News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले पहिलो पटक संयुक्त राष्ट्र संघबाट स्वीकृत 'अन्तर्राष्ट्रिय आरोग्यता दिवस' मनाएर विश्व पर्यटन र कूटनीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ।
- नेपालले 'नेपाल आरोग्यता वर्ष २०२७' घोषणा गरी गुणस्तरीय अनुभव निर्माणमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।
- नेपालले डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात गर्दै अनुभवमा आधारित पर्यटनलाई विश्वकै अग्रणी गन्तव्य बनाउने लक्ष्य राखेको छ।
नेपालको पर्यटन भविष्यलाई नयाँ ढंगले सोच्ने बेला आएको छ । पछिल्ला दुई दशकमा विश्व पर्यटनले ठूलो मोड लिएको छ– पहिलेको ब्रोसर र पोस्टरमा आधारित प्रचारबाट अहिले डाटा, प्रविधि र अनुभवमा आधारित गतिशील प्रणालीमा रूपान्तरण भएको छ ।
नेपाल एउटा सीमित साहसिक गन्तव्यबाट विश्वले चिनेको आध्यात्मिकता र जीवनभरि सम्झिने अनुभवको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । अहिले विश्वले यात्रा गर्ने तरिका, उद्देश्य र गन्तव्य नै पुन: परिभाषित गरिरहेको अवस्थामा नेपाल एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ, जहाँ नवप्रवर्तनलाई आत्मसात् गर्दै आफ्नो मौलिकता जोगाउनुपर्ने चुनौती छ ।
आजको पर्यटक गन्तव्यले मात्र सन्तुष्ट हुँदैन, उसले अनुभव खोज्छ । उसलाई देखाइएको भन्दा व्यतीत क्षण महत्त्वपूर्ण लाग्छ । यही कारण ‘अनुभवमा आधारित पर्यटन’ आधुनिक पर्यटनको केन्द्र बनेको छ । नेपालका जीवित संस्कार, विविध जातीय परम्परा र समुदायमा आधारित पर्यटन मोडेलले यस्तो गहिरो अनुभव दिन सक्छन् । यहाँको यात्रा केवल हेर्ने होइन, महसुस गर्ने हुन्छ ।
भर्खरै पहिलो पटक ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ मनाएर नेपालले विश्व पर्यटन र कूटनीतिक क्षेत्रमा आफ्नो पहिचानलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर पाएको छ । यो दिवस नेपालकै एकल प्रस्तावका रूपमा अघि बढाइएको पहलबाट संयुक्त राष्ट्र संघमार्फत स्वीकृत भएको तथ्यले यसको महत्त्व अझ बढाएको छ ।
सन् २०२६ मार्च १० मा संयुक्त राष्ट्र संघको महासभाबाट पारित यो निर्णयमा छिमेकी राष्ट्रहरू भारत र चीनसहित करिब ४० देशको समर्थन रहनु नेपालका लागि कूटनीतिक सफलता मात्र होइन, विश्वमञ्चमा यसको गरिमामय उपस्थिति स्थापित गर्ने महत्त्वपूर्ण अवसर पनि हो । यसले नेपाललाई केवल आरोग्यता र आध्यात्मिकताको भूमिमात्र होइन, विश्वस्तरमा नीति र अवधारणा अघि सार्ने सक्षम राष्ट्रका रूपमा पनि स्थापित गरेको छ ।
‘नेपाल आरोग्यता वर्ष २०२७’ घोषणासँगै अब हाम्रो ध्यान केवल प्रचारमा सीमित नभई गुणस्तरीय अनुभव निर्माणतर्फ केन्द्रित हुनुपर्छ, जहाँ नेपाल आउने प्रत्येक आगन्तुकले शारीरिक, मानसिक र आत्मिक सन्तुलनको गहिरो अनुभूति गर्न सकुन् । यही दृष्टिकोणले नेपाललाई दिगो र अर्थपूर्ण आरोग्यता गन्तव्यका रूपमा विश्वमाझ स्थापित गर्न मार्गप्रशस्त गर्ने छ ।
‘स्लो ट्राभल’ र ‘रिजेनेरेटिभ टुरिज्म’ ले पनि यात्राको स्वरूप बदलिरहेका छन् । पर्यटकहरू अब हतारमा धेरै ठाउँ पुग्ने होइन, लामो समय बसेर स्थानीय जीवनसँग जोडिन चाहन्छन् । नेपालका ग्रामीण पर्यटन कार्यक्रम, होमस्टे र संरक्षणमा आधारित पदमार्गहरू मार्फत यसलाई सहजै आत्मसात् गर्न सकिन्छ ।
डिजिटल नोम्याडको प्रवृत्ति अर्को अवसर हो । काम र यात्रासँगै गर्ने यो पुस्ताले किफायती, शान्त र प्रेरणादायी गन्तव्य खोज्छ । आवश्यक पूर्वाधार र नीतिगत सहयोग मिलाउन सके नेपाल हिमालयको काखमा बसेर काम गर्नेहरूका लागि आकर्षक केन्द्र बन्न सक्छ ।
