+
+
Shares

कोशी बजेट : ९ महिनामा ११ अर्ब खर्च, ३ महिनाका लागि २१ अर्ब

मन्त्री भन्छन् : 'लक्ष्य अनुसार खर्च हुने सम्भावना छैन'

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते ७:१२

१६ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी हुँदा बजेट खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र महिनासम्म जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ खर्च गरेको हो ।

चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । अर्धवार्षिक समिक्षामार्फत बजेट घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिएको छ ।

संशोधित बजेट अनुमान मध्ये ३१ अर्ब ५८ करोड खर्च हुने अनुमान आर्थिक मामिला तथा योजना मन्त्रालयको थियो । तर, चैत्र महिनाको अन्त्यसम्म ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको हो । अब तीन महिनामा संशोशित बजेट मध्ये २१ अर्ब ४१ करोड २४ बजेट खर्च गर्ने दबाब सरकारमाथि छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु तर्फ ६ अर्ब ८७ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ ४ अर्ब १७ करोड २६ लाख रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय ले १० अर्ब ६५ करोड  बजेटमध्ये २ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ ।

चार अर्ब ६० करोड बजेट भएको खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयले एक अर्ब ५६ करोड खर्च गरेको छ । तीन अर्ब ५८ करोडको बजेट भएको स्वास्थ्य मन्त्रालयले एक अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ ।

राजस्व तर्फ प्रदेश सरकारले चैत्र मसान्तसम्म २२ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतको रकम हो ।

मन्त्री भन्छन् : लक्ष्य अनुसार खर्च हुँदैन

आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङथेप  यो वर्ष अपेक्षा अनुसार खर्च हुने सम्भावना देख्दैनन् । मध्यपूर्वमा देखिएको तनावका कारण निर्माण क्षेत्र प्रभावित भएको बताउँदै उनले अपेक्षा अनुसारको खर्च हुनसक्ने अवस्था नरहेको बताए ।

उनका अनुसार पेट्रोलिय पदार्थको मृल्यवृद्धि र अन्य अत्यावश्यक सामग्री अभावका कारण निर्माणव्यावसायीले काम गरेका छैनन् । ‘मूल्यवृद्धि र अभावका कारण  देखाएर निर्माण व्यावयायीले काम रोकेका छन् । प्रदेश सरकारमा व्यावसायीको डेलिगेशन पनि आएको थियो,’ उनले भने,‘ खर्च त अलेली भइरहेको छ, तर यसपाली लक्ष्य अनुसार खर्च हुने सम्भावना न्यून छ ।’ अवस्था सामान्य भए खर्च बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?