News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट स्वीकृत ५५ आयोजनामध्ये २ मात्रै निर्माणमा गएको देखेर निर्मम समीक्षा गर्नुपर्ने बताएका छन्।
- उनले विदेशी लगानी स्वीकृत परियोजनामा काम नहुनुको दोषी पत्ता लगाउन र कानुन फेर्नुपर्ने अवस्था आएको उल्लेख गरे।
- प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालले परियोजनाको अवस्था दयनीय रहेको र समन्वयमा समस्या छ भनी तत्काल समाधान गर्नुपर्ने बताएका छन्।
८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट ५५ आयोजनाको लगानी स्वीकृत भएकोमा २ वटा मात्रै निर्माणमा गएको विवरण सुन्दै अब निर्मम समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।
‘लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु त लाजैमर्दो भयो,’ अर्थमन्त्री वाग्लेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।
लगानी बोर्ड अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकमा उनले ‘विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै नगर्नु भनेको त निर्मम समीक्षा गर्नुपर्ने भयो’ भने ।
परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी पत्ता लगाउनुपर्ने अर्थमन्त्रीको भनाइ थियो । यसमा व्यक्ति दोषी भए त्यसको खोजी र कानुन दोषी भए फेर्नैपर्ने अवस्था आएको उनले बताए । ‘समस्या के हो, त्यो तुरुन्तै चाहियो,’ उनले भने ।
उनले अब १४औं बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने समेत चेतावनी दिए । लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको समेत उनको भनाइ छ ।
उनले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने समेत बताए । ‘केही फेन्सी आयोजना छन्, त्योबारे सोच्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको टिप्पणी गरे ।
‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन्, तत्काल सम्बोधन गरियोस्, कुन निकाय ? कुन व्यक्ति ? के–के कारण समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ,’ उनले भने ।
सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया 4