+
+
Shares

आमा भएर बोकी हेर सन्तानका पीरहरू

आफ्नो सन्तानका कारण जतिसुकै कठिनाइहरू आउन्, एक आमा निर्दयी बन्न सक्दिनन् । यही नियती विमलाको जीवनमा आइलागेको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख २३ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विमला श्रेष्ठले दुबईमा अन्तरजातीय विवाह गरी इलाममा बस्दै गर्भावस्थामा पिसाब संक्रमणपछि साढे ६ महिनामा शल्यक्रिया मार्फत छोरा जन्माइन्।
  • छोरा मोतिबिन्दु र रेटिनाको समस्याका कारण आँखा नदेख्ने, कान कम सुन्ने र शारीरिक विकासमा समस्या भएको पत्ता लाग्यो।
  • श्रीमानको नशालु व्यवहार र आर्थिक अभावबीच विमलाले छोराको हेरचाह गर्दै पार्ट टाइम काम गरेर जीवन गुजार्दै छिन्।

घरमा दुःखको चाङ थियो । अभावै अभावमा दिनहरू कठिन बन्दै गएपछि विमला श्रेष्ठले घर छाडिन् । अनि श्रम भिसा च्यापेर दुबई पुगिन् । त्यहीँ रहँदा उनको एक युवकसँग प्रेम बस्यो र अन्तरजातीय विवाह भयो । परिवार र समाजका अनेक प्रश्न, असहजता र आशंकाबीच उनले आफ्नो जीवनको निर्णय गरिन् । विवाहपछि उनी श्रीमानसँग इलाम पुगिन् र त्यहीं बसेर आफ्नो जीवनको नयाँ अध्याय सुरु गरिन् ।

ज्याला मजदुरी गरेर चार जनाको परिवार जेनतेन चल्दै थयो । उनी गर्भवती भइन् ।

गर्भावस्थाको छैटौं महिनामा अचानक पिसाब संक्रमण भयो । पिसाब पोल्नुको साथै पिसाबमा रगत देखिएपछि स्वास्थ्य चौकी पुगिन् ।

स्वास्थ्य चौकीमा पिसाब जाँचपछि संक्रमण पुष्टि भयो र औषधि दिइयो । तर त्यही राति गर्भको पानी फुट्यो र अनियन्त्रित रूपमा बग्न थाल्यो । अर्कोदिन उनी इलाम अस्पताल पुगिन्, अल्ट्रासाउन्डका लागि । इलाम अस्पतालमा उक्त सुविधा नभएपछि उनी झापाको मनमोहन सामुदायिक अस्पताल पुगिन् । त्यहाँ अल्ट्रासाउन्डबाट गर्भमा पानी नभएको पुष्टि भयो । संक्रमणले बच्चामा समेत असर गर्ने भएकाले शल्यक्रिया गर्नुपर्ने भयो ।

बच्चाको फोक्सो पूर्णविकसित नभएकाले सुई दिएर विकास गराइयो र २४ घण्टाभित्र डेलिभरी गर्नुपर्ने भयो । २४ घण्टाभित्र डेलिभरी गर्नुपर्ने भएपछि विमलाले श्रीमान्लाई फोन गरेर अस्पतालमा बोलाइन् ।

श्रीमान् आएपछि उनको शल्यक्रिया भयो । साढे ६ महिनामै शल्यक्रिया मार्फत बिमलाले छोरालाई जन्म दिइन् । छोरा प्रिम्याच्योर जन्मियो, जसको तौल अपेक्षितभन्दा कम थियो । बच्चालाई केही दिन एनआईसीयूमा राखियो । जन्मेको १० दिनपछि घर ल्याइयो । बच्चा सामान्य देखिन्थ्यो चलमलाउने, कराउने र आँखा खोल्ने । डाक्टरले चिसो मौसमलाई ध्यानमा राखेर तेल मालिस नगर्न र भिटामिन डी तथा नाकका ड्रपहरू प्रयोग गर्न सल्लाह दिए ।

