News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वभर छरिएका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन 'पहिलो पाइला एजुकेसन' नामक डिजिटल स्कुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
- संस्थापक मधु न्यौपानेले विश्वस्तरीय पाठ्यक्रम र आधुनिक सिकाइ पद्धतिमा आधारित डिजिटल स्कुलमा नेपाली, सामाजिक, विज्ञान र गणित विषय नेपाली भाषामा सिकाउने योजना रहेको बताए।
- अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडर बनाएर डिजिटल एप चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको र यसले विश्वभरका नेपालीभाषी अभिभावकलाई सहयोग पुग्ने बताइएको छ।
२४ वैशाख, काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउनुका साथै विश्वभर नेपाली भाषा प्रवद्र्धन गर्ने उद्देश्यका ‘पहिलो पाइला एजुकेसन’ नामक डिजिटल स्कुलको परिकल्पना गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।
यसका संस्थापक मधु न्यौपानेको परिकल्पना, शिक्षा सेवामा लामो अनुभव र लामो समयदेखिको तयारीसहित सञ्चालनमा आउन लागेको उक्त संस्थाले आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री केकी अधिकारीलाई अनुबन्धित गरेको छ ।
विश्वस्तरीय पाठ्यक्रम निर्माण गरी आधुनिक सिकाइ पद्धतिमा आधारित रहेर बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन यो डिजिटल स्कुलको परिकल्पना गरिएको न्यौपानेले उल्लेख गरे।
यस डिजिटल स्कुलमा नेपाली, सामाजिक, विज्ञान र गणित विषयलाई नेपाली भाषामा नै सिकाउने तयारी गरिएको छ ।
यस संस्थाको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित भइसकेपछि अभिनेत्री केकी अधिकारीले खुसी व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘पहिलो पाइला एजुकेसनले नानीबाबुहरूलाई खेल्दाखेल्दै संस्कार, संस्कृतिसँगै विज्ञान, गणित र सामाजिक विषयलाई नेपाली भाषामा आधुनिक सिकाइ पद्धतिअनुसार सिकाउनका लागि डिजिटल एप चाँडै नै सार्वजनिक गर्दै छ ।’
उनका अनुसार यो डिजिटल स्कुल सञ्चालनमा आएपछि विश्वभर रहेका नेपालीभाषी अभिभावकहरूका लागि आफ्ना नानीबाबुहरूलाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउन ठूलो सहयोग पुग्ने छ । विशेष गरेर बालबालिकासँग जोडिएको विषय भएकाले आफू निक्कै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया 4