+
+
Shares

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

आमा र भाइ बिरामी भएर अस्पतालमा

प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १२:३२

५ वैशाख, धनगढी । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो ।

प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ । यद्यपि त्यही कुरा आधिकारिक रूपमा पुष्टि भने गरिसकेको छैन ।

उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याएकाे पाइएको प्रहरीले जनाएको छ । फार्म सञ्चालक मंगल साउँदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?