बच्चामा समस्या नै समस्या 

घर पुगेको केही दिनपछि विमलाले बच्चाको आँखामा सेतो भाग देखिन्, जसलाई सासूले ‘जालो’ भनेर सामान्य मानिन् । तर यो समस्या बढ्दै गयो । दुई महिनापछि बिमला माइती इचंगु नारायण पुगिन्, तर लकडाउनले गर्दा फर्किन सकिनन् । तीन महिनापछि उनकी दिदी नाता पर्ने बच्चालाई राम्ररी नियालिन । बच्चाले आँखा फर्काउने र बोलाउँदा प्रतिक्रिया नदिने देखेर अस्पताल जान सल्लाह दिइन् ।

दिदीको सल्लाह अनुसार विमला त्रिवि शिक्षण अस्पताल पुगिन् । त्यहाँ जाँच गर्दा मोतिबिन्दुको शंका गरियो । डाक्टरले आँखाको शल्यक्रिया सिफारिस गरे । ८ महिनाको हुँदा पहिलो र एघार महिनामा दोस्रो शल्यक्रिया‍ भयो । शल्यक्रियापछि सेतो पर्दा हट्यो, तर आँखाको नानी नै विकसित नभएको पत्ता लाग्यो । डाक्टरले रेटिनाको समस्या भएको बताए र बच्चाले कहिल्यै देख्न नसक्ने घोषणा गरे । औषधि राख्ने र थप उपचार गर्नुनपर्ने सल्लाह दिए ।

यो खबरले विमला हतास भइन् । ‘देख्नै नसक्ने बच्चाको भविष्य कस्तो होला ?’ उनले कल्पना गरिन् । तर सत्य स्वीकारी बच्चाको हेरचाह गर्नुको विकल्प थिएन । पहिले बच्चाले आँखानजिक हात लगिरहन्थ्यो तर अप्रेसनपछि आँखामा हात लैजान छाड्यो । ५-६ महिनापछि दाहिने आँखा एक्कासी फुल्यो र ठूलो भयो ।

लकडाउनका कारण अस्पताल जान ढिलो भयो । पछि अस्पताल पुगेर जाँच गर्दा संक्रमण पुष्टि भयो, जुन मस्तिष्कसम्म पुग्न सक्ने खतरा थियो । एन्टिबायोटिक दिएपछि आँखा सुन्निने समस्या कम भयो, तर आँखा सामान्य भन्दा सानो भयो । आँखाको संक्रमणको उपचारको क्रममा उनको छोराको कानको जाँच पनि गरियो । छोराले आँखा नदेख्ने मात्र हैन कान पनि एकदमै कम सुन्ने कुरा थाहा भयो । यो कुरा सुनेर विमला झन् निरास भइन् । १० दिन अस्पातलको बसाइपछि घर फर्किन् ।

छोराले आँखा नदेख्ने, कान नसुन्ने र बोल्न नसक्ने समस्या त थियो नै त्यसमाथि शारीरिक विकास अन्य बच्चाको जस्तो भएन । दुई वर्ष हुँदा पनि बच्चा बस्न सक्दैनथ्यो । बिमलाले सिरकले बेरेर बसाउने कोसिस गरिन्, तर सफल भएनन् ।

थप प्रयास

दुई वर्षको उमेरमा अरू बच्चा ठमठम हिँड्न । तर उनका छोरा बस्न पनि सक्दैनथे । यो समस्या बोकेर उनी फेरि अस्पताल पुगिन् । चिकित्सकले फिजियोथेरापी गर्ने सल्लाह दिए ।

अनि विमलाले फिजियोथेरापी गराउन सुरु गरिन् । १५–२० दिनपछि बच्चा हात टेकेर बस्न थाल्यो । निरन्तर प्रयासपछि साढे दुई वर्षमा आफैं बस्न सिक्यो, तर उठ्न सक्दैनथ्यो । थेरापीले मुभमेन्ट सुधार्‍यो । अहिले बच्चा बस्दा लड्दैन र यताउता घुम्न सक्छ । तर हिँड्न सक्दैन ।

विमलाका छोराले आँखा देख्दैनन्, कान राम्ररी सुन्दैनन्, बोल्न सक्दैनन् र हिँडडुल गर्न पनि सक्दैनन् । सञ्चारमा निकै कठिन छ । ठूलो आवाजमा गीत बजाउँदा मात्र प्रतिक्रिया दिन्छ ।

विमलाले समय मिलाएर बनाएर खाना, खाजा र दिसा–पिसाबको व्यवस्था गर्छिन् । बच्चाले व्यक्त गर्दैन, तर बिमलाले अनुमान गरेर हेरचाह गर्छिन् । चपाउने र निल्नेमा पनि समस्या थियो, तर अहिले सुधारिएको छ ।

