+
+
Shares
विचार :

‘ट्रयाड वाइफ’ हुने कि आत्मनिर्भर महिला/पुरुष?

समाजमा जतिसुकै लैङ्गिक भूमिका परिवर्तन भयो वा हुनुपर्छ भनेर वकालत चलिरहे पनि केही युवाहरू आफ्नो ‘पुरुषत्व’ सम्बन्धी परम्परागत पहिचानतर्फ नै फर्कन थालेको देखिन्छ।

अमृता लम्साल अमृता लम्साल
२०८३ वैशाख २७ गते १०:१६
Photo Credit : AI Generated

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किङ्स ग्लोबल इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार जेनजी पुस्ताका ३१ प्रतिशत पुरुषहरूले महिलाहरू पारम्परिक भूमिकामै रहनुपर्ने सोच राखेका छन्।
  • सर्वेक्षणले देखाएको छ कि २४ प्रतिशत जेनजी पुरुषहरूले महिलाहरू धेरै स्वतन्त्र नहुनुपर्ने र २१ प्रतिशतले यौनसम्बन्धमा महिलाले अग्रसर नहुनुपर्ने सोच राखेका छन्।
  • ट्रयाड वाइफ मुभमेन्ट सन् २०१० पछि सुरु भई कोभिड महामारीमा फैलिएको र सामाजिक सञ्जालमार्फत परम्परागत पत्नीको भूमिका प्रचारप्रसार भइरहेको छ।

गत मार्च २०२६ को पहिलो हप्ता, किङ्स कलेज लन्डनको किङ्स ग्लोबल इन्स्टिच्युट फर विमेन लिडरसिपबाट प्रकाशित एउटा रिपोर्ट पढेर आश्चर्य लाग्यो। उक्त रिपोर्टअनुसार जेनजी पुस्ता (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका युवा, विशेषगरी पुरुष) हरूको विवाहसम्बन्धी सोच, बेबी बुमर पुस्ता (सन् १९४६ देखि सन् १९६४ सम्म जन्मिएका) को भन्दा दोब्बर सङ्कुचित रहेछ।

रिपोर्टले भनेको छ- जेनजी पुस्ताका युवाहरू ‘महिलाहरू घरमै बसेर पारम्परिक पत्नीको भूमिका निर्वाह गर्नुपर्दछ र पतिको आज्ञा मानेर परिवारको अभिभारा लिनुपर्दछ’ भन्ने सोचतिर बढिरहेका रहेछन्।

अन्तर्राष्ट्रिय नारी दिवसको समय पारेर ग्रेट ब्रिटेन, युएसए, ब्राजिल, अस्ट्रेलिया र भारतलगायतका २९ देशका २३ हजार जेनजीहरूसँग गरिएको उक्त सर्वेक्षणमा ३१ प्रतिशत युवाहरूले महिलाहरू पारम्परिक भूमिकामै रहनयोग्य भएको बताएछन्। यो भनेको, हरेक तीनमध्ये दुई जनाले पत्नीको भूमिका पारम्परिक नै चाहने रहेछन्। जबकि, बेबी बुमर पुस्ताका मानिसहरूमध्ये १३ प्रतिशतले मात्रै त्यस्तो सोच राख्ने रहेछन्।

जर्मनीस्थित संस्था इप्सोस पब्लिक एफेयर्सका डाइरेक्टर तथा म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीका भिजिटिङ प्रोफेसर रोबर्ट ग्रिमको विचारमा, डिजिटल इकोसिस्टमले बढाएको महिला र पुरुषबिचको ध्रुवीकरण र अल्गोरिदममार्फत हुने द्रुत सन्देश प्रवाहको कारणले गर्दा पनि त्यस्तो सोचलाई बल पुर्‍याइरहेको हुन सक्छ।

