News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले सार्वजनिक गरेको स्थितिपत्रले नेपालमा उत्पादनमूलक उद्योगको अवस्था कमजोर रहेको देखाएको छ।
- विगत एक दशकमा उत्पादनमूलक औद्योगिक क्षेत्रको जीडीपीमा योगदान औसत ५.४ प्रतिशतमा सीमित रहेको मन्त्रालयले उल्लेख गरेको छ।
- उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनुमा लगानीको अपर्याप्तता, आयातित कच्चापदार्थमा निर्भरता र उच्च उत्पादन लागत जिम्मेवार छन्।
१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले मुलुकको उत्पादनमूलक उद्योगको अवस्था कमजोर रहेको देखाएको छ ।
मन्त्रालयका अनुसार विगत एक दशकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक औद्योगिक क्षेत्रको योगदान औसत ५.४ प्रतिशतमा सीमित रहेको छ ।
सोही अवधिमा मुलुकको समग्र अर्थतन्त्र औसत ४.२ प्रतिशतले विस्तार भइरहँदा उत्पादनमूलक उद्योगको विस्तार भने औसत २.९ प्रतिशतमात्र भएको तथ्यांकले देखाएको छ ।
देशको औद्योगिकीकरणको अवस्था कमजोर हुनुमा विभिन्न संरचनात्मक समस्या जिम्मेवार रहेको स्थितिपत्रमा उल्लेख छ ।
मुख्यगरी लगानीको अपर्याप्तता, आयातित कच्चापदार्थ माथिको उच्च निर्भरता, नवप्रवर्तन तथा उन्नत प्रविधिको न्यून अवलम्बन र उच्च उत्पादन लागतजस्ता कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन पुगेको मन्त्रालयको निष्कर्ष छ ।
यद्यपि, विद्यमान चुनौतीबीच औद्योगिक विकास र आपूर्ति शृङ्खला, सुदृढीकरण मार्फत निर्यातउन्मुख उत्पादन विस्तार गर्ने प्रशस्त सम्भावना रहेको औँल्याइएको छ ।
विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणका उपाय अवलम्बन गरी उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने अर्थ मन्त्रालयको योजना छ ।
यसका साथै, नेपालको विशिष्ट भौगोलिक अवस्थाको लाभ उठाउँदै मुलुकलाई क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ का रूपमा विकास गर्न सकिने सम्भावना समेत उत्तिकै रहेको स्थितिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4