पारिवारिक कलह

बच्चाको स्वास्थ्य समस्या बढ्दै जाँदा पारिवारमा कलह सुरु भयो । विमलाको श्रीमान् पहिले अलिअलि रक्सी खान्थे, तर बच्चाको समस्या बढ्दै जाँदा उनी नशामा डुब्न थाले । रक्सी र गाँजाको लत लाग्यो । बिहान उठ्नेबित्तिकै रक्सी खोज्थे । काम गर्न छाडे । घरमा पैसा अभाव भयो ।
विमलाले बच्चा र श्रीमान् दुवैको हेरचाह गर्नुपर्‍यो । श्रीमानले रिसमा बच्चालाई पनि हान्ने प्रयास गरे, जुन पछि विमला डराइन् ।

बच्चाको अवस्था र श्रीमानको व्यवहारका कारण निकै गाह्रो भइरहेको थियो । पूरा समय बच्चाको हेरचाहका लागि दिनुपर्ने भएकोले विमला आफैं काम गर्न जाने अवस्था थिएन । घरभाडा तिर्न र खानका लागि समस्या हुन थाल्यो ।

यो अवस्था देखेर घरबेटीले दया देखाए– भाडा लिएनन्, विमलाले घरको काममा सहयोग गर्न थालिन् । काम गरेबापत बरू थोरै पैसा पनि दिन थाले।

घरबेढी निकै वृद्धवृद्धा थिए । विमलाले उनीहरूको हेरचाहका साथै घरको काममा सहयोग गरिन् । तर श्रीमानको व्यवहार झन् खराब भयो । कुटपिट गर्ने, पैसा माग्ने र धम्की दिने । जति गर्दा पनि नसुध्रिएपछि श्रीमानलाई छोडेर माइत गएर बस्न थालिन् ।

श्रीमान् इलाम फर्किए । श्रीमती र छोराको कुनै वास्ता राखेनन् । सासुससुराले पनि विमलाको र उनको छोराको अनुहार हेर्न समेत चाहेनन् ।

दुःखका पहाड छिचोल्दै

अहिले छोरा ६ वर्षको भएको छ । उनलाई विशेष स्कुलमा हालिएको छ । स्कुलमा शारीरिक र मानसिक विकासमा फोकस गरिन्छ । विमला आफैं बच्चालाई लिएर जान्छिन् र ल्याउँछिन् । पहिले बच्चा स्कुलमा रुन्थ्यो, तर अहिले अभ्यस्त छ । बिमला छोराको स्कुल नजिकै केही घण्टा पार्ट टाइम काम गर्छिन् ।

त्यसबाट आउने थोरै पैसाले जसोतसो गुजारा चलिरहेको छ । माइतीमा आश्रय पाए पनि थप आर्थिक बोझ पारिदिन मन छैन उनलाई ।

‘मम्मी, बुबा र दाइ छन्, उनीहरूको पनि आफ्नै परिवार छ त्यसैले धेरै दु:ख दिन मिल्दैन’ विमला भन्छिन्, ‘घरमा ३–४ हजार दिन्छु ।’

बच्चा सँगै हुन पाए सजिलो हुन्थ्यो भनेर उनले छोराको स्कुलमै काम मिलाउने कोसिस गरिरहेकी छिन् ।

‘बच्चाको भविष्य अलि सहज बनाउन सकिन्छ भन्ने आशा छ’ उनी भावुक हुँदै भन्छिन्, ‘सरकारले केही व्यवस्था गर्दिए पनि मैले काम गर्न पाउँथे ।’

छोरा अलिअलि हिँड्न खोजिरहेको छ, थेरापी जारी छ ।

आफ्नो सन्तानका कारण जतिसुकै कठिनाइहरू आउन्, एक आमा निर्दयी बन्न सक्दिनन् । यही नियती विमलाको जीवनमा आइलागेको छ । आफ्नो मातृत्व र दृढ संकल्पले उनी पीडाहरूलाई पन्छाइरहेकी छिन् ।

उनी आशावादी छिन्– पक्कै एक दिन आफ्नो छोराको पनि राम्रा दिन आउँछ भनेर ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?