News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले प्रहरी प्रधान कार्यालय नक्साललाई सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण उपलब्ध गराउन पत्र लेखेको छ।
- सशस्त्र प्रहरीका तीन कर्मचारीले कार्यविधि विपरीत बाह्य व्यक्ति भेट्न र फाराम नपुगेपछि स्पष्टीकरण सोधिएको छ।
- तीन कर्मचारीले डीआईजी बढुवाको विषयमा सिंहदरबारमा बाह्य व्यक्तिसँग छलफल गरेको पाइएको छ।
४ वैशाख, काठमाडौं । दैनिक रुपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालय नक्साललाई सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकले पत्राचार गरेको छ ।
आज शुक्रबार आज शुक्रबार नक्साललाई हल्चोकले पत्र लेख्दै सिंहदरबार प्रवेश गर्ने सशस्त्र प्रहरी कर्मचारीको विवरण उपलब्ध गराइदिन भन्दै पत्र लेखेको हो ।
सशस्त्र प्रहरी कर्मचारीले बाह्य व्यक्ति भेट्नुपरे आन्तरिक कार्यविधि अनिवार्य पालना गर्नुपर्ने नियम छ । तर, केही कर्मचारीले आन्तरिक कार्यविधि विपरीत सिंहदरबार प्रवेश गरी कर्मचारीलगायत अन्य व्यक्ति भेटेको जानकारी पाएपछि हल्चोकले कारबाही प्रक्रिया अघि बढाएको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘बाह्यव्यक्तिसँग भेटघाटका लागि सशस्त्र प्रहरीले कार्यविधि बनाएको छ । तर, कार्यविधि विपरीत बाह्य व्यक्ति भेट्ने गरेको, सिंहदरबारमा कर्मचारी भेट्ने गरेको पाइएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखिएको छ,’ सशस्त्र प्रहरी बल उच्च स्रोतले भन्यो, ‘त्यसरी सिंहदरबार प्रवेश गरी भेटघाटमा सक्रिय सशस्त्र प्रहरी कर्मचारीको पहिचान गरी कारबाही गर्न विवरण पठाउन भनिएको हो ।’
सशस्त्र प्रहरीले कोही बाह्य व्यक्ति भेट्नु परे विवरण खुलाइ भेटको उद्देश्यसमेत जानकारी गराउनुपर्ने व्यवस्था छ ।
तीन सशस्त्र प्रहरीलाई स्पष्टीकरण
कार्यविधि विपरीत सिंहदरबार प्रवेश गरी बाह्य व्यक्ति भेटेको पाइएपछि सशस्त्र प्रहरीलाई स्पष्टीकरणसमेत सोधिएको छ ।
‘कार्यविधि विपरीत सिंहदरबार प्रवेश गर्ने तीन जनामा एसएसपी नेत्र कार्की, एसएसपी राजेश उप्रेती र एसपी हर्कराज पन्त छन्,’ स्रोतले भन्यो, ‘उनीहरूले भेटघाट कार्यविधिअन्तर्गत फाराम नभरेको, अनि सिंहदरबार प्रवेश गरी बाह्य व्यक्ति भेटघाट गरेको पाइएपछि स्पष्टीकरण सोधिएको हो ।
स्रोतका अनुसार एसएसपीबाट डीआईजी बढुवाको विषयमा उनीहरूले सिंहदरबारमा बाह्य व्यक्तिहरूसँग छलफल गरेको पाइएको छ ।
प्रतिक्रिया 4