+
+
Shares

टेन्टमा उकुसमुकुस सुकुमवासी : तत्काललाई ठिक, भविष्य अनिश्चित

अपार्टमेन्टमा लैजाने सरकारको कुरा सुकुमवासीलाई मन्जुर छैन । उनीहरूको प्रश्न छ, ‘त्यहाँ गएर के खाने ? के काम गर्ने ? ओत लागेर बस्नु मात्र जीवन हो ? हामीले देशमा एक टुक्रा जमिन पनि नपाउनु ?’

कौशल काफ्ले सापेक्ष कौशल काफ्ले, सापेक्ष
२०८३ वैशाख २६ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुमवासीलाई प्रहरीले प्रवेश अनुमति नदिँदा उनीहरूको अवस्था र त्रास बाहिर आएका छन्।
  • सुकुमवासीलगायत १९२ जनालाई राखिएको होल्डिङ सेन्टरमा ४१ विद्यार्थीलाई जनविकास माध्यमिक विद्यालयमा पढाइँ भइरहेको छ।
  • संघ सरकारले सुकुमवासी पहिचानको स्क्रिनिङ गरिरहेकोले होल्डिङ सेन्टरबाट सार्ने निर्णय अझै आएको छैन।

२५ वैशाख, काठमाडौं । केका लागि आउनु भएको ?, पास छ तपाईंहरूसँग ?

रिपोर्टिङका लागि कीर्तिपुरस्थित होल्डिङ सेन्टरको गेट नपुग्दै प्रहरीले रोक्यो । परिचय र उद्देश्य बताउँदा पनि प्रहरीले हामीलाई होल्डिङ सेन्टर छिर्न दिएनन् । कारण– मिडियालाई होल्डिङ सेन्टरमा छिर्ने अनुमति थिएन ।

त्यहाँ नेपाल प्रहरीसँगै काठमाडौं महानगरपालिकाका दुई जना नगर प्रहरीसमेत थिए । उनीहरूले पनि नेपाल प्रहरीकै कुरा दोहोर्‍याए ।

‘भित्र जान हामीले के गर्नु पर्छ ?’

हाम्रो प्रश्नपछि एक प्रहरीले माथिको आदेश लिएर आउन सुझाए । त्यही बीचमा दुई जना सुकुमवासी महिला होल्डिङ सेन्टर भित्रबाट गेटमा आइपुगे ।

दही किन्न हिँडेका उनीहरूलाई पनि सुरक्षाकर्मीले केरकार गरे । प्रहरी ती सुकुमवासीसँग ‘दही भनेर जाँड लिन जान लागेको होला’ भन्दै अपमानजनक शैलीमा प्रस्तुत भए । प्रहरीको रुखो वचनलाई बेवास्ता गर्दै उनीहरूले दही बिना खाना नरुच्ने बताए ।

तीमध्ये सम्झना तामाङ हामीसँग कुरा गर्न सहमत भइन् । तर फोटो खिच्न भने मानिनन् । मिडियाले उल्टोउल्टो हालिदिएर धेरै गाली खाएको उनको भनाइ थियो । उनीहरूलाई सत्ता र मिडिया दुवैसँग त्रास रहेको कुराकानीबाट बुझ्न सकिन्थ्यो ।

‘हाम्रा कुरा लिएर जान्छन्, अनि सबै सुकुमवासी खुसी छन् भनेर हालिदिन्छन् । त्यसैले हामी रिसाएका हौँ,’ सम्झनासँगै रहेकी एक साथीले अनकनाउँदै भनिन्, ‘नत्र आफ्ना दु:ख पोख्न कसलाई मन हुँदैन ?’

अलि खुलेर कुरा गरेकी सम्झनाले भने होल्डिङ सेन्टर आएको दुई हप्ता बितिसकेको बताउँदै आफू बसिरहेको सरकारी टेन्टलाई ‘छाप्रे घर’को संज्ञा दिइन् । खानाको व्यवस्था ठिक भए पनि बस्न धेरै अत्यास लागिरहेको सुनाइन् ।

‘बालबालिकाको दिमाग एकातिर, अरूको अर्कैतिर छ । मैले उसलाई हेरेर हाँस्ने, उसले मलाई हेरेर हाँस्ने अवस्था भएको छ,’ उनले सुनाइन् ।

त्यसैले यहाँ धेरै बस्दा अहिले ठिकठाक रहेको मान्छे पनि बेठिक हुने डर उनमा देखिन्छ । आफूलाई सरकारले टाउको लुकाउने ठाउँ दिएर सन्तानको भविष्य सुनिश्चित गरिदिए पुग्ने उनको भनाइ थियो ।

