News Summary
Generated by OK AI. Editorially reviewed.- थापाथली र गैरीगाउँका सुकुमवासीलाइ सुरक्षाकर्मीको सहयोगमा बल प्रयोग नगरी कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा सारिएको छ।
- काठमाडौं महानगरपालिकाले २३२ जनालाई आश्रममा बसोबासको व्यवस्था गरेको र १३२ जनाले मात्र आइतबार खाना खाएको जनाएको छ।
- सुकुमवासीलाइ नयाँ स्थानमा बस्न समस्या, बालबालिकाको शिक्षा र उपचारको व्यवस्थामा चिन्ता देखिएको छ।
१३ वैशाख, काठमाडौं । थापाथली र गैरीगाउँमा बसोबास गरिरहेका सुकुमवासीलाई सुरक्षाकर्मीले बल प्रयोग नगरी स्थानान्तरण गर्यो । सुरक्षाकर्मीकै सहयोगमा सुकुमवासीले आफ्ना सरसामान सारे । उनीहरू पोका-पन्तुरासहित सरकारले तय गरिदिएको स्थानमा पुगे ।
थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्याइएको थियो ।
आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले तोकेअनुसार ‘फेमली वान, फेमली टु…’ गरी लस्करै राखिएका नेम प्लेटअनुसार उनीहरूले आफ्ना सरसामान छुट्टाछुट्टै राखे । प्रत्येक परिवारको बेडको दूरी कायम हुने गरी ओछ्यान बनाए । महानगरले ल्याइदिएको प्याकेटको खाना खाए । कसैले पेट भरे, कतिपयलाई महानगरको तोकेर ल्याएको खानाले भोक मरेन । नितान्त नयाँ परिवेशको अनुभव सँगाल्दै सुकुमवासीले आश्रममा पहिलो रात बिताए ।

आइतबार बिहान महानगरले चिया र बिस्कुटको व्यवस्था गर्यो । निद्राबाट ब्युँझेकाहरूले चिया-बिस्कुट खाए । निद्रामै रहेकालाई सुरक्षाकर्मीले उठाएन । बाहिर जान चाहनेका लागि नाम र नम्बर टिप्दै सुरक्षाकर्मीले अनुमति दिए । दुई जना आफ्नै घर भएको भन्दै अनुमति लिएर गएको आश्रममा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए ।
परिवर्तित स्थानमा सुकुमवासीको दैनिकी पनि फेरियो । बालबच्चाहरू खेल्न थाले । वृद्धहरू आश्रम परिश्रममा टहलिए । कतिपय फोन कलमा व्यस्त भए । कोही बेडमै सुतेर मोबाइलमा गेम खेल्न थाले । नवजात शिशुका आमाहरूले बच्चाको स्याहारसुसारमा ध्यान दिए । केही परिवारले बस्तीबाटै आफूले पालेका कुकुर सँगै लिएर गएका थिए । उनीहरूले कुकुरलाई सुम्सुम्याउँदै बेडमै बिहानी समय व्यतित गरे ।
आइतबार बिहान ११ बजेसम्म खाना नआएपछि सुकुमवासीहरू आक्रोशित हुन थाले । एक जना युवा घाँटीमा रहेको चोट देखाउँदै सामान्य उपचारको व्यवस्था पनि नभएको भन्दै सुरक्षाकर्मीसँग कड्किए । स्वास्थ्यमकर्मीले उनलाई आश्वस्त पार्ने कोसिस गर्दै भने, ‘उपचारका लागि सामान आउँछ ।’ आफ्नो स्थायी बसोबासको ठेगान नभएका सुकुमवासी एक आपसमा भविष्यको चिन्ता गर्दै थिए ।

सरकारले बस्न दिने स्थान, त्यहाँको संरचना, बालबच्चाको अध्ययन, आफूले गरिरहेको काम लगायतमा उनीहरैले चिन्ता प्रकट गरे । पूर्वी पहाडी जिल्ला घर रहेको बताउने एक महिलाले बच्चाको शिक्षाबारे चिन्ता राखिन् ।
नयाँ शैक्षिक सत्र सुरु हुने क्रममा छ । तर सुकुमवासी क्षेत्रबाट सारिएका परिवारका बच्चाहरू बस्ने स्थानको टुंगो छैन भने पढ्ने स्थान तय हुनु त परको कुरा । ती महिलाले अनलाइनखबरसँग भनिन्, ‘हामी कहाँ बस्ने ठेगान छैन । ५ कक्षामा पढ्ने छोरालाई स्कुल भर्ना गर्नुपर्ने छ । अब नयाँ ठाउँमा के कस्तो हुने हो ?’

सरकारले आफूहरूलाई राख्नका लागि तय गरेको सरकारी निवासबारे केही सुकुमवासी जानकार थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा नागार्जुन नगरपालिकामा निर्माण गरिएको भवनमा सुकुमवासीलाई राख्ने तयारी गरिएको छ । त्यस समय भट्टराई नेतृत्वको सरकारले सुकुमवासी सारेर सरकारी भवनमा राख्न खोजे पनि सम्भव भएको थिएन । थापाथली छोड्न सुकुमवासीहरू तयार भएनन् । अहिले पनि उनीहरू त्यस स्थानमा जान अनिच्छिुक छन् ।
हिजो आश्रम पुगेकामध्ये करिब १०० जना कोठा खोज्ने र आफन्त भेट्ने भन्दै बाहिरिएका छन् । काठमाडौं महानगरका अनुसार २३२ जनालाई हिजो आश्रममा लगिएको थियो । तीमध्ये आज १३२ जनाले मात्रै महानगरले उपलब्ध गराएको खाना खाए । बाँकी आफन्त भेट्ने, कोठा खोज्ने भन्दै विवरण टिपाएर बाहिरिएको महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

