+
+
Shares

बच्चाको मुन्द्रा चोर्ने महिला : अमेरिकाकी ती डोरिस, स्याङ्जाकी यी अम्बिका

जसरी डोरिस कुनै हिंसा नगरी धनाढ्य महिलाको आवरणमा गहना किन्ने बाहना चोरी गर्थिन्, ठिक त्यस्तै शैलीमा कुनै हिंसा नगरी ममीको साथी भन्दै बच्चाहरू फकाएर जुस खुवाउँदै कानको मुन्द्रा थुत्ने गर्छिन् अम्बिका ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ वैशाख २५ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोरिस पेनले सन् १९३० देखि ६ दशकसम्म अमेरिका, जापान, बेलायत र फ्रान्समा हिंसा नगरी गहना चोरी गरेकी थिइन्।
  • स्याङ्जाकी अम्बिका पुलामी पुनले बच्चाहरूलाई फकाएर कानको मुन्द्रा चोरी गर्ने १८ मुद्दामा दोषी ठहर भइ ९५ वर्षकी डोरिस पेनसँग तुलना गरिएकी छिन्।
  • अम्बिका पुलामी पुनलाई कास्की प्रहरीले १७ वैशाखमा कानको मुन्द्रा चोरी आरोपमा पक्राउ गरी हिरासतमा राखेको छ।

२५ वैशाख, काठमाडौं । एक समय यस्तो थियो– डोरिस पेन नामकी अमेरिकी महिला ज्वेलरी पसलमा छिरेपछि पक्कै केही न केही सामान गायब भयो भन्दै पसले प्रहरीकहाँ निवेदन दिन पुग्थे । अनि, खोजी हुन्थ्यो डोरिस पेनको ।

डोरिस अनेक रूप परिवर्तन गरी ज्वेलर्स छिरिन् । ३२ उपनाम, ९ पासपोर्ट तथा फरक जन्म मिति, १० सामाजिक सुरक्षा नम्बरहरू प्रयोग गरिन् ।

सन् १९३० मा अमेरिकाको गरिब परिवारमा जन्मिएकी डोरिसले सानै उमेरदेखि ज्वेलरी (गरगहना) चोरीलाई आफ्नो पेसा बनाइन् । करिब ६ दशकसम्म उनले चोरीको दुनियाँमा एकछत्र राज गरिन् ।

उनको चोर्ने शैली अनौठो थियो । कुनै धाकधम्की नदिई, हिंसा नगरी, धनाढ्य महिलाको रूपमा गहना पसल छिरेर सामान गायब पार्थिन् । अमेरिका मात्रै होइन, जापान, बेलायत, फ्रान्स जस्ता देशहरूमा चोरिन् उनले ।

सन् १९७० मा डोरिस फ्रान्सको निकबाट तत्कालीन मूल्यअनुसार ५ लाख डलर बराबरको हिराको औंठी चोरेको आरोपमा पक्राउ परेकी थिइन् । तर त्यो हिराको औंठी कहिल्यै फेला परेन । पछिल्लो समय उनी चोरी आरोपमा पक्राउ परे पनि त्यो सामान भने प्रहरीले बरामद गर्न सक्दैनथ्यो ।

उनी चोरी आरोपमा पटक–पटक पक्राउ पर्दै जेल जाने क्रम लामो समयसम्म चल्यो । यतिसम्म कि, ८६ वर्षको उमेरमा समेत उनी चोरीको कसुरमा पक्राउ परेकी थिइन् । त्यसपछि उनलाई ‘द ग्रान्डमदर अफ थिफ’ समेत भन्न थालिएको थियो ।

पछिल्लो पटक उनी सन् २०१७ मा वालमार्टमा चोरीको आरोपमा पक्राउ परेकी थिइन् । उमेरका कारण उनलाई जेलमा नराखी पेरोलमा राखियो । अहिले ९५ वर्षको उमेरमा उनी स्वतन्त्र जीवन बिताइरहेकी छिन् ।

चोरीमा कहलिएकी डोरिसको जीवनमा आधारित डकुमेन्ट्री ‘द लाइफ एन्ड क्राइम अफ डोरिस पेन’ समेत बनेको थियो ।

गरगहना मात्रै चोरेर कहलिएकी डोरिसकै शैलीसँग स्याङ्जाकी अम्बिका पुलामी पुनको शैली मिल्दोजुल्दो देखिन्छ ।

