभिटीमा प्राथमिकतासाथ लगानी गरिनेछ,’ प्रतिवद्धताको मस्यौदामा उल्लेख छ ।

यसअघि सरकारले सार्वजनि गरेको  १०० बुँदे कार्यसूचीमा साइबर सेक्युरिटीजस्ता महत्वपूर्ण विषय छुटेको भन्दै प्रश्न उठेको थियो ।

सोही कुरालाई अहिले प्रतिबद्धतामा भने उल्लेख गर्न खोजिएको देखिन्छ । यसको लागि सरकारी र सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरु नेपाल मै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गरिने प्रतिबद्धता सरकारको छ ।

आगामी पाँच वर्षभित्र कृत्रिम बौद्धिकता र कम्प्यूटेसन शक्ति निर्यात गर्ने देशको रुपमा नेपाललाई रुपान्तरण गर्ने योजना पनि सरकारको छ ।

नेपालमै डेटा केन्द्र, एआई कम्प्युटिङ्ग र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गरी विश्व अर्थतन्त्रसँग जोड्ने महत्वकांक्षी सपना सरकारले देखाएको छ ।

पछिल्लो समय सूचना–प्रविधि क्षेत्रमा चलिरहेको सेवा निर्यातको बहसलाई पनि सरकारी प्रतिबद्धताले छोएको देखिन्छ ।

विश्वबजारमा नेपालका आईटी कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन ‘फ्रम नेपाल टु द वर्ल्ड अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

‘सबै डिजिटल पूर्वाधारलाई अन्तराष्ट्रियस्तरको रुपमा विकास गरिनेछ,’ सरकारले प्रस्ताव गरेको प्रतिबद्धताको मस्यौदामा उल्लेख गरिएको छ, ‘बहुराष्ट्रिय प्रविधि कम्पनीहरुलाई नेपालमा विकास र नवप्रवर्धन केन्द्र स्थापना गर्न आकर्षित गरिनेछ । सूचना प्रविधि कम्पनीलाई कर सहुलियत प्रदान गरिनेछ । सरकारी डिजिटल परियोजनाहरुमा स्थानीय आईटी कम्पनीहरुको सहभागिता र साझेदारी सुनिधित हुने गरी सार्वजनिक खरिद प्रणालीमा सुधार गरिनेछ ।’

त्यस्तै, भू–उपग्रहका विषयमा पनि सरकारले तयार गरेको प्र्रतिबद्धताको मस्यौदामा लेखिएको छ । यसमा नेपालको आफ्नै भू–उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसंचार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने योजना सरकारको छ ।

विश्वभर चर्चामा रहेको एआई र जेनेरेटिभ एआईमा आधारित स्टार्टअपलाई पनि सरकारले प्राथमिकताका साथ हेर्न खोजेको देखिन्छ ।

यसको लागि ‘सोभरियन लार्ज ल्याङ्वेज मोडल’ विकास गरेर प्रयोगमा ल्याउने प्रस्ताव गरेको छ ।

डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गर्ने योजना पनि सरकारको देखिन्छ । सार्वजनिक मस्यौदा अनुसार, हाल सञ्चालमा रहेको नागरिक एपलाई सुपर एपको रुपमा विकास गरिनेछ । डिजिटल सिपमा लगानी वृद्धि गरिनुका साथै आर्टिफिसियल इन्टेलिजेन्स तथा कन्टेन्ट मोडरेसनसहित डिजिटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गरिनेछ ।

‘कृत्रिम बौद्धिकता, डाटा साइन्स, साइवर सुरक्षा, फिनटेक, बायोटेक र नविकरणीय उर्जा जस्ता उदियमान प्रविधिमा युवालाई दक्ष बनाउन राष्ट्रिय कार्यक्रम सञ्चालन गरिनेछ,’ प्रतिबद्धताको मस्यौदामा उल्लेख छ ।

त्यस्तै, विशेष इन्क्युबेशन केन्द्र स्थापना गरी आईटी पार्कहरुको विकास मार्फत डिजिटल उद्यमशीलता प्रवद्र्धन गर्ने योजना पनि सरकारको देखिन्छ । यसको लागि ‘इन्नोभेसन फन्ड’ स्थापना गरी युवा उद्यमीलाई मेन्टरिङ, लगानी सुरक्षा र सहयोग सुनिश्चित गर्ने बताइएको सरकारी प्रतिबद्धताको मस्यौदामा उल्लेख छ, ‘आविष्कार केन्द्र खोल्ने र आविष्कारहरुको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?