+
+
Shares

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

गत फागुनको चुनावमा भोट माग्दै सबैजसो नेताले कम्मानेलाई बाचा गरेका थिए, ‘भोट दिनुस्, श्रीमतीको उपचार गरिदिन्छौँ।’ पुरानाले केही नगरेको भन्दै उनले मत फेरेर नयाँ नेतालाई जिताए पनि। तर अहिले कोही गाउँ फर्किएनन् ।

जनक विष्ट जनक विष्ट
२०८३ वैशाख ५ गते १४:४७

५ वैशाख, धनगढी । पिठ्युँमा डोको र टाउकोमा नाम्लो। पसिनाले निथ्रुक्क भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ। टाउकोको नाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार गर्नुपर्ने बाध्यता छ।

यो कुनै फिल्म वा नाटकको दृश्य होइन । बरु एक दम्पतीले बाँचिरहेको बाध्यात्मक जीवनकथा हो। कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका कम्माने दमाई (५०) ले यस्तै पीडामा बाँच्नुपरेको छ।

श्रीमती जमुना दमाई (४५) को मधुमेहले खुट्टा सुन्निएपछि उनलाई डोकोमै बोकेर सडकसम्म र त्यहाँबाट अस्पताल लैजानु कम्मानेको दैनिकी बनेको छ। दुई वर्षअघि मधुमेह रोग पहिचान भएको जमुनाको स्वास्थ्य अवस्था पछिल्लो समय निकै बिग्रिएको छ ।

सुन्निएको खुट्टा, सङ्क्रमण र घाउले जमुनालाई हिँडडुल गर्नै नसक्ने बनाएपछि उपचारका लागि श्रीमान् कम्मानेले उनलाई डोको र नाम्लोको सहारामा पिठ्युँमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो गर्नुपर्ने बाध्यता बनेको छ। मोहन्याल-३ को मुलेकाँणाबाट उनी एक्लै रोगले थला परेकी श्रीमतीलाई बोकेर फल्लेबिसौना पुग्छन्। श्रीमती बोकेर साढे दुई घण्टा हिँडेपछि मात्र उनी फल्लेबिसौना पुग्छन्, जहाँबाट मात्रै गाडी चढ्न पाइन्छ।

खुट्टा सुन्निएपछि हिँडडुल गर्न नसक्ने अवस्था बनेका कारण श्रीमतीलाई डोको र नाम्लोको सहाराले एक्लैले बोक्नुपरेको उनी सुनाउँछन्। ‘बुढीलाई यस्तो अवस्थामा उपचार नगरी छोड्न सकिँदो रहेनछ। उपचारकै लागि डोकोमा बोकेर आफैँ फल्लेबिसौनासम्म लैजान्छु,’ कम्मानेले भने, ‘गाउँका युवा जति सबै विदेश छन्। बुढापाकालाई के दुःख दिनु भनेर एक्लै बोक्ने गरेको छु।’

गाउँमा सहयोग लिनका लागि समेत मान्छे छैनन्। मुलेकाँणामा १५/१६ परिवार बस्छन्। अधिकांश युवा रोजगारीका लागि भारत गएका छन्। गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्, जसले बिरामी बोक्न सक्ने अवस्था छैन। स्वास्थ्य चौकी टाढा छ, स्ट्रेचर भए पनि बोक्ने मान्छेको अभाव छ।

रोग, गरिबी र बाध्यता

मधुमेहका कारण जमुनाको बायाँ खुट्टामा सङ्क्रमण फैलिएको छ। केही समयअघि नेपालगन्जमा उपचार गरिएको थियो। भारतमा ज्याला मजदुरी गर्दै आएका छोराले उतै लगेर घाउको अप्रेसन पनि गराएका थिए। तर, उताबाट फर्किएपछि भने खुट्टाको झन् सुन्निएपछि जमुनालाई समस्या भएको छ।

श्रीमान् कम्मानेले यतै ज्यालादारी गरेर साँझ–बिहानको छाकको जोहो गर्थे। आर्थिक अभावका कारण लामो समयसम्म चाहेर पनि श्रीमतीलाई उपचारका लागि लैजान सकेनन्। मोहन्यालकै स्थानीय सुनिता शाह र कार्यपालिका सदस्य नानी दमाईले जमुनाको उपचारका लागि सहयोग सङ्कलन गर्दै ४० हजारजति रकम उठाएका थिए।

