+
+
Shares

सङ्खुवासभामा कार्यकक्षमै कुटिए प्रधानाध्यापक, २ शिक्षक पक्राउ

भविन कार्की भविन कार्की
२०८३ वैशाख १४ गते १२:३१

१४ वैशाख, सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ ।

घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने क्रममा प्रधानाध्यापक र शिक्षकबीच विवाद उत्पन्न भएको थियो । सोही विवाद उग्र बन्दै जाँदा कार्यकक्षमै हातपात भएको प्रहरीले जनाएको छ ।

विवादका क्रममा निर्णयसहितका कागजात पनि च्यातिएको बताइएको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाई र सचिव टेकबहादुर रायले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ ।

साथै, सम्बन्धित पक्षलाई वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न अपिल गरिएको छ । त्यस्तैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन मादी नगर समिति अध्यक्ष मातृकाप्रसाद दाहाले पनि घटनाको भर्त्सना गरेका छन् ।

बैठक चलिरहेका बेला सुनियोजित ढंगले निर्णय च्यात्ने, प्रधानाध्यापकमाथि हातपात गर्ने, अकल्पनीय, अनैतिक, अमानवीय, गैरजिम्मेवारपूर्ण कार्य तथा ज्यादतीपूर्ण घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

घटनापछि पक्राउ परेका आरोपित शिक्षकहरूलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?