+
+
Shares

भारतीय पासपोर्टमा अध्ययन गरेको खुलेपछि डा. तुषारको लाइसेन्स खारेज

गत ६ चैतमा बसेको काउन्सिलको दर्ता समितिको बैठकले भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि डा.सरवजनाको लाइसेन्स खारेज गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि दर्ता र विशेषज्ञ दुवै लाइसेन्स खारेज गरेको छ।
  • डा. सरवजनाले भारतको पासपोर्ट र नेपाली नागरिकता दुवै रहेको र भारतबाट एमबीबीएस अध्ययन गरेको काउन्सिलले पुष्टि गरेको छ।
  • काउन्सिलले 'भारतीय पासपोर्टबाट अध्ययन गर्नुभएको चिकित्सकलाई दर्ता गर्न नमिल्ने' भन्दै डा. सरवजनाको दर्ता नम्बर खारेज गर्ने निर्णय गरेको छ।

३ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको लाइसेन्स खारेज गरेको छ ।

गत ६ चैतमा बसेको काउन्सिलको दर्ता समितिको बैठकले भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि डा.सरवजनाको लाइसेन्स खारेज गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमारका अनुसार सरवजनाको अस्थायी दर्ता र विशेषज्ञका रूपमा दुवै लाइसेन्स खारेज गरिएको छ ।

काउन्सिलको दर्ता समितिको निर्णयअनुसार, डा. सरवजनाले भारतको राहदानीका आधारमा अध्ययन गरेको देखिएकाले लाइसेन्स खारेज गरिएको देवले बताए ।

‘भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतीय गणराज्यको पासपोर्टबाट फरिजन नेसनलअन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता (तुषार सरवजना नेमेका दर्ता नं. ३५१४२ ) खारेज गर्ने निर्णय भयो,’ काउन्सिलको निर्णयमा भनिएको छ ।

डा. सरवजनाले स्थायी दर्ताका लागि काउन्सिलमा निवेदन दिएका थिए । स्थायी दर्ताका लागि बुझाइएका कागजात अध्ययन गर्दा उनीसँग भारतको पासपोर्ट र नेपाली नागरिकता (वंशज) दुवै रहेको देखिएको थियो ।

त्यसक्रममा काउन्सिलले उनको अध्ययनसम्बन्धी विवरण पनि माग गरेको थियो । सोही क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. सरवजनाले विदेशी नागरिकका रूपमा एमबीबीएस अध्ययन गरेको जानकारी काउन्सिललाई पत्रमार्फत दिएको थियो ।

नागरिकतासम्बन्धी विवरणका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि जानकारी मागिएको थियो । प्राप्त विवरणअनुसार डा. सरवजनाले २०७८ मंसिर २८ गते वंशजका आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिएको छ ।

यस्तै, भारतको राष्ट्रिय चिकित्सा आयोगमा पनि उनको दर्ता नम्बर रहेको पाइएको काउन्सिलले जनाएको छ ।

यी सबै तथ्यहरूको अध्ययनपछि काउन्सिलले डा. सरवजनाको दर्ता नम्बर खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

पत्रमा भनिएको छ, ‘ भारतिय गणराज्यको पासर्पोट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतिय गणराज्यको पासर्पोटबाट अध्ययन गर्नुभएको चिकित्सकलाई काउन्सिलमा दर्ता गर्न निमल्ने हुँदा निजको हालको दर्ता नम्बर खारेज गर्ने निर्णय भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?