News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डिसी र तीन सदस्यको कार्यकाल सकिन नपाउँदै सरकारले पदबाट हटाउने तयारी गरेको छ।
१७ वैशाख, काठमाडौं । चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्तिबाट जागिर खाएका अध्यक्ष दिनेशराज डिसीसहित अन्य ३ जना पदाधिकारीको पद धरापमा परेको छ ।
अध्यक्ष दिनेश राज डिसीको कार्यकाल आगामी भदौ १२ गते पूरा हुँदैछ । चैत १२ गते कार्यकाल सकिने सदस्य सन्तोष बाबु लोहनी, आगामी जेठ ३० मा कार्यकाल सकिन लागेका वीरेन्द्र प्रसाद भट्ट र आगामी साउन ७ मा कार्यकाल सकिन लागेका गणेश प्रसाद सुवेदीको कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी सरकारले गरेको हो ।
उनीहरूको नियुक्ति मन्त्री परिषदबाट भएको हो भने कार्यकाल २ वर्षको थियो ।
विगतमा दल, सत्ता र शक्तिसँगको निकटताका आधारमा लाभका पद प्राप्त गरेका करिब १२०० राजनीतिक नियुक्ति बदर गर्ने सरकारको तयारीसँगै चलचित्र विकास बोर्ड पनि त्यसको दायरामा परेको हो ।
यसका लागि सरकारले ‘केही नेपाल ऐन संशोधन अध्यादेश’ मार्फत विषयगत ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
सरकारले अध्यादेशमार्फत एकैपटक विगतका राजनीतिक नियुक्ति बदर गर्ने तयारी गरेसँगै यतिबेला बोर्डसहित विभिन्न निकायमा हलचल सिर्जना भएको छ ।
राजनीतिक, प्रशासनिक तथा बिचौलियासँगको निकटता र आर्थिक प्रभावका आधारमा नियुक्ति लिएका पदाधिकारीहरू अहिले त्रासमा देखिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको बोर्डमा राजनीतिक नियुक्ति पाएकाहरूको विस्तृत विवरण सरकारलाई यसअघि नै बुझाइसकिएको छ।
हाल बोर्डको सञ्चालक समितिमा ७ जना सदस्य रहेका छन् । तीमध्ये अध्यक्ष र तीन सदस्य राजनीतिक नियुक्ति हुन् भने बाँकी सदस्यहरू पदेन सदस्यका रूपमा रहने प्रावधान छ ।
प्रतिक्रिया 4