अमेरिका, इजरायल र इरानलाई सहभागी नगराइ फ्रान्स र बेलायतले होर्मुज स्ट्रेट पुन: खोल्ने उद्देश्यले ३० भन्दा बढी राष्ट्रहरूको एक शक्तिशाली गठबन्धन निर्माणको प्रयास थालेका छन् ।
शुक्रबार पेरिसमा आयोजित यस विशेष शिखर सम्मेलनमार्फत युरोपेली शक्तिहरूले मध्यपूर्वको युद्धमा आफ्नो प्रभाव देखाउन ‘तेस्रो बाटो’ को प्रस्ताव अघि सारेका छन् ।
छ हप्ताअघि अमेरिका र इजरायलले इरानमाथि गरेको बमबारीसँगै सुरु भएको यो युद्धमा युरोपले आफू कुनै पनि पक्षमा नरहेको स्पष्ट पारेको छ ।
यद्यपि, बढ्दो इन्धनको मूल्य र युक्रेनमा पठाउनुपर्ने सैन्य सहायता युद्धतर्फ मोडिन थालेपछि युरोपले यसको ठूलो आर्थिक र रणनीतिक मूल्य चुकाउनु परिरहेको छ ।
यही कारणले गर्दा पेरिस र लन्डनले एसिया, हिन्द–प्रशान्त, ल्याटिन अमेरिका र अफ्रिकी राष्ट्रहरूलाई समेटेर एउटा साझा र भरपर्दो प्रस्ताव निर्माण गर्न खोजेका हुन् ।
यस सम्मेलनको अतिथि सूचीमा जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीका साथै खाडी र एसियाली मुलुकका नेताहरू समावेश छन् ।
विशेष गरी समुद्री मार्ग र ढुवानीमा प्रत्यक्ष चासो राख्ने चीनलाई पनि निमन्त्रणा पठाइएको छ, तर चीन कुन स्तरमा सहभागी हुनेछ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालय एलिसी प्यालेसका एक अधिकारीका अनुसार यो पहलको मुख्य उद्देश्य युद्धरत प्रमुख पक्षहरूलाई बाहिर राखेर विश्वव्यापी व्यापारिक मार्गलाई सुचारु बनाउन एउटा विकल्प तयार पार्नु हो ।
यो शिखर सम्मेलनको अवधारणा एक महिनाअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको साइप्रस भ्रमणका क्रममा तय गरिएको बताइएको छ ।
अमेरिका र इरानको प्रत्यक्ष टकरावका बीच युरोपले चालेको यो कदमले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण पैदा गर्न सक्ने देखिएको छ ।
प्रतिक्रिया 4