+
+
Shares

तनहुँ रतनपुरका किसानले लगाएको तेजपातले पाएन बजार

व्यवसायिक रुपमा तेजपातको खेती गरे पनि त्यसको उपभोग र बजारीकरण कसरी गर्ने भन्ने थाहा नहुँदा मर्कामा परेको किसानहरु बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको भानु नगरपालिका वडा नं. १२ रतनपुरका किसानले ५६ वर्षदेखि तेजपातको खेती गर्दै आएका छन् तर बजार नपाउँदा चिन्तित छन्।
  • डाक्टर विष्णुहरि पण्डितले रतनपुरमा १६ टन तेजपात रहेको र यसको उचित बजारीकरण नहुँदा अन्यौल रहेको बताए ।
  • रतनपुरकी स्थानीय सूर्यकला घर्तीले भनिन्, ‘तेजपात लगाएर कुनै फाइदा यहाँका किसानले लिन सकेका छैनन्, मुख्य कुरा बजारकै समस्या देखियो ।’

६ वैशाख, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १२ रतनपुरका किसानले बारीभरी लगाएको तेजपातले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । विगत ५६ वर्ष अगाडिदेखि तेजपातको खेती गर्दै आएका किसानहरु बजार पाउन नसकेका हुन् ।

व्यवसायिक रुपमा तेजपातको खेती गरे पनि त्यसको उपभोग र बजारीकरण कसरी गर्ने भन्ने थाहा नहुँदा मर्कामा परेको किसानहरु बताउँछन् ।

गाउँघरमा तेजपात रोप्ने अभियान चलाएका डा.विष्णुहरि पण्डितले अहिले रतनपुरमा मात्रै १६ टन जति तेजपात रहेको बताए । ‘सुरुमा तेजपातबाट तेल निकाल्ने भनेर केही प्रयास त गरियो तर सफल हुन सकेन, गाउँमा काम गरिदिने मान्छे पनि भएन,’ पण्डितले भने, ‘यसको उचित बजारीकरण नहुँदा अब के गर्ने भन्ने अन्यौलता रहेको छ ।’

तेजपातको पाउडर बनाउन सके पनि किसानलाई राहत हुने उनी बताउँछन् । हरेकका खेतबारीमा रहेका तेजपात यसै खेर गैरहेको छ । ‘तेजपातको बजार त पक्कै होला, यसको व्यवसायिक प्रयोग गर्ने ठाउँहरु पनि होलान् तर कहाँ कसलाई लगेर बेच्ने, कसले कसरी किन्ने भन्ने अन्यौल रहेको छ,’ रतनपुरका स्थानीय उत्तमप्रकाश पण्डितले भने, ‘गाउँभरीका तेजपातका रुखहरु हुर्किएर ठूलठूला भए, न तेजपात बनाएर बेच्न सकियो न त दालचिनी नै ।’

उनका अनुसार रतनपुरका कयौं रोपनी जग्गामा तेजपात लगाइएको छ । गाउँमा खेती गर्ने जनशक्तिको अभाव भएपछि खेतबारी यसै बाँझो राख्नुभन्दा यहाँका किसानहरुले तेजपातका विरूवा रोपेका थिए ।

‘खेतभरी तेजपात त लगाइयो तर कहाँ लगेर बेच्ने, कसरी बेच्ने भन्ने कुरा थाहा हुनै सकेन, वर्षौंदेखि बारीमा यसै खेर गएको छ,’ रतनपुरकी स्थानीय सूर्यकला घर्तीले भनिन्, ‘तेजपात लगाएर कुनै फाइदा यहाँका किसानले लिन सकेका छैनन्, मुख्य कुरा बजारकै समस्या देखियो ।’

यसको व्यावसायिक खेती हुने उपयुक्त जमिन भनेको समुद्री सतहबाट ५००–६०० मिटर भन्दा माथिलाई मानिन्छ । नेपालमा पनि ६००–७०० मिटरदेखि २०००–२५०० मिटरसम्म पूर्वदेखि पश्चिमसम्मै तेजपातको खेती भएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?