डिडब्लु डट कम नामक पोर्टलमा ‘वन इन थ्री जेनजी मेन वान्ट ओबिडियन्ट वुमन’ (तीनमध्ये एक जेनजी पुरुष आज्ञाकारी महिला चाहन्छन्) शीर्षकमा लेखिएको छ, ‘मस्कुलिनिटी इन्फ्लुएन्सर र फेमिनिस्टहरूको काउन्टर मुभमेन्टलाई सोसल मिडियाले यति व्यापक बनाइदिएको छ कि युवा पुरुषहरूलाई आफूभन्दा धेरै कमाउने र स्वतन्त्र रूपमा बाँच्न चाहने महिलाहरूसँग समस्या छ।’

हुन पनि केही वर्षयता सामाजिक सञ्जालमार्फत ‘ट्रयाड वाइफ’ अर्थात् परम्पराअनुसार श्रीमतीको भूमिका निभाउनका लागि ‘मुभमेन्ट’ नै चलिरहेछ। टिकटक र इन्स्टाग्राम, जुन सञ्जाल युवाहरूका लागि लोकप्रिय छन्, त्यहाँबाट खाना पकाउने, परिवारको हेरचाह गरेर मात्रै बस्ने महिलाहरूको तारिफ र प्रशंसा गरेर सो भूमिकालाई महत्त्वका साथ प्रचारप्रसार गरिरहिएको छ। यसो हुनुमा युवाहरूमा आधुनिक जीवनको थकान र जहिले पनि दौडधुपको जिन्दगीबाट मुक्ति दिन्छ भन्ने आशा पनि हुन सक्छ।

‘ट्रयाड वाइफ’ मुभमेन्ट सन् २०१० पछि चलेको देखिन्छ र यसलाई मूलधारमा ल्याउने काम भने सन् २०२० तिर अर्थात् कोभिडको महामारीको बेलामा भएको पाइन्छ। सन् २०१३ देखि १६ सम्मचाहिँ सो धारणालाई अनलाइनहरूमा बहसमा ल्याइयो; जसमा महिलाहरूको आधुनिक जीवनशैलीभन्दा उनीहरूको पारम्परिक लैङ्गिक भूमिका नै उपयुक्त छ भनेर ‘रेड पिल विमेन’ तथा ‘सबरेडिट’ जस्ता नेटवर्कहरूमा छलफल चल्न थाल्यो।

त्यसपछि सन् २०१७ देखि २०१९ सम्म ‘ट्रयाड वाइफ वजाक’ जस्ता ‘मिम’ हरू बनाएर ‘फोरचान’ मा सेयर गर्न थालियो र एलेना केट पेटिटले महिलाहरूलाई संस्कारी र घरेलुपन सिकाउन ‘द डार्लिङ एकेडेमी’ नामक संस्था खोलिन्।

जब कोभिडले विश्वलाई नै घरभित्र बन्द गराइदियो, तब केही मानिसहरूलाई भागदौडको जीवनबाट मुक्ति मिलेको र विश्रामले आनन्द गराएको महसुस पनि भयो। अनि उनीहरूले ‘ट्रयाड वाइफ’ सोचलाई अझै प्रवर्द्धन गर्दै लगे।

तर आश्चर्यको कुरा के छ भने, परम्परागत जीवनशैली नै महिला तथा पुरुषहरूका लागि उपयुक्त हो भनेर प्रचार गर्ने उनै प्रचारकर्ताहरू आफ्नो घरेलु भूमिकाको भिडियो खिचेर सामाजिक सञ्जालहरूमार्फत प्रचारप्रसार गर्छन् र त्यसबाट सजिलै आयआर्जन गरिरहेछन्। अर्कोतर्फ, एउटा हुल वा समूह त्यही हेरेर आनन्द मनाउँछ र आफू पनि त्यस्तै जीवनशैली बाँच्ने परिकल्पनामा रमाउँछ।

फेरि सर्वेक्षणकै सन्दर्भ, प्रतिवेदनले देखाएअनुसार २४ प्रतिशत जेनजी पुरुषहरूले ‘महिलाहरू धेरै स्वतन्त्र हुन वा आफैँमा परिपूर्ण हुन नखोजून्’ भन्ने सोच राख्दा रहेछन्। जबकि, १२ प्रतिशत बेबी बुमरले मात्रै त्यो सोच राख्दा रहेछन्।

