News Summary
Generated by OK AI. Editorially reviewed.- बल्खु क्षेत्रका स्थानीय बासिन्दाले अनधिकृत संरचना र सुकुमवासी बस्ती हटाउने प्रक्रिया प्रति तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।
- अम्बिका पुरीले पूर्वसूचना नदिई बस्ती हटाउन खोजिएको भन्दै विकल्पको व्यवस्था नगरी सडकमा पुर्याएको आरोप लगाएकी छिन्।
- उनले महानगरपालिकाले कुनै बन्दोबस्त नगरेको र डोजर चलाउँदा धनमालमा क्षति पुगेको बताए।
१८ वैशाख, काठमाडौं । अनधिकृत संरचना र सुकुमवासी बस्ती हटाउने प्रक्रिया अगाडि बढेसँगै बल्खु क्षेत्रका स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बल्खुस्थित सुकुमवासी बस्तीमा सात जनाको परिवारसहित बसोबास गर्दै आएका अम्बिका पुरीले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजिएको भन्दै दुःख व्यक्त गरे । विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पुर्याएको उनको आरोप छ ।
विगतमा निकै मिहिनेत गरेर बसोबासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सुकुमवासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै पुरीले सुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए ।
‘हामीलाई कुनै जानकारी नै दिइएन । जानकारी दिएको भए कम्तीमा आफ्ना सामानहरू सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो, सामानको नोक्सानी हुने थिएन,’ उनले भने, ‘महानगरले केही पनि बन्दोबस्त गरेको छैन, खाली लखेट्ने काम मात्र भइरहेको छ । अब यत्रो परिवार लिएर हामी कहाँ जाने ? हाम्रो गन्तव्य अब सडक नै हुने देखिएको छ ।’
पुरीका अनुसार जानकारीबिना डोजर चलाउँदा स्थानीयको धनमालमा क्षति पुगेको छ । ‘यो काम राम्रो भएन । बस्ती हटाउनु नै थियो भने हामीलाई दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपर्थ्यो,’ उनले भने ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिइए पनि विकल्पहीन विस्थापनले सुकुमवासी परिवारहरूमा अन्योल र त्रास सिर्जना गरेको छ ।
प्रतिक्रिया 4