१८ वैशाख, धनगढी । कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ ।
डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरीले धनगढीको ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए एम एन्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेस्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4