यौनसम्बन्ध राख्ने कुरामा पनि २१ प्रतिशत जेनजीहरूले ‘रियल विमेन’ (संस्कारी भन्न खोजेको होला !) ले कहिले पनि यौनसम्बन्धका लागि आफूहरू अग्रसर हुन नहुने विचार राख्दा रहेछन् भने बेबी बुमरहरू ७ प्रतिशत मात्रै उक्त सोचबाट प्रभावित रहेछन्। यो मामिलामा १२ प्रतिशत जेनजी महिलाहरू सहमत रहेछन्।

रिपोर्टले के पनि भनेको छ भने, जेनजी पुरुषहरू समानताको वकालतका लागि उनीहरूबाट धेरै अपेक्षा राखिएको सोच्दा रहेछन्। यसरी सोच्नेमा जेनजी पुस्ताका पुरुषहरू ५९ प्रतिशत रहेछन् भने बेबी बुमरहरू ४५ प्रतिशतले मात्रै त्यस्तो सोच्ने रहेछन्। त्यही विषयलाई जेनजी महिलाहरू ४१ प्रतिशत र बेबी बुमर महिलाहरू ३० प्रतिशतले त्यसरी बुझेका रहेछन्।

यी तथ्याङ्कहरू हेर्दा समाज त अगाडि जानुको सट्टा झन्-झन् पछाडि गइरहेको त छैन भनेर सोच्न बाध्य हुनुपर्ने पो देखियो !

यसो हुनुमा जेनजी पुस्ताले बढ्दो सम्बन्धविच्छेद र टुट्दै गएको पारिवारिक वातावरणले त फरक पारेको होइन भन्ने आशङ्का गर्ने ठाउँ देख्न सकिन्छ; तर यसका लागि हालसम्म पर्याप्त अनुसन्धान भएको छैन।

सर्वेक्षणले देखाएको अर्को तथ्याङ्क झनै रोचक देखिन्छ; १८ प्रतिशत जेनजी महिलाले ‘एउटी पत्नीले आफ्नो पतिको आज्ञा पालना गर्नुपर्छ’ भनेछन्; त्यही कुरालाई ६ प्रतिशत बेबी बुमर महिलाहरूले मात्रै मान्दा रहेछन्।

‘इप्सोस’ संस्थाकी युके र आयरल्यान्डकी चिफ एक्जुकेटिभ केल्ली बिभरको भनाइलाई उद्धृत गर्दै ‘साइन्स म्याटर्स’ को वेबसाइटमा लेखिएको छ, ‘विशेषगरी जेनजी पुस्ताबारे तथ्याङ्कले रोचक द्वैधता देखाउँछ; उनीहरू सफल पेसागत जीवन भएका महिलाहरूतर्फ पुरुषहरू आकर्षित हुन्छन् पनि भन्दछन्, अर्कोतिर पत्नी आफ्नो पतिप्रति सधैँ आज्ञाकारी हुनुपर्छ भनेर पनि भन्छन्।’

घरको काम गर्नु अर्थात् खाना पकाउन जान्नु र घरभित्रका काम गर्न जान्नु भनेको जीवनमा चाहिने महत्त्वपूर्ण आधारभूत आवश्यकता भएजस्तै आर्थिक रूपले आत्मनिर्भर हुनु, आफू बाँच्नका लागि अरूको सहयोगको याचना गर्नुनपर्ने स्वाभिमानी शैली हो।

सर्वेक्षणमा पुरुषत्वका बारेमा पनि अनुसन्धान गरिएको रहेछ; जसअनुसार त्यसले जेनजी पुस्तालाई एकदमै दबाब दिएको भेटिएछ। दस जनामध्ये तीन जना युवा पुरुषहरूको विचारमा ‘साथीहरूलाई आई लभ यु भन्नु हुँदैन’ भन्ने सोच रहेछ र ४३ प्रतिशत युवा पुरुषहरूले ‘पुरुषहरू शारीरिक रूपमा बलियो हुनुपर्छ’ भन्ने सोच्दा रहेछन्।

