३ वैशाख, काठमाडौं । पाकिस्तानका सेनाका कमान्डर फिल्ड मार्शल असिम मुनीरले बुधबार इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफसँग भेटवार्ता गरेका छन् । मध्यपूर्वको युद्ध रोक्ने मध्यस्थकर्ताको भूमिकामा रहेका मुनीर बिहीबार इरान पुगेका थिए । जहाँ उनले इरानका तर्फबाट शान्ति वार्ता टोलीको नेतृत्व गरेका सभामुख गालिबाफसँग भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
सरकारी टेलिभिजनका अनुसार अमेरिका र इजरायलसँगको युद्ध अन्त्यको लागि थप वार्ता गर्ने विषयमा दबाब दिन मुनीरले इरान भ्रमणमा पुगेका हुन् ।
‘हिजो इरान भ्रमणमा आएका पाकिस्तानी सेनाका प्रमुख मुनिरले इरानी सभामुख गालिबाफसँग भेट र कुराकानी गर्नुभएको छ,’ बिहीबार बिहानको रिपोर्टलाई उद्धृत गर्दै इरानी टेलिभिजनले भनको छ ।
मुनीर प्रतिनिधिमण्डलसँग तेहरानमा भएका अन्य बैठकका विषयवस्तुको बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । इरानी टेलिभिजनले शान्ति योजनाको प्रस्तावलाई अमेरिकाद्वारा पठाइएको सन्देशको रूपमा वर्णन गरेको छ ।
यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा भएको शान्तिवार्ता असफल भएको थियो । पछिल्ला केहीदिन यता दुवै पक्षले फेरि वार्ता हुनसक्ने सम्भावना भने प्रकट गरिरहेका छन् ।
प्रतिक्रिया 4