स्थानीय हरियाली सामुदायिक वनका अध्यक्ष धनराज गिरीसमेतको सहयोगमा रकम सङ्कलन भएपछि पहिलोपटक डोकोमा बोकेर कम्मानेले श्रीमती जमुनालाई अस्पतालसम्म पुर्‍याएका थिए। भेरी अस्पताल नेपालगन्ज लगेर उपचार गराउँदा चिकित्सकले मधुमेहकै कारण खुट्टामा समस्या आएको बताउँदै औषधि दिएका छन्।

जमुना अहिले औषधि खाइरहेकी छन्। तर आर्थिक अभावले उपचार निरन्तर गर्न कठिनाइ भइरहेको उनको दुखेसो छ। ‘दुई वर्षदेखि राम्रोसँग हिँड्न सकेकी छैन,’ जमुनाले भनिन्, ‘पैसा नभएकैले सोंचेजस्तो उपचार गर्न सकिरहेकी छैन।’

उनका दुई छोरा र दुई छोरी छन्। जेठो छोराको विवाह भइसकेको छ। उनी परिवारसहित भारततिर छन्। कान्छो छोरा पनि भारतमा काम गर्छन्। आर्थिक सङ्कटले थिचेपछि ६ कक्षा पढ्दै गरेकी छोरी पनि काम खोज्दै दुई महिनाअघि भारत हानिएकी छन्।

‘चुनावमा मत बदले पनि मेरो अवस्था उस्तै’

कम्माने आफ्नै पनि स्वास्थ्य अवस्था कमजोर छ । उनी दैनिक ज्याला मजदुरी (ढुङ्गा बोक्ने, कोदालो खन्ने) जस्ता काम गरेर गुजारा चलाउँदै आएका थिए। तर श्रीमतीको उपचार खर्च धान्न गाह्रो भइरहेको छ। ‘के गर्ने हजुर, मरेर पनि मरिन्न, पालेर पनि पालिन्न,’ पीडा पोख्दै उनले भने।

श्रीमती पिठ्युँमा बोक्दै मुलेकाँणादेखि फल्लेबिसौनासम्मको साढे दुई घण्टाको कष्टपूर्ण यात्रामा उनी दुईवटा कुरा सम्झिन्छन्, पहिलो– चुनावमा गाउँ आएका नेता र दोस्रो– आफूले फेरेको मत।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा मत माग्न प्रायः सबैजसो राजनीतिक दलका नेता र उम्मेदवार गाउँ पुगेका थिए। उनीहरूले दमाईको परिवारलाई भेट्दै आफूलाई मत दिए श्रीमतीको उपचार गराइदिने बाचा गरेका थिए।

तर, चुनाव सकिएपछि पनि कम्मानेको नियति पुरानै छ। चुनाव हारेको त कुरा छाडौँ, जितेका नेता पनि गाउँ नफर्किएको उनी गुनासो गर्छन्। यो चुनावमा सबैले जस्तै आफूले पनि मत फेरेको बताउने कम्माने नयाँ नेतालाई सांसद बनाएर पठाए पनि आफ्नो समस्या हल गर्न पहल नगरिदिएको सुनाउँछन्।

‘चुनावमा भोट माग्न सबै दलका नेता आएका थिए। श्रीमतीको अवस्था देखाएको थिएँ। सबैले मत दिनुहोस् हामी समाधान गर्छौं भन्नुभयो तर फर्केर कसैले हेरेनन्,’ कम्मानेले भने, ‘पुरानाले केही गरेनन् भनेर मत फेरेर नयाँलाई दिएको थिएँ। तर सबै उस्तै रहेछन्।’ यो क्षेत्रबाट रास्वपाका केपी खनालले प्रतिनिधिसभाको चुनाव जितेका छन्।

आर्थिक अभाव र भौगोलिक विकटतालगायतका विभिन्न कठिनाइबीच पनि कम्मानेको एउटै चाहना छ, श्रीमतीलाई जसरी पनि राम्रो उपचार गराएर निको बनाउने।

आवश्यक परेमा फेरि पनि भारत वा नेपालमै राम्रो अस्पतालमा लैजाने तयारीमा उनी छन्। त्यसका लागि भारतमा रहेका छोराछोरीसँग सरसल्लाह गरिरहेको उनी बताउँछन्।

(तस्वीर : पत्रकार टीकाराम साउँद, बौनिया)

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?