ती युवा पुरुषहरूमध्ये २१ प्रतिशतको ‘बच्चाहरूको स्याहारसुसार गर्ने युवा पुरुषहरूमा कम पुरुषत्व हुन्छ’ भन्ने धारणा रहेछ। त्यही कुरा बेबी बुमरहरूलाई सोध्दा जम्मा ८ प्रतिशतले मात्रै बच्चाको स्याहारसुसार गर्ने पुरुषहरूमा कम पुरुषत्व हुन्छ भन्ठान्दा रहेछन्।

उक्त सर्वेक्षणको रिपोर्टले समग्रमा के देखाउँछ भने, समाजमा जतिसुकै लैङ्गिक भूमिका परिवर्तन भयो वा हुनुपर्छ भनेर वकालत चलिरहे पनि केही युवाहरू आफ्नो ‘पुरुषत्व’ सम्बन्धी परम्परागत पहिचानतर्फ नै फर्कन थालेको देखिन्छ।

उनीहरू आफूलाई घर चलाउने मानिस र महिलालाई घर सम्हाल्ने व्यक्तिकै रूपमा हेर्न चाहन्छन् भन्ने देखिन्छ।

नेपालको परिप्रेक्ष्यमा भने, कामको सिलसिलामा घर छाडेर अन्यत्र जानुपर्ने बाध्यताले गर्दा पनि बच्चाहरू एक्लै आमा या बाबुको मात्रै संरक्षण र अभिभावकत्वमा हुर्किनुपरेको स्थितिले बच्चाहरूको मानसिक विकासमा धेरै ठूलो नकारात्मक असर पुर्‍याएको हुन सक्छ। जसले गर्दा बाल्यकालको हुर्काइको वातावरणले भविष्यमा भूमिका त पक्कै खेल्छ; यसका लागि पनि सामाजिक असरबारे अनुसन्धान गर्न जरुरी छ।

तर माथि उल्लिखित सर्वेक्षण कुनै ठूलो सङ्ख्या, समुदाय, वर्ग या देशहरूमा भएको होइन; एउटा स्याम्पल सर्वेक्षण मात्रै हो। यसका बाबजुद जेनजी पुस्ताको एउटा ठूलो हिस्सा समानता, स्वतन्त्रता र ‘करियर’ मा आधारित सम्बन्धलाई नै प्राथमिकता दिन्छ।

नेपालमा पनि युवा पुस्ताहरूमा किङ्स ग्लोबल इन्स्टिच्युट फर विमेन लिडरसिपबाट गरिएको सर्वेक्षणको प्रतिवेदनसँग मिल्ने सोचहरू सामाजिक सञ्जालमा बग्रेल्ती देख्न सकिन्छ। उदाहरणका लागि, हाम्रा अगाडिको पुस्ता, हाम्रो पुस्ता र हामीपछिका पुस्ताको एउटा तप्का समानता र समताको रट लगाउँदै त्यसका लागि सकेको सकारात्मक प्रयास गरिरहेको छ भने केही सङ्ख्यामा पतिको खुट्टा धोएर जल खाँदा आफूलाई सन्तुष्ट र खुसी देखाउने जमात पनि नभएको होइन।

तर जोकोहीले एउटा कुरा प्रस्ट रूपमा के बुझ्नुपर्छ भने, चाहे पुरुष होऊन् या महिला, आफूले आफूलाई सामाजिक, भौतिक र आर्थिक रूपले सक्षम बनाएको हुनैपर्दछ। घरको काम गर्नु अर्थात् खाना पकाउन जान्नु र घरभित्रका काम गर्न जान्नु भनेको जीवनमा चाहिने महत्त्वपूर्ण आधारभूत आवश्यकता भएजस्तै आर्थिक रूपले आत्मनिर्भर हुनु, आफू बाँच्नका लागि अरूको सहयोगको याचना गर्नुनपर्ने स्वाभिमानी शैली हो।

बाँकी त, जसलाई जस्तो जीवन बाँच्ने चाहना हुँदा पनि अर्को व्यक्तिले रोकतोक गर्नुपर्ने आवश्यकता छैन।

अब ‘ट्रयाड वाइफ’ हुने कि आत्मनिर्भर महिला/पुरुष हुने, यहाँहरूकै इच्छा !

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?