१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार, इरानले परमाणु हतियार प्राप्त गर्नु भनेको सम्पूर्ण विश्वको सुरक्षाका लागि ठूलो खतरा हो र यही कारणले अमेरिका इरानविरुद्ध युद्धमा उत्रिनुपरेको हो।
शनिबार फ्लोरिडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘यदि हामीले यस्तो नगरेको भए, उनीहरूसँग परमाणु हतियार हुने थियो र इजरायल, पश्चिम एसिया र युरोप ध्वस्त हुने थिए। हामी यस्ता मानसिक अवस्था ठिक नभएकाहरूको हातमा परमाणु हतियार पर्न दिन सक्दैनौँ।’
ट्रम्पले अमेरिकाले मध्यपूर्वलाई एक ठूलो परमाणु खतराबाट बचाएको दाबी समेत गरे।
यसै क्रममा ट्रम्पले युद्ध रोक्नका लागि इरानले पठाएको नयाँ प्रस्तावलाई फेरि अस्वीकार गरेको बताएका छन्। यसअघि पनि अप्रिल २६ र २७ मा इरानले पठाएका प्रस्तावहरू ट्रम्पले अस्वीकार गरिसकेका छन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, इरानले आफ्नो नयाँ प्रस्तावमा परमाणु मुद्दाको कुनै उल्लेख गरेको छैन, जसका कारण ट्रम्प असन्तुष्ट छन्। यता इरानको अडान भने होर्मुज स्ट्रेट तुरुन्तै खुलाउनुपर्ने र परमाणु मुद्दामा पछि मात्रै वार्ता गर्ने रहेको छ।
तर, ट्रम्प दुवै कुरा एकैसाथ हुनुपर्ने अडानमा छन्। ट्रम्पले यसअघि नै इरानले वार्ताको टेबुलमा आउनुअघि आफूसँग भएको प्रशोधित युरेनियम सुम्पिनुपर्ने सर्त राखिसकेका छन्।
अमेरिकामै विवाद
ट्रम्पले युद्ध जारी राख्न संसद्को स्वीकृति नचाहिने बताएपछि अमेरिकामा विवाद चर्किएको छ। सन् १९७३ को ‘वार पावर्स’ कानुनअनुसार कुनै पनि राष्ट्रपतिले युद्ध सुरु गरेको ६० दिनभित्र संसद्बाट अनुमति लिनुपर्छ, अन्यथा मे १ सम्ममा सैन्य कारबाही रोक्नुपर्ने हुन्छ। तर ट्रम्प प्रशासनले युद्धविराम लागू भएपछि यो ६० दिने समयसीमाको गणना रोकिएको दाबी गरेको छ।
ट्रम्पले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीका लागि आफूलाई संसद् (कंग्रेस) बाट अनुमति लिन आवश्यक नभएको जिकिर गरेका छन्। उनले यस्तो अनुमतिको माग गर्नेहरूलाई ‘देशभक्त नभएको’ संज्ञा दिए।
ह्वाइट हाउसले अमेरिकी संसद्लाई औपचारिक रूपमा इरानसँगको युद्ध सकिसकेको जानकारी दिएको छ। त्यस क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति रहिरहे पनि त्यसले युद्ध जारी रहेको नजनाउने तर्क ह्वाइट हाउसको छ।
कर नतिर्न अमेरिकाको धम्की
होर्मुज स्ट्रेट पार गर्न इरानलाई पैसा तिर्ने जुनसुकै कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ। त्यो पैसा च्यारिटी (परोपकार) कै नाममा दिइएको भए पनि कारबाही हुने अमेरिकाले स्पष्ट पारेको छ।
होर्मुज स्ट्रेटमा जहाजहरूको आवागमन झन्डै ठप्प भएको छ। पहिले दैनिक करिब १३० जहाज ओहोरदोहोर गर्ने यस मार्गमा अहिले दैनिक १० भन्दा कम जहाज मात्र हिँडिरहेका छन्।
पेन्टागनको आकलनअनुसार अमेरिकी समुद्री नाकाबन्दीका कारण इरानले तेल राजस्वमा करिब ४.८ अर्ब डलर (करिब ४५६ अर्ब भारु) को नोक्सान बेहोरेको छ।
अमेरिकाको सेन्ट्रल कमान्डका कमान्डरले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध सम्भावित आक्रमणका विकल्पहरूबारे विस्तृत जानकारी (ब्रीफिङ) दिएका छन्।
अमेरिकाले पश्चिम एसियाका आफ्ना सहयोगीहरू (इजरायल, कतार, कुवेत, यूएई) लाई ८.६ अर्ब डलर बराबरका हतियार दिने सम्झौता स्वीकृत गरेको छ। यता इरानमा भने राष्ट्रपति र संसद्का सभामुखले विदेशमन्त्री अब्बास अराघचीलाई हटाउने प्रयास गरिरहेको खबर बाहिरिएको छ।
पश्चिम एसियाका अमेरिकी बेसमा भारी क्षति
सीएनएनको अनुसन्धानात्मक रिपोर्टअनुसार, इरानको आक्रमणबाट मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा अभूतपूर्व क्षति पुगेको छ।
इरानले कुवेतको क्याम्प ब्युरिङलगायत ८ देशमा रहेका कम्तीमा १६ वटा अमेरिकी सैन्य अखडाहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ। यसले ५० करोड डलर पर्ने बोइङ ई-३ सेन्ट्री विमानदेखि महत्त्वपूर्ण राडार प्रणालीसम्म नष्ट गरेको छ। (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4