चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा वृद्धि मार्च महिनामा ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। इरान युद्धका कारण सिर्जित अवरोधका बीच लामो समयदेखि थिचिएको ‘फ्याक्ट्री-गेट’ मूल्यमा आएको सुधारले यस वृद्धिलाई बल पुर्याएको हो ।
राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक २० मिलियन युआनभन्दा बढी राजस्व भएका ठूला औद्योगिक प्रतिष्ठानहरूको कुल नाफा गत महिना १५.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर यताकै तीव्र वृद्धि दर हो ।
यस वर्षको पहिलो त्रैमासिकमा कुल नाफा १.६९६ ट्रिलियन युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो। गत वर्ष पहिलो त्रैमासिकमा नाफा वृद्धि दर केवल ०.८ प्रतिशत मात्रै रहेको थियो।
उद्योगहरूबाट बाहिरिने सामानको मूल्य मापन गर्ने ‘प्रोड्युसर प्राइस इन्डेक्स’ मा तीन वर्षपछि पहिलो पटक मार्चमा सुधार देखिएको छ। अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण विश्वव्यापी रूपमा कमोडिटीको मूल्य बढ्दा चीनका कारखानाहरूले उत्पादन गर्ने सामानको मूल्यमा पनि बढोत्तरी भएको छ।
क्षेत्रगत रूपमा हेर्दा, उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको त्रैमासिक नाफा १९.१ प्रतिशतले बढेको छ भने खानी (माइनिङ) क्षेत्रमा १६.२ प्रतिशतको सुधार आएको छ। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स र सेमिकन्डक्टर उद्योगमा भएको तीव्र विकासले अप्टिकल-फाइबर उत्पादनमा ३३६.८ प्रतिशत र डिस्प्ले-डिभाइस उत्पादनमा ३६.३ प्रतिशतको उछाल ल्याएको छ। यस्तै, कम्प्युटर र सञ्चार उपकरण उत्पादन गर्ने क्षेत्रको नाफा पनि १२० प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
विश्लेषकहरूका अनुसार कम्पनीहरूको नाफा वृद्धि राजस्वको तुलनामा निकै तीव्र हुनुले उनीहरूले आफ्नो कार्यक्षमता बढाएको वा लागत समायोजनबाट फाइदा लिएको सङ्केत गर्दछ। हङकङस्थित पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झाङ झिवेईले भने ऊर्जाको बढ्दो मूल्य र कमजोर वैदेशिक मागले आगामी महिनाहरूमा चीनको निर्यातमा दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया 4