News Summary
Generated by OK AI. Editorially reviewed.- भारतबाट फर्किरहेका दैलेखका रामसिंह थापा र उनकी श्रीमती रेश्मा विष्टलाई सीमावर्ती क्षेत्रमा बेहोस पारेर ४० हजार रुपैयाँ लुटिएको छ।
- तीन जना नेपालीले चिसो पेय पदार्थमा बेहोस हुने पदार्थ मिसाएर रामसिंह थापा परिवारलाई लुटपाट गरेको प्रहरीले जनाएको छ।
- भारतीय प्रहरीसँग समन्वयमा उद्दार गरिएका लुटपाटमा संलग्न तीन जनाको उपचार टीकापुरमा भइरहेको छ र अनुसन्धान जारी छ।
१४ वैशाख, धनगढी । भारतबाट घर फर्किरहेका नेपाली सीमावर्ती क्षेत्रमा लुटिएका छन् ।
बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा र उनकी श्रीमती रेश्मा विष्टसँग रहेको ४० हजार रुपैयाँ भारु लुटपाट भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई सँगै फर्किरहेका तीन जना नेपालीले चिसो पेय पदार्थमा बेहोस हुने पदार्थ खुवाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
रामसिंह र रेश्माको साथमा ६ वर्षीया छोरा प्रवेश पनि सँगै रहेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।
डाँगीका अनुसार बरेलीबाट टीकापुर भएर घर फर्किरहेका उनीहरू सँगै आएका तीन जनाले तिकुनीया पुगेपछि जंगलको छहारीमा बसेर एकै साथ चिसो पेय पदार्थ खाएका थिए ।
तर थापाको परिवारलाई दिएको पेय पदार्थमा बेहोस् हुने पदार्थ मिसाएर लुटपाट भएको उनले बताए ।
भारतीय जंगल क्षेत्रमा नेपाली नागरिक बेहोस रहेको सूचना पाएपछि भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूको उद्दार गरेर टीकापुर ल्याइएको छ ।
अहिले तीनै जनाको टीकापुरमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था भने समान्य रहेको डीएसपी डाँगीले बताए ।
लुटपाटमा संलग्नहरूको भने पहिचान हुन सकेको छैन । उनीहरू लुटपाट गरेर भारततर्फै भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4