+
+
Shares
नाटक :

सिकल सेल : जब मञ्चमा विद्रोह र विभेद सँगै उभिन्छ

यो नाटक हामीलाई प्रश्न गर्न सिकाउने नाटक हो । हाम्रा अघिल्ला पुस्ताहरूले गरिरहेका कामहरू सधैं ठीक नहुन सक्छन् ।

सापेक्ष सापेक्ष
२०८३ वैशाख २० गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक \'सिकल सेल\'ले तराईका सम्भ्रान्त र भूमिहीन थारू परिवारबीचको सामाजिक असमानता र सिकल सेल रोगको प्रभाव देखाएको छ।
  • सिकल सेल रोगले शरीरलाई असर गर्ने आनुवंशिक समस्या हो र नाटकले यसबाट प्रभावित परिवारको पीडा र समाजको संरचनागत विकृति उजागर गरेको छ।

शासक मानसिकता अवचेतन मनमै गढेपछि के हुन्छ ?

उसले कहिल्यै पनि आफूलाई तल राखेर हेर्न सक्दैन । उ सधैं माथि नै हुन खोज्छ । पिँजडा, शासक मानसिकताको उत्कृष्ट बिम्ब हो ।

उसले त्यो भित्र थुनिएको सुगालाई कहिल्यै पनि स्वतन्त्रता दिँदैन । तर, उसले सुगाको चिरबिरलाई पिँजडाको फलामभित्र थुन्न पनि त सक्दैन । त्यो चरी चिरबिर गर्न सक्छे । त्यसमा चरीको हारगुहार, चित्कार र क्रोध सबै हुन सक्छ ।

तर, त्यो चरी चिरबिर गर्दा प्रमिला उतिरै फर्केर चिच्याउँछे । गाली गर्छे । निमोठ्न खोज्छे । तर, यी सबै गरिरहँदा प्रमिला डराइरहेकी पनि हुन्छे।

के त्यसो भए प्रमिलालाई थाहा छ, त्यो चरी पिँजडाबाट उम्किएर एक दिन उविरुद्ध नै लड्न सक्छे ?

000

बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक -सिकल सेल- को यो एउटा दृश्य हो । प्रमिलाको परिवार तराईको जमिनदार हो । उनीहरू सम्भ्रान्त छन् । उनीहरूको ठूलो बगैंचा छ । बगैंचामा रामविश्वासको परिवारले काम गर्छ । उनीहरू भूमिहीन थारू हुन् । सुकुमवासी हुन्।

हालै मात्र प्रमिलाहरूको बगैंचा चोरी भएको छ । प्रमिला र उनका श्रीमान् विशालध्वजले चोरीको शंका रामविश्वासमाथि गरिरहेका छन् । त्यसैले उनीहरूले रामविश्वासको परिवारलाई त्यही अनुसार व्यवहार पनि गर्न थालेका छन् ।

यता प्रमिला आफ्नो विगतदेखि विक्षिप्त छे । उनले छोरो जन्माउन सकिनन् । छोरो नहुनुको पीडा छ उनमा । तर, रामविश्वासले सिकल सेलले गाह्रो बनाइरहेको रोगी छोरोको उपचारका लागि नगद पैसा माग्दा प्रमिलाले दिन अस्वीकार गर्छिन् । पहिलेको ऋण तिर अनि दिन्छु, भन्ने ओठे जवाफ फर्काउँछिन् ।

रामविश्वासको अघि कठोर, निर्दयी र शक्तिशाली देखिएकी प्रमिला एक्लो हुँदा निकै डराउँछिन् । कतै आफू कमजोर हुने त होइन ? भन्ने उनमा भय देखिन्छ । त्यसैले उनले कागहरूलाई खेदिरहन्छिन् । पिँजडा भित्रको सुगा चिरबिर गर्दा तथानाम गाली गरिरहन्छिन् ।

000

यस नाटकको नामांकन रोगबाट गरिएको छ– सिकल सेल ।

यो एक प्रकारको आनुवंशिक रोग हो । रगतसँग सम्बन्धित यो रोगले शरीरलाई गलाउँछ । दुखाउँछ । अनि नाटक त्यही समाजको दु:खाइको प्रतिबिम्ब हो ।

यो नाटक सिकल सेल प्रभावितको अवस्थालाई सजीव तरिकाले देखाउने गरी लेखिएको छ, बिम्बात्मक रूपमा पनि । र, यो मौलिक नाटक हो । यद्यपि समाजमा सिकल सेलको समस्या भए पनि नाटककार गुणराज पोखरेलले केही आशा देखाएका छन् ।

 

किनकि मालिक र उनीहरूको शोषणबाट विक्षप्त बनिसकेका परिवारहरूका पछिल्ला पुस्ता, कम्तीमा सिकल सेल ठीक होइन भन्ने पक्षमा छन् । उनीहरूमा परिवर्तनको भोक छ । उनीहरूका क्रान्तिकारी सोच छ ।

यो नाटकमा नवपुस्ताको त्यही अलग्गै र अनौठो खालको विद्रोहमार्फत सुधार प्रयासको कथा देखाउन खोजिएको नाटककार पोखरेलको भनाइ छ ।

तर, सिकल सेल हाम्रो समाजमा कति गहिरो गरी गाडिएका छन् भन्ने कुरा नाटकमा मज्जैले देखाइएको छ ।

यो भावनालाई मञ्चमा निर्देशक सुमित भण्डारीले उतारेका हुन् । यो उनको पहिलो निर्देशकीय नाटक हो । तर, करिब १ दशकदेखि नाटकमा रहेकाले हुन सक्छ, नाटक अपरिपक्क देखिँदैन।