यहीबीचमा नाम टिपेर केरकार गरिरहेका प्रहरीले सम्झनालाई भने, ‘तपाईं मनोचिकित्सककहाँ जानुस् ।’

‘नाइँ, जाँदिन म,’ सम्झना बोलिन् ।

प्रहरीले थप प्रेरित गर्दै भन्यो, ‘तपाईं झुन्डिएर मर्छु भन्नुहुन्छ । अनि हामीलाई डर लाग्दैन त ? अहिले मनोपरामर्शका लागि मान्छे पनि आएका छन् । त्यहाँ जानुस् ।’

‘रुन मन लाग्दैन र सर ? यत्रो सबै गइसक्यो । चिन्ता लागिहाल्छ नि !,’ सम्झना तर्किइन् ।

सम्झना र प्रहरीबीच सवाल–जवाफ चल्दै थियो । भित्रबाट गेटमा अन्य मान्छेहरू आए । उनीहरू पनि बाहिर जान खोजिरहेका थिए । तर बाहिर निस्कनुअघि नाम टिपाउनु अनिवार्य थियो । प्रहरीले उनीहरूको नाम, समय, फोन नम्बर, घर नम्बर टिपिरहेका थिए ।

यसरी बाहिर आएका सुकुमवासीले आक्कल–झुक्कल हामीसँग बोल्दा आफ्नो अत्यास पोखिरहे पनि भित्र जान हामीलाई दिइएको थिएन । प्रवेश गर्न प्रहरीले हामीसँग ‘माथिको आदेश’ मागिरहेका थिए । बरु प्रहरीले नै गेटमा बसेर भित्रको अवस्थाबारे बताइरहेका थिए– मानौं, भित्र सबै ठिक छ ।

तर, करिब आधा घण्टा कुरेर हामी होल्डिङ सेन्टर छिर्दा गेटमा गरिएको ब्रिफिङ र भित्रको अवस्था फरक थियो ।

०००

होल्डिङ सेन्टर छिर्ने ढोकामै ६६ वर्षीया सीता नेपाली भेटिइन् । बर्कोले अनुहार छोपिरहेकी उनी घाम ताप्न बाहिर निस्केकी थिइन् ।

कुराकानी गर्न राजी भएपछि उनले हामीलाई आफ्नो कथा सारमा सुनाइन् ।

वर्षौंअघि सर्लाही जिल्लाबाट उनको परिवार काठमाडौं आएको थियो । त्यसपछि धेरै ठाउँमा बस्दै/सर्दै गरिरहेको अवस्थामा २० वर्षअघि उनीहरू गैरीगाउँ पुगेका थिए । त्यहाँ टहरा बनाएर बस्न थाले ।

तीन जनामध्ये दुई छोरीले त्यहीँ विवाह गरे । श्रीमान्को अकालमा मृत्यु भयो । त्यसपछि कान्छी छोरीसहित उनी गैरीगाउँमा बस्दै आइरहेकी थिइन् । त्यहाँ हुँदा उनी घरेलु काम गर्थिन् ।

अहिले होल्डिङ सेन्टरमा पनि उनी कान्छी छोरी र कान्छी छोरीका तीन जना छोराछोरीसहित छन् । गैरीगाउँको बस्तीमा डोजर चलेपछि बाहिर नै बस्न भनेर उनीहरूले कोठा खोजेका थिए ।

तर, सुकुमवासी भएकाले कसैले कोठा दिएनन् । त्यसपछि उनले केही सामान बेचिदिइन् । ओड्ने, ओछ्याउने, लत्ता कपडा र केही फर्निचर लिएर होल्डिङ सेन्टरमा शरण लिन आइन् ।

गैरीगाउँमा हुँदा पनि सीतालाई सुख थिएन । हरेक वर्ष बाढीले टहरा डुबाउँथ्यो । जसोतसो दु:ख गरेर अडिएका थिए । सरकारले डोजर चलाएर अन्योल थपिदिएको चिन्ता उनमा छ ।

‘मर्ने बेलामा यहाँबाट घिस्रिएर कहाँ पुगिने हो !,’ उनले सुस्केरा हालिन्, ‘आफूसँग केही नभएर त यहाँ आएका हौं । हेरौं के हुने हो ?’

