News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र म्याद गुज्रिएको दही बिक्री गरेको 'हाम्रो खाजा घर'लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- अनुगमन टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेनागृहमा म्याद गुज्रिएको दही बिक्री भइरहेको पत्ता लगाएको विभागले जनाएको छ।
- विभागले दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई अनुसन्धानको दायरामा ल्याएर तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र बिलसहित उपस्थित हुन निर्देशन दिएको छ।
२३ वैशाख, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री गरिरहेको फेला परेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक बजार अनुगमन क्रममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’ नामक चमेनागृहलाई तत्कालै २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।
विभागमा प्राप्त उजुरीका आधारमा खटिएको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–११ स्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेनागृह अनुगमन गर्दा उक्त कैफियत फेला पारेको हो।
अनुगमन क्रममा चमेनागृहले बिक्रीका लागि राखेको दहीको उपभोग्य मिति समाप्त भइसकेको पाइएपछि तत्काल कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर गरेको ठहर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार जरिबाना गर्ने निर्णय गरेको बताएको छ ।
विभागले खुद्रा विक्रेतालाई मात्र नभई म्याद गुज्रिएको दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ ।
विभागले उक्त डेरी सञ्चालकलाई तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र दही बिक्री गरेको बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रतिक्रिया 4