मञ्चमा प्रमिलाको परिवार सम्भ्रान्त हुन् भनेर बिम्बात्मक तरिकाले देखाउन सेटको सही सदुपयोग गरिएको छ । प्रमिला र रामविश्वासहरू कहिल्यै पनि एउटै सतहमा बसेर कुरा गर्दैनन् । जहिल्यै पनि प्रमिलाहरू माथि हुन्छन् । रामविश्वासहरू तल । उनीहरूको लुगा, बोल्ने शैली, जीवनमा आइपर्ने समस्या, हाउभाउ, चिन्तन सबै फरक–फरक देखिन्छ ।

अनि जसरी नाटक अघि बढ्दै जान्छ, उनीहरूबीचको दूरि पनि बढ्दै जान्छ । शक्तिशाली व्यक्ति र प्रहरीबाट पनि रामविश्वासहरू थिचोमिचोमा पर्छन्, त्यो विषय पनि नाटकमा देखिन्छ ।

नाटक मुख्यत: महलमा बस्ने सभ्रान्त र गरिबीमा बाँच्नु परेकाहरूको भेदको कथा हो । एउटै क्षेत्रमा बस्ने दुई परिवारको असमानताको कथा हो ।

नाटकमा धेरै उपकथाहरू छन् । दिदीभाइको सम्बन्ध, नवपुस्ताको चेत, अन्धविश्वास, समाजको हेपाहा प्रवृत्ति, प्रहरीको चाप्लुसी, हिरासतको दैनिकी, स्वकल्पना यी यावत् उपकथाहरू नाटकमा ठोक्किन आउँछन् ।

तिनले दर्शकलाई हँसाउने, रुवाउने बनाउँछ । तर, अन्तत: नाटकले देखाउन खोजेको ‘रोग’को सोचमा डुबाउँछन् ।

डेढ घण्टाको यो नाटक हेरिरहँदा कतै केही अभाव भएको महुसस भने हुन्छ । जस्तो, स्पिकरमार्फत प्रयोग गरिएको अडियोले नाटकको कथामा दर्शकलाई बाँधेर राखिराख्न सक्दैन । धेरै नै कृत्रिमता सुनिन्छ ।

जति नाटकको मध्य र अन्त्यमा कथाले मोडहरू लिएका छन्, त्यसको तुलनामा नाटकको सुरुवात निकै सुस्त देखिन्छ । यसमा निर्देशक भण्डारीले काम गर्ने ठाउँ छोडेको देखिन्छ ।

यसैगरी विशालध्वजका केही संवाद जीवन्त भन्दा पनि साउथ इन्डियन फिल्मको शैलीका छन् । प्रमिला र उनीहरूकी छोरी रेनिशाको संवाद तराईमा बस्ने थारू समुदायको लवजसँग नमिलेको महुसस हुन्छ ।

तर, नाटकमार्फत उठाउन खोजिएको मुद्दा र दिन खोजिएको सकारात्मक सन्देशले यी समस्यालाई ओझेलमा पर्छन् ।

रामविश्वास/हेमाकी छोरी मीनाको भूमिका देखिएकी संगीता उराँव र छोरा मुकेशको भूमिकामा देखिएका रविन परियारको अभिनयले नाटकका कमजोरी भुलाउँछ ।

समग्रमा, यो नाटक हामीलाई प्रश्न गर्न सिकाउने नाटक हो । हाम्रा अघिल्ला पुस्ताहरूले गरिरहेका कामहरू सधैं ठीक नहुन सक्छन् । शिक्षा, चेतनाको अभावका कारण उनीहरू फसिरहेका हुन्छन् । यो चेत दिलाउने नाटक हो, सिकल सेल।

नवपुस्ता पहिलेका पुस्ता जस्तो ढोगी हुँदैनन् । उनीहरू परिवर्तनको चाह राख्छन् । यो नाटकको सन्देश पनि यही हो । नत्र त रेनिशा (विशालध्वज र प्रमिलाको छोरी) जेलमा रहेकी हेमालाई भेट्न किन जान्छे ?

दुई मत छैन, सिकल सेल वर्षौंदेखिको सामाजिक संरचनाको उपज हो ।

त्यो दु:ख नाटकमा एक ठाउँमा देखिएको छ । त्यो भन्दा बढी अहिले चेतको आवश्यकता हो । यो पक्ष बलियो छ ।

संयोग हुन सक्छ ! अहिले सरकारले उनै रामविश्वास र हेमाहरू जस्ता सयौं सुकुमवासी बसेको बस्ती हटाइरहेको छ । तर, गलत गरिरहेका, कानुन मिचिरहेका विशालध्वजहरूले उन्मुक्ति पाइरहेका छन् ।

सिकल सेल अहिले पनि हाम्रै वरपर यत्रतत्र छन् ।

 

मञ्चमा

बिशालध्वजः गोविन्द ओली

प्रमिला: बिनिता लामा गुरुङ

रेनिशाः इच्छा सिंह

रामविश्वासः निरज बाबु

हेमा: पूजा सिंह राजबंशी

मीनाः संगीता उराँव

मुकेशः रविन परियार

इन्स्पेक्टरः धनराज सुनार

हवलदारः सुनील तामाङ

प्रहरी जवानः कोहिनूर विश्वकर्मा

साधुरामः संजय मुडियारी (सन्जु)

छोटू : बिष्णु श्रेष्ठ

आइते: पारस तामाङ

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?