+
+
Shares

‘त्रिवि क्रिकेट मैदानको विकल्प छैन’

क्यानको कार्यसमितिबाट निर्णय गरेर हामीले सम्बन्धित निकायमा जानकारी गराउने, ध्यानाकर्षण गराउने गरिसक्यौं ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघलाई २५ वर्षे सम्झौता सकिनै लाग्दा त्रिवि क्रिकेट मैदान खाली गर्न पत्र काटेको छ।
  • नेपाल क्रिकेट संघले सम्झौता थप गर्ने पक्षमा छ र दोस्रो चरणको बजेट विनियोजन भइसकेको बताएको छ।
  • क्यानका प्रवक्ता छुम्बी लामाले त्रिवि मैदान नेपाली क्रिकेटको इतिहास र भविष्यका लागि महत्वपूर्ण भएको बताएका छन्।

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र काट्यो । क्यानसँगको २५ वर्षे सम्झौता सकिनै लाग्दा सम्झौता थप नगर्ने भन्दै त्रिविले जग्गा खाली गर्न पत्र काटेको हो ।

यता, क्यान भने त्रिविसँगको सम्झौता थप गर्ने पक्षमा छ । उसले सम्झौता थप गर्न प्रक्रियासमेत अघि बढाएको छ । सरकारले त्रिवि क्रिकेट मैदानका लागि करिब दुई अर्ब जति लगानी गरिसकेको र दोस्रो चरणको बजेटसमेत विनियोजन भइसकेको क्यानको भनाइ छ ।

त्रिविले मैदान खाली गर्न पत्र काटिसकेको अवस्थामा अब क्यान कसरी अगाडि बढ्छ ? कीर्तिपुरबाट क्रिकेट मैदान हट्दा नेपाली क्रिकेटको भविष्य के हुन्छ ? लगायतका विषयमा अनलाइनखबरले क्यानका प्रवक्ता छुम्बी लामा कुराकानी गरेको छ । प्रस्तुत छ, लामाले व्यक्त गरेको विचार :

त्रिवि मैदानमा नेपाली क्रिकेटको लगभग २५ वर्षको इतिहास जोडिएको छ । नेपालमा हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यही मैदानमा हुँदै आएका छन् ।

अहिले नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि पनि त्रिवि मैदानबाटै भएका छन् । तल्लो मुलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता नपाउन्जेलसम्म नेपालमा यही एउटा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान थियो ।

अर्को कुरा, सरकारले त्रिवि क्रिकेट मैदानमा करिब दुई अर्ब रुपैयाँ जति लगानी गरिसकेको छ । अहिले दोस्रो चरणको बजेट पनि विनियोजन भइसकेको छ ।

नेपाल क्रिकेट संघ र त्रिविको २५ वर्ष लामो सम्झौता थियो । त्यो सम्झौता अब एक महिनामा सकिँदै छ । त्रिविले आफ्नो कुरा राख्नु स्वाभाविकै हो । किनकि, यो उहाँहरूकै सम्पत्ति हो । हाम्रो त्यसमा आपत्ति होइन । तर क्रिकेट एउटा इमोसन हो, भावना हो । क्रिकेटले देशलाई जोड्ने काम गरेको छ ।

नेपाल क्रिकेट संघ एउटा क्रिकेटको ‘गभर्निङ बडी’ हो । तर क्रिकेटलाई अगाडि बढाउन सबै सरोकारवालाको साथ चाहिन्छ । त्यसो हुँदा त्रिवि क्रिकेट रंगशालाको विषयमा सरकार, खेलकुद परिषद्, मन्त्रालय, प्रधानमन्त्री सबै सेक्टरबाट सहजीकरण हुनुपर्छ । यो मैदान एउटा इतिहास हो । त्यसले नेपालको नाम संसारमा जोडेको छ ।

त्रिवि क्रिकेट मैदान भन्ने वित्तिकै अन्तर्राष्ट्रिय स्तरमा एउटा म्यासेज जान्छ, गइराखेको छ । त्यो हिसाबले हामीले अब नेपाल क्रिकेट संघ मात्रै भन्दा पनि सम्बन्धित निकायबाट पनि पहलकदमी लिएर अगाडि बढ्नु पर्छ जस्तो लाग्छ ।

क्यानको कार्यसमितिबाट निर्णय गरेर हामीले सम्बन्धित निकायमा जानकारी गराउने, ध्यानाकर्षण गराउने गरिसक्यौं । आवश्यक छलफल पनि अगाडि बढिराखेको नै छ । अब क्रिकेट संघले एउटा सहजीकरणको पहल लिने कुरा भयो । तर, यो माथिल्लो स्तरको कुरा भएकोले सरकारले नै ध्यान दिनुपर्छ ।

त्रिवि पनि नेपाल सरकारअन्तर्गत नै पर्ने भएकोले निकास आउँछ भन्ने हाम्रो बुझाइ हो ।

यही क्रिकेट मैदानबाट सयौं खेलाडी उत्पादन भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छ । घरेलु टिम पनि यहीँबाट सुरु भएको छ ।

यो क्रिकेट मैदान नहुने हो भने नेपालको क्रिकेट धेरै पछाडि धकेलिन्छ । यस्तै अर्को रंगशाला बन्न धेरै समय लाग्छ । त्यसकारण यही क्रिकेट रंगशालालाई निरन्तरता दिनुपर्छ ।

नेपाली क्रिकेटको लागि अहिले भएको त्रिवि मैदान उपयुक्त छ । पिच, आउटफिल्ड, स्ट्रक्चर सबै हिसाबले त्रिवि क्रिकेट मैदानको विकल्प छैन । प्रधानमन्त्री तथा खेलकुद मन्त्रालयबाट त्रिवि मैदानको निरन्तरताका लागि पहल हुनुपर्छ जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?