होल्डिङ सेन्टरको आफ्नै रुटिन छ ।

७ देखि साढे ७ सम्म चिया, १० बजेदेखि साढे १० बजेसम्म बिहानको खाना, २ बजेदेखि साढे साढे २ बजेसम्म चिया र ६ बजेदेखि साढे ६ बजेसम्म बेलुकाको खाना ।

दिउँसो २ बज्नै लाग्दा ५२ वर्षीय अनिता राई भेटिइन् । उनी श्रीमान् चम्बरबहादुर राईसँग छिन् । उनीहरू थापाथालीमा रहेको सुकुमवासी बस्तीबाट आएका हुन् । पुर्ख्यौली थलो खोटाङ भएका राई दम्पती रोजगारीको सिलसिलामा ४० को दशकतिर काठमाडौं आएका थिए । उनीहरू दुवैले ज्यामी काम गरेर घर चलाइरहेका थिए । पसिना बगाए तापनि सधैं खान–बस्नकै अभाव भइरह्यो । त्यसपछि उनका श्रीमान् चम्बर कुवेत गए ।

त्यस समयसम्म यो दम्पती थापाथलीको खाली बस्तीमा सरिसकेको थियो । नजिक पर्ने मान्छेले बस्तीमा जग्गा खाली रहेको भनेपछि उनीहरू यहाँ सरेका थिए । त्यसपछि चम्बरले विदेशमा कमाएको पैसाले टिनले छाएर एक तलाको पक्की घर बनाए । त्यो घर डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला तत्कालीन सरकारले भत्काइदिएको अनिताले सुनाइन् ।

त्यो घर भत्केपछि उनीहरूले फेरि नयाँ घर बनाएनन् । रक्तचापले हानेपछि चम्बर पनि नेपाल फर्किए । र, सामान्य टहरामै बस्न थाले । अहिले बालेन सरकारले बस्तीमा जे गर्‍यो, यसले त उनीहरू झन् बिचल्लीमा परे ।

अहिलेसम्म सरकारले ‘के गर्ने?’ भनेर केही नभनेकाले तनाव बढ्दै गइरहेको राई दम्पतीले सुनाए ।

‘यत्रो दिन भइसक्यो । अब कता जाने, के गर्ने केही भन्दैनन्,’ चम्बरले सुनाए, ‘प्रेसरको बिरामी छु । अन्योल मात्र पो छ हौ ।’

यही क्रममा राजकुमार माझी भेटिए । नियमित कामको लागि उनी शंखमुल हिँड्ने तर्खरमा थिए ।

उनी पनि थापाथलीबाट होल्डिङ सेन्टर पुर्‍याइएका हुन् । रोजिरोटीका लागि पेन्टिङको काम गर्ने राजकुमार दिनभरि अरूका घर रंग्याउँथे, बेलुका आफ्नो टहरा फर्किन्थे । त्यसअघि ४३ वर्षीय माझी कोठा भाडामा लिएर बस्थे । विस्तारै बिहे भयो, बच्चा भए, खर्च बढ्यो, कोठा भाडा तिर्न सकेनन् ।

कुनै विकल्प नदेखेपछि घरबारविहीन उनी थापाथलीको खोला किनारको बस्तीमा आएर बसे । ‘हस्पिटलमा बच्चा मरेपछि गाड्ने ठाउँ थियो त्यो । त्यस्तो ठाउँमा आएर बस्ने रहर कसैलाई पनि हुँदैन । तर जग्गा–जमिन केही नभएपछि यस्तै त हो,’ उनी भक्कानिए ।

थापाथलीलाई उनले विस्तारै आफ्नो बनाउन थाले । जति कमाए त्यहीँ लगानी गरे । सानो घर बनाउँदा ऋण पनि लिए । तर एकाएक सरकारले त्यही घरमा डोजर चलायो । एकातिर घरको ऋण सकिएको छैन, अर्कोतर्फ सामान्य टहरा पनि छैन । सरकारले अब कता लान्छ निश्चित छैन ।

‘कि सरकारले मेरो ऋण तिरिदिनुपर्‍यो । नत्र काम पाउने ठाउँमा व्यवस्थापन गरिदिनुपर्‍यो,’ उनले अनलाइनखबरसँग भने ।

अपार्टमेन्टमा लैजाने सरकारको कुरा उनलाई मन्जुर छैन । ‘त्यहाँ गएर के खाने ? के गर्ने ? ओत लागेर बस्नु मात्र जीवन हो ? मैले यही देशमा एउटा सानो टुक्रा जमिन पनि नपाउनु ?,’ उनीसँग प्रश्नका फेहरिस्त छन् ।