२०६३ सालदेखि सुकुमवासी क्षेत्रमा बस्दै आएर शनिबार कीर्तिपुर सारिएकामध्येकी एक निलम थापाले थापाथली नै रोज्नुको कारणबारे भनिन्, ‘काम गरेर खान पाइन्थ्यो । कहीँ जान्छु भन्यो भने गाडी पनि सजिलै पाइने । हस्पिटल पनि नजिक । सबैभन्दा ठूलो कुरा, त्यहाँ बसेर गरिबले काम गरेर खान पाएका थियौं ।’
पूर्वी पहाडी जिल्लाबाट आएर सुकुमवासी बस्तीमा बसेकी अर्की एक महिलाले अरूको घर सफा गरिदिने, कपडा धोइदिने गरेर जीविकोपार्जन गर्दै आएको सुनाइन् । सरकारले लान खोजेको नयाँ ठाउँबारे जिज्ञासा राख्दै उनले भनिन्, ‘त्यहाँबाट काममा आउन गाडी पाइन्छ होला ?’

आइतबार बिहानको खाना नआएको हुँदा सुकुमवासीहरू आफ्नो उमेर मिल्नेहरूसँग गफिँदै थिए । ५-७ जना प्रौढ एकत्रित भएर सरकारले अब लान खोजेको स्थानको बारेमा चर्चा गरिरहेका थिए । उनीहरूमध्ये एक थिए- गोपालबहादुर सुनार ।
उनी थापाथलीस्थित सुकुमवासी बस्तीका अगुवामध्येका एक रहेछन् । उनलाई नागार्जुनस्थित सरकारी भवनमा जान उति रुचि छैन । विगतका सरकारहरूलाई राखेको मागहरू सुनाउँदै उनले अनलाइनखबरसँग भने, ‘किस्तामा सुकुमवासीले तिर्ने गरी काठमाडौं, भक्तपुर र ललितपुरको अलि बाहिरी क्षेत्रमा साढे ३ आना जग्गाको व्यवस्था गरिदेओस् भन्ने हाम्रो माग हो ।’
सरकारले उपलब्ध गराएको जग्गालाई सुकुमवासीले किस्तामा ऋण तिर्ने र आफ्नै तरिकाले घर-टहरा बनाउने सुनार बताउँछन् । उनले आफ्ना कुरा राख्दै गर्दा अर्की प्रौढ महिलाले अझ अघि बढ्दै बाबुराम भट्टराईको समयमा बनेको भवनमा बस्नै नसकिने बताइन् ।
उनले थपिन्, ‘यता ठोक्किन्छ, उता पनि ठोक्किन्छ । कोठामा एउटा खाट पनि अट्न मुस्किल छ ।’ विगतमा सुकुमवासीको वर्गीकरण गरेर कागज दिएको बताउँदै उनले प्रश्न गरिन्, ‘त्यो वर्गीकरण किन गरेको ?’ सरकारले बिरामीको उपचार, सक्नेलाई रोजगारी र बच्चाहरूको शिक्षामा ध्यान दिनुपर्ने उनीहरूको माग थियो ।
मध्याह्न १२ बज्नै लागेको थियो । महानगरले एउटा गाडीमा प्याकेटमा खाना पठायो । सुरक्षाकर्मीले सुकुमवासीलाई लाइनमा बस्न लगाए । बच्चा, युवा, प्रौढ, वृद्धलगायत सबैलाई समान प्रकृतिको प्याकेटको खाना दिइयो । प्याक गरेर ल्याइएको खानामा दुई साइडमा अचार र तरकारी थोरै थोरै राखिएको थियो ।
युवा र प्रौढले महानगरले उपलब्ध गराएको खानामा चित्त बुझाएनन् । प्याकेटको खाना थोरै हुने भन्दै आपत्ति जनाए । केहीले अबेर गरी खाना ल्याएको भन्दै मसिनो स्वरमा आक्रोश पोखे । खानाको मात्राप्रति ठूलो स्वरमा असन्तुष्टि व्यक्त गर्न सक्नेले थप १-२ प्याकेट पनि सँगै लिएर गए ।
महानगरसँग डराउनेहरूले खाना लिएर अलि पर पुगेपछि भने, ‘१२ बजे खाना ल्याएको छ । यति खानाले पुग्छ ?’
त्यसो त शनिबार राति महानगरले आश्रममा पुर्याएकामध्ये आइतबार बिहान खाना खानेको संख्यामा उल्लेख्य कमी थियो । महानगरबाट सार्वजनिक जानकारीअनुसार शनिबार राधास्वामी सत्संग व्यास आश्रममा २३२ जना लगिएको थियो । तीमध्ये आइतबार १३२ जनाले मात्र खाना खाए ।

सुकुमवासीको रेखदेख एवं सुरक्षाका लागि नेपाल प्रहरीबाट तीन जना प्रहरी खटिएका छन् । महानगरका कर्मचारी र नगर प्रहरी गरी ३/३ जना आश्रममा खटिएका छन् ।
आश्रमस्थलमा रहेका महानगरका कर्मचारीका अनुसार यही स्थानमा कति दिन सुकुमवासी राख्ने यकिन भइसकेको छैन । उनले भने, ‘सुकुमवासीलाई लाने ठाउँमा रङरोगनको काम हुँदैछ । सकिएपछि सुकुमवासीलाई सार्ने हो ।’
बच्चाहरूलाई खेल्ने सामग्री र विद्यालय जान नपाएका बच्चाहरूका लागि महानगरकै तर्फबाट आवास भएकै स्थानमा कक्षा सञ्चालन गर्ने गरी तयारीसमेत गरिएको ती कर्मचारीले जानकारी गराए ।

तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4