अम्बिका पुलामी पुन

जसरी डोरिस कुनै हिंसा नगरी धनाढ्य महिलाको आवरणमा गहना किन्ने बाहना चोरी गर्थिन्, ठिक त्यस्तै शैलीमा कुनै हिंसा नगरी ममीको साथी भन्दै बच्चाहरू फकाएर जुस खुवाउँदै कानको मुन्द्रा थुत्ने गर्छिन् अम्बिका ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकी अम्बिका डोरिसकै जस्तो पहिलो हिरासत वा जेल यात्रा होइन । उनीविरुद्ध यस्ता चोरीका १८ मुद्दा चलेका मात्रै छैनन्, ती १८ मुद्दामा उनी दोषी ठहरसमेत भएकी थिइन् ।

तर, त्यति हुँदा पनि उनको चेत खुलेको छैन । अहिले फेरि उस्तै शैलीमा बच्चाहरूको कानको मुन्द्रा चोरी आरोपमा उनी हिरासतमा पुगेकी छिन् ।

६ वैशाख दिउँसो ४:५५ बजे पोखराको हेम्जा रामचोकबाट ६ वर्षकी बालिकाको कानको २ थान मुन्द्रा गायब भयो । करिब १ लाख मूल्य बराबरको मुन्द्रा गायब भएपछि परिवारले प्रहरीमा जाहेरी दिए ।

घटनास्थलको सीसी क्यामेरा फुटेज हेर्दा ग२५प ३५८४ नम्बरको पहँलो रङको स्कुटर देखियो । रेनकोर्ट लगाएर आएकी महिलाले बच्चालाई स्कुटरमा राखेर लगिन् । जुस खुवाइन्, त्यसपछि बच्चाको मुन्द्रा गायब ।

स्कुटर शंकास्पद देखिएपछि अनुसन्धान गर्दा ‘ए वन मोटरबाइक रेन्टल एन्ड टुर्स’ पसलबाट १ वैशाखमा भाडामा लगेको देखियो । भाडामा स्कुटर लाने महिला थिइन्– अहिले हिरासतमा रहेकी अम्बिका ।

स्याङ्जाको चापाकोट नगरपालिका–३ घर भई पोखरा रामबजार बस्ने २५ वर्षीया अम्बिकालाई जिल्ला प्रहरी कार्यालय कास्कीले १७ वैशाखमा पोखराकै महेन्द्रपुलबाट पक्राउ गर्‍यो । उनीमाथि अनुसन्धान गर्दा खुल्यो– तिम्रो ममीको साथी हुँ भन्ने । बच्चाहरूलाई माया गर्ने । आइसक्रिम, जुस खुवाउने अनि कानको मुन्द्रा थुत्ने ।

त्यसो त जसरी गहना गराएको खबर आएपछि प्रहरीले डोरिसको खोजी गर्थ्यो त्यस्तैगरी बच्चाका मुन्द्रा हराएयो भन्ने बित्तिकै नेपाल प्रहरीले खोजी सूचीको पहिलो नम्बरमै राख्यो अम्बिकालाई ।

‘मुन्द्रा चोरी घटनामा उनी कहिलिएकी पात्र हुन् । मुन्द्राको केस आउने बित्तिकै उनी प्रहरीको राडरमा आउने व्यक्ति हुन्,’ कास्की प्रहरीका प्रवक्ता (डीएसपी) हरि बस्नेत भन्छन् ।

मुन्द्रा लगाएका बालबालिका कतै एक्लै देख्ने बित्तिकै अम्बिकाको निसानामा परिहाल्छन् । उनीहरूलाई कसरी फकाउने र कानको मुन्द्रा थुत्ने काममा अम्बिका पोख्त भइसकेकी छिन् ।

पछिल्लो १० वर्षदेखि चोरीको दुनियाँमा छिरेकी उनी यस्तै चोरीका १८ वटा घटनामा दोषी ठहर भइसकेको डीएसपी बस्नेत बताउँछन् ।

पटक–पटक चोरी गर्दै आएकी अम्बिकालाई २२ असार २०७८ मा कास्की जिल्ला अदालतले विभिन्न १८ वटा चोरी तथा लुटपाटको कसुरमा दोषी ठहर गरको थियो । ११ वटा चोरीको कसुरमा उनलाई २ वर्ष कैद र २० हजार ८०० जरिबाना तोकिएको थियो ।

बाँकी ७ वटा मुद्दामा भने ६ महिनादेखि डेढ वर्षसम्म कैद र ५ हजार २०० देखि १० हजार ४०० सम्म जरिबानाको फैसला भएको थियो । अहिले फेरि अम्बिका बच्चाको मुन्द्रा चोरीमा समातिएकी छिन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?