गीता लामा पनि अहिले कीर्तिपुरको होल्डिङ सेन्टरमा छिन् । तत्काललाई छाना पाएकी उनलाई भोलिको निश्चितता भने छैन ।

बस्ती भत्काउनुअघि नै थापाथलीमा भटिएकी उनले त्यतिखेरै भविष्यको अनिश्चिताबारे कुरा गरेकी थिइन् ।  भोलिको चिन्ता पोखेकी थिइन् । उनले नचाहँदा–नचाहँदै पनि बस्ती भत्कियो । बस्ती भत्किएदेखि नै निरन्तर पानी परिरहेकै छ । गीतासँग हिसाब छ– १३ दिन भयो, पानी परिरहेकै छ ।

घर भत्किँदा उनले सामान निकाल्नसमेत पाइनन् । सरकारले एकदिने सूचनाको भरमा बस्तीमा डोजर पठाउँदा उनको सामान भिजेर नष्ट भएको थियो ।

गीतालाई भविष्यको चिन्ता छ । ‘हामी त माउविनाका चल्ला जस्ता भयौँ । यहाँ कहिलेसम्म राख्छ, के गर्छ, केही भेउ छैन,’ उनले भनिन्, ‘त्यो सानो कोठाको अपार्टमेन्टमा त नजाने ।’

सर्लाहीमा सबै बाढीले बगाएपछि सुकुमवासी बस्ती आइपुगेको गीताको परिवार २०औँ वर्षदेखि थापाथलीमा बसोबास थाल्यो । गीताले गलैँचा बुनिन्, ज्यामी काम गरिन् र खोला किनारमै सानो परिवार टिकाइरहिन् । त्यसले उनलाई सरकारले कतै लगेर राखिदिने र खान दिने कुरा मात्र ठूलो होइन ।

‘म ज्यामी काम गरेर हिँड्ने मान्छे हो । मलाई त बजार र काम पाउने ठाउँमा हुनुपर्छ । एउटा छोरी छ, नाति छ, उनीहरूलाई पढाउनु छ । पेट भरेर त भएन नि ! सरकारले यति बुझ्नुपर्दैन ?,’ उनले प्रश्न गरिन् ।

सरकारले कतै न कतै जग्गाको टुक्रा दिनुपर्ने आफ्नो माग रहेको उनी बताउँछिन् ।

विद्यालय जान्छन् विद्यार्थी, तर कहिलेसम्म ?

हाल विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ । राधास्वामी सतसंगमा राखिएका ४१ विद्यार्थीलाई त्यहाँ पढाउने वातावरण मिलाइएको हो ।

बल्खु वडा नम्बर १४ मा पर्ने उक्त विद्यालयमा सुकुमवासी विद्यार्थीलाई पठनपाठनको वातावरण मिलाउन थालिएको काठमाडौं महानगरले जनाएको छ । होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार, हालसम्म ४१ जना विद्यार्थीको नाम पठनपाठनको लागि संकलन गरिएको छ ।

यसमध्ये स्कुल ड्रेसको नापजाँच पनि लिन थालिएको छ, जसको लागि अहिलेसम्म ३५ जना विद्यार्थीको ड्रेसको नापो लिइसकिएको छ । पठनपाठनबाट विद्यार्थी वञ्चित नहुन् भनेर तत्कालको लागि यो व्यवस्था गरिएको महानगरले जनाएको छ ।

उक्त होल्डिङ सेन्टरमा हालसम्म १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।

सुकुमवासीले होल्डिङ सेन्टरमा कहिलेसम्म रहनुपर्ने हो निश्चित छैन । महनगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार संघ सरकारले स्क्रिनिङदेखि सुकुमवासी पहिचानमा काम गरिरहेकोले त्यो नसकिउन्जेल होल्डिङ सेन्टरबाट अन्यत्र सारिने छैन ।

यसबारे महानगर नै अनिश्चिततामा देखिन्छ । ‘कहिलेसम्म त्यहीँ रहने भन्ने चाहिँ हामीलाई थाहा छैन । पछिल्लो समय खाने र बस्ने व्यवस्था सबै सत्संगैले गरिरहेको छ,’ जोशीले भने, ‘संघ सरकारले स्क्रिनिङको काम गरिरहेको छ । कहिले निर्देशन आउँछ हामीलाई नै थाहा छैन । उताबाट निर्देशन आएपछि मात्र यताबाट उठाउने कुरा होला ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?