+
+
Shares

तस्वीर र भिडियोमा बार्सिलोनाको ‘मिनी नेपाल’

स्पेनको पर्यटकीय सहर बार्सिलोनाको मुटु  सग्रादा फैमिलिया अगाडि ‘मिनी नेपाल’ केवल देखिएको थिएन–महसुस गरिएको थियो ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८३ वैशाख १६ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनामा नेपाली जनप्रगतिशील मञ्च स्पेनले बार्सिलोना नगरपालिकासँग सहकार्यमा अन्तरसांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
  • कार्यक्रममा नेपाली सांस्कृतिक विविधता, गीत-संगीत र परिकार प्रस्तुत गरिएको थियो जसमा एक हजारभन्दा बढी नेपाली सहभागी थिए।
  • स्पेनका लागि कार्यवाहक राजदूत पूरक अधिकारीले यस्ता कार्यक्रमले नेपाली पहिचान विश्वसामु देखाउने अवसर दिने बताए।

१६ वैशाख, बार्सिलोना । ‘यो कुन देशको संगीत हो ?’ मेट्रोको मुखबाट बाहिर निस्कँदै गर्दा हातमा नक्सा समातेकी फ्रान्सकी पर्यटक क्लेयरको जिज्ञासा यही थियो । उनले छेउमै उभिएका अनलाइनखबरकर्मीसँग प्रश्न गरिन् ।

‘नेपाल,’ जवाफ आयो।

‘नेपाल’ ? हिमाल भएको देश ?’

उनको आँखामा एकाएक चमक थपियो।विश्वप्रसिद्ध चर्च सग्रादा फैमिलियालाई नजिकबाट नियाल्नुअघि नै उनका पाइला छेउकै पार्कतिर मोडिए-जहाँ नेपाली गीत-संगीत गुञ्जिन थालिसकेको थियो । केही बेरमै उनी मञ्चनजिक पुगिन् । त्यही बेला नेपथ्यको गीत घन्किरहेको थियो । तालसँगै उनको टाउको बिस्तारै हल्लिरहेको थियो–अपरिचित संस्कृतिसँग परिचित हुने एक सरल, तर भावुक क्षण । आइतबार स्पेनको पर्यटकीय सहर बार्सिलोनाको मुटु  सग्रादा फैमिलिया अगाडि ‘मिनी नेपाल’ केवल देखिएको थिएन–महसुस गरिएको थियो ।

विदेशीहरूको ध्यान त खिचेकै थियो । केहीबेरका लागि मनभित्रका तनावहरू बिर्सेर नेपालीहरू पनि गीत-संगीतमा रमाइरहेका थिए । तर, त्यो उत्साहको बीचमै अचानक माहोल बदलियो । मञ्चमा एकाएक भावुक दृश्य उभियो ।

यहीँ जन्मिएर हुर्किँदै गरेकी लिदिया भुसालसहित कलाकारहरूको टोलीले –

‘रुन परे म रोउँला, मेरो देश हाँसी रहोस्;

मर्न परे म मरूँला, मेरो देश बाँची रहोस्’

अभिनय, भाव र सन्देशले भरिएको त्यो प्रस्तुतिले सबैको ध्यान खिच्यो । क्षणभरअघि हाँसो र संगीतमा डुबेको भीड एकाएक निस्तब्ध बन्यो । धेरैका आँखामा आँसु झल्किए-परदेशमा उभिएर आफ्नै देशलाई सम्झिने, महसुस गर्ने र त्यससँग भावनात्मक रूपमा जोडिने ती क्षणहरूले नेपालपनलाई अझ गहिरोसँग जोडिदियो ।

करिब ५०० किलोमिटर टाढाको कोस्टाब्लाङ्काबाट यो कार्यक्रमका लागि आएका केशरबहादुर थापा अलि भावुक देखिन्थे । दुई दशकभन्दा लामो विदेश बसाइका बीच देशप्रतिको सम्झना उनको आवाजमै झल्किन्थ्यो ।

उनले भने, ‘तर आज त लाग्यो-घर नै यतै आएको छ।’ नेपाली बालबालिकाहरू विभिन्न जातीय वेषभूषामा देख्दा उनी पनि भावुक थिए । साना साना बच्चाहरूमा नै नेपालीपन देख्दा उनको अनुहारमा सन्तोष र खुसी मिसिएको मुस्कान देखिन्थ्यो । नेपाल समाज एशोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष समेत रहेका थापा भन्छन्, ‘परदेशमा पनि संस्कृतिको डोरी टुटेको छैन, बरु नयाँ पुस्तासँगै बिस्तारै अगाडि बढिरहेको छ ।’

नेपाली जनप्रगतिशील मञ्च स्पेनको पहलमा बार्सिलोना नगरपालिकाको ‘प्ला कमुनितारी’ अन्तर्गत आयोजना गरिएको अन्तरसांस्कृतिक कार्यक्रममा नेपाली समुदायले आफ्नो मौलिकता खुलेर प्रस्तुत गर्‍यो । गुरुङ-मगर पोशाक, नेवारी, क्षेत्री लगायतका वेषभूषा-सबै मिलेर नेपाली सांस्कृतिक विविधताको झल्को प्रस्तुत गरेका थिए ।

इटालीबाट आएका पर्यटक मार्को मञ्चअगाडि लामो समयसम्म उभिए । ‘म संगीत बुझ्दिनँ, भाषा पनि बुझ्दिनँ’, उनले भने, ‘तर यो ऊर्जा सबै ठाउँमा एउटै हुँदो रहेछ ।’ मोबाइलमा भिडियो कैद गर्दै उनले थपे, ‘यो अनुभव मेरो यात्राको सबैभन्दा सम्झनलायक क्षण बन्यो।’

बार्सिलोना निवासी एक स्पेनिश युवती आना नेपाली खानाको स्टलमा रोकिइन् । उनले सेलरोटी हातमा लिइन्, चाखिन्-र मुस्कुराइन् । उनीसँगै छेउमै मम र चटपटे स्वाद लिँदै अन्य विदेशीहरू पनि नेपाललाई स्वादमार्फत अनुभव गरिरहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, स्पेनका लागि कार्यवाहक राजदूत पूरक अधिकारीले भने, ‘हामी जहाँ पुगे पनि हाम्रो पहिचान सँगै जान्छ । यस्ता कार्यक्रमले त्यो पहिचानलाई विश्वसामु देखाउने अवसर दिन्छ ।’

क्याटालोनिया प्रदेशका सांसद एरनेस्तो कारिवनले पनि नेपाली समुदायको प्रशंसा गरे । ‘१८० भन्दा बढी देशका मानिसहरू बसोबास गर्ने कातालोनियामा नेपाली समुदायले देखाएको सांस्कृतिक विविधता प्रेरणादायी छ’, उनले भने, ‘यस्ता कार्यक्रममा सहभागी हुँदा नेपाली प्रतिभाप्रति गर्व लाग्छ ।’

आयोजक नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले विगत एक दशकदेखि प्रत्येक वर्ष दुईपटक बार्सिलोना नगरपालिकासँग सहकार्य गर्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । ‘नेपालको पर्यटन प्रवर्द्धन र पहिचानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं’, उनले भने ।

उनका अनुसार कार्यक्रममा नेपालीहरूको मात्रै एक हजारभन्दा बढीको सहभागिता रहेको थियो । साथै, कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान तथा प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।

    

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?