यसबीच प्रविधिले पर्यटन प्रवर्द्धनको स्वरूप नै बदलिरहेको छ । एआई र व्यक्तिगत सन्देशमा आधारित मार्केटिङले यात्रुहरूको रुचि अनुसार सामग्री प्रस्तुत गर्न सम्भव बनाएको छ । पर्यटकहरूले आफ्नो रुचि अनुसार सुझाव, अन्तर्क्रियात्मक सामग्री र भावनात्मक कथा खोज्छन्, यात्रा सुरु गर्नुअघि नै ।
नेपालको बलियो पक्ष नयाँ बनाउनु होइन, नयाँ तरिकाले प्रस्तुत गर्नु हो । हिमालदेखि तराईसम्म फैलिएको प्रकृति, शताब्दी पुराना संस्कृति र परम्परा, अनि दैनिक जीवनमै मिसिएको आध्यात्मिकता, यी सबै नेपालका पहिचान हुन् । यहाँ आध्यात्मिकता बेचिने वस्तु होइन, बाँचिने अभ्यास हो ।
साहसिक पर्यटन अझै पनि नेपालको प्रमुख आधार हो, तर अब यसलाई फराकिलो बनाउन आवश्यक छ । केवल हिमाल चढ्नेमात्र होइन, प्रकृतिमा रमाउने, सजिलो साहसिक गतिविधि गर्ने र सबैका लागि समावेशी अनुभव सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्छ । विश्वव्यापीकरणको युगमा प्रामाणिकता दुर्लभ बन्दै गइरहेको छ, र यही नेपालका लागि सबैभन्दा ठूलो ब्रान्ड शक्ति हो ।
प्रवर्द्धनका तरिकामा नयाँ सोच आवश्यक छ । यात्रुहरूको डाटा र व्यवहार विश्लेषण गरेर लक्षित अभियान सञ्चालन गर्न सकिन्छ । फरक बजारका लागि फरक कथा बनाउन सकिन्छ । युरोपका साहसिक पर्यटकका लागि पदयात्रा, पूर्वी एसियाका लागि वेलनेस, यस्ता लक्षित सन्देश प्रभावकारी हुन्छन् ।
कन्टेन्ट क्रिएटर र प्रभावशाली व्यक्तिहरूसँग सहकार्यले नेपाललाई विश्व बजारमा पुर्याउन सक्छ । तर, यहाँ बनावटीपन होइन, वास्तविक अनुभव प्रस्तुत गर्नुपर्छ । भर्चुअल र अग्मेन्टेड रियालिटी मार्फत यात्राअघि नै अनुभव गराउने हो भने आकर्षण झन् बढ्छ ।
पर्यटकले आफैं बनाएको सामग्री तस्बिर, भिडियो, कथा सबैभन्दा विश्वसनीय प्रचार माध्यम बन्न सक्छ । यसलाई व्यवस्थित अभियान मार्फत उपयोग गर्न सकियो भने प्रत्येक पर्यटक आफैंमा दूत बन्छ ।
एयरपोर्ट र विमानभित्र गरिने प्रवर्द्धन पनि प्रभावकारी माध्यम हुन् । यात्रुको निर्णयको समयमा नेपाललाई अनुभव गराउन सकियो भने त्यो प्रत्यक्ष आमन्त्रण जस्तै हुन्छ । साथै, छिमेकी र टाढाका बजारमा लक्षित डिजिटल अभियान सञ्चालन गर्नु अनिवार्य छ ।
डिजिटल दृष्टिकोणबाट हेर्दा अब पर्यटन संस्थाले पूर्णरूपमा डिजिटल–प्रथम रणनीति अपनाउनुपर्छ । सामाजिक सञ्जाललाई संवादको माध्यम बनाउनु, भिडियो मार्फत कथा भन्नु, सर्च इन्जिनमा देखिने उपस्थिति बलियो बनाउनु र निजी तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्नु अत्यावश्यक छ ।
यी वर्षहरूको अनुभवले एउटा कुरा स्पष्ट पारेको छ– पर्यटकलाई देखाइएको भन्दा अनुभूत गराइएको कुरा धेरै प्रभावकारी हुन्छ । स्थानीय मानिसका कथा, साना अनुभव र व्यक्तिगत परिवर्तनले ठूलो प्रभाव पार्छ । महामारीले पनि देखायो कि डिजिटल रूपमा सक्रिय गन्तव्यहरू छिटो पुनर्जीवित हुन्छन् ।
अन्तत: पर्यटन एक्लो क्षेत्र होइन । यसले सरकार, निजी क्षेत्र, समुदाय र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यमा मात्र सफलता पाउँछ ।
अब नेपालले आफूलाई केवल गन्तव्यका रूपमा होइन, रूपान्तरणको यात्राका रूपमा प्रस्तुत गर्नुपर्छ, जहाँ पर्यटकले आफूलाई नयाँ रूपमा भेट्छ । प्रविधि र परम्परा, डाटा र कथा, नवप्रवर्तन र दिगोपनलाई सँगै जोड्न सके नेपालले आफ्नो पहिचान नयाँ उचाइमा पुर्याउन सक्छ ।
स्पष्ट दृष्टि यही हो– नेपाललाई विश्वकै अग्रणी ‘जीवनभरि सम्झिने अनुभवको गन्तव्य’ बनाउने । जहाँ प्रत्येक यात्रा व्यक्तिगत, अर्थपूर्ण र अविस्मरणीय हुन्छ ।
आगामी दशक ती गन्तव्यको हुनेछ जसले मौलिकता र नवप्रवर्तनबीच सन्तुलन मिलाउन सक्छन् । नेपालसँग अद्वितीय सम्पदा र बढ्दो डिजिटल क्षमता दुवै छन् । त्यसैले अब नेपाल प्रतिस्पर्धा गर्ने मात्र होइन, नेतृत्व गर्ने स्थितिमा छ ।
प